दैनिक १२ लाखको चिज थुप्रिँदै

यो समाचार 250 पटक पढिएको

इलाम, २४ असार /भूकम्पपछि इलाम र पाँचथरमा चिज बिक्री हुन सकेको छैन । उत्पादित सामग्री बिक्री नहुँदा कारखानाले किसानको भुक्तानी र बैंकको ऋण तिर्न नसकेको बताएका छन्।

Cheese

पशुपतिनगर ९ का तुलुकामी थिङ तामाङले कृषि विकास बैंकबाट दस लाख ऋण लिएर चिज कारखाना सञ्चालन गरेका थिए । भूकम्पपछि उनको कारखानामा सात हजार किलो चिज थुप्रीएरको छ।’जेठदेखि बैंकको ब्याज र किसानलाई दूधको पैसा दिन सकेको छैन’, तामाङले भने, ‘ब्याज र दूधको पैसा तिर्न फेरि ऋण लिनुपर्ने अवस्था आएको छ ।’

आफ्नो कारखानामा ४२ लाख मूल्य बराबरको चिज बिक्री नभएको उनले बताए। भूकम्पपछि इलाम र पाँचथरका २४ भन्दा बढी चिज उद्योगमा हजारौं किलो चिज थुप्रिएको छ। उद्योगले किसानलाई दूधको भुक्तानी दिन नसकेको बताएका छन्। ऋण लिएर खोलिएका उद्योगहरू उत्पादन बिक्री नहुँदा बन्द हुने अवस्थामा पुगेका छन्।

एउटा उद्योग स्थापना गर्न करिब १२ लाख लगानी हुने हिमालयन चिज उत्पादक संघले जनाएको छ। भूकम्पपछि पर्यटकको आगमन घटेसँगै पोखरा र काठमाडौंबाट आउने चिजको माग ठप्प भएको संघका उपाध्यक्ष समेत रहेका तामाङले बताए। संघले उद्योग बचाउन दुई प्रतिशत ब्याजदरमा कर्जाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। इलाम र पाँचथरका सात हजार किसानबाट दैनिक २० हजार लिटर दूध संकलन गर्दै आएका कारखाना बन्द हुने अवस्थामा पुगेको संघले जनाएको छ।

चिज र घिउ बिक्री घटेकाले लामो समयसम्म भण्डारण गर्नुपर्दा उत्पादित बस्तु बिग्रन थालेको तामाङले बताए। इलाम र पाँचथरमा दैनिक १७ सय किलो चिज र तीन सय किलो घिउ उत्पादन हुने गरेको छ।  सरकारले अन्तर्राष्ट्रिय बजारको खोजी गर्न सहयोग नगरेका कारण कारखाना संकटमा परेको संघको आरोप छ।

संघले सहुलीयत ब्याजमा कर्जा उपलब्ध गराउनु पर्ने, कारखानालाई अनुदान दिनुपर्ने माग संघका अध्यक्ष रिञ्जु फुर्वा शेर्पाको छ।  यही माग लिएर आफ्नो टोली कृषि मन्त्रालय र दुग्ध विकास बोर्डमा पुगेको उनले जानकारी दिए।  सरकारले सुनवाई नगरे केही कारखाना तुरुन्त बन्द हुने र किसानलाई दूधको मूल्य तिर्न नसकिने तामाङले जिकिर गरे। कारखानाहरूले किसानबाट प्रतिलिटर दूध ३९ रुपयाँ भन्दा बढीमा खरिद गर्ने गरेका छन्। यो सामान्यभन्दा उच्च हो।

इलामका किसानले बढीमा ३३ रुपैयाँ प्रतिलिटरमा दूध बिक्री गर्दै आएका छन्। पछिल्लो समय नयाँ कारखाना स्थापना गर्ने क्रम बढेको पशु सेवा कार्यालय इलामका प्राविधिक डिक बहादुर कार्कीले बताए। इलामबाट चिज ६ सय रुपैयाँ र घिउ ६ सय ५० रुपैयाँ किलो बिक्री हुने गरेको संघले जनाएको छ। इलाम र पाँचथरका चिज कारखानामा अहिले दैनिक दश लाख ५० हजारको चिज र दुई लाख बराबरको घिउ थुप्रिन थालेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :