मुलुकभर करिब १२ प्रतिशत रोपाइँ

यो समाचार 219 पटक पढिएको

सबभन्दा कम तराईमा

काठमाडौं, २४ असार / असार तेस्रो साता बित्नलाग्दा मुलुकभर साढे १२ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा आठ दसमलव नौ प्रतिशतको हाराहारीमा रोपाइँ भएको थियो।

Paddyकृषि विकास मन्त्रालयकाअनुसार मुलुकभर अझै ८७ दसमलव पाँच प्रतिशत रोपाइँ हुन बाँकी छ। यो अवधिमा सबैभन्दा कम तराईमा आठ दसमलव ४५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। हिमाली क्षेत्रमा भने ३१ दसमलव ६३ र पहाडी क्षेत्रमा २० दसमलव ३८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

 

 

 

 


धान रोपाँईको अवस्था

स्थान             धानको क्षेत्रफल(हेक्टर)              रोपाँई भएको क्षेत्रफल(हेक्टर)

हिमाली क्षेत्र       ६८०५१                                      २११६१

पहाडी  क्षेत्र       ३९५४९२                                     ७९५९९

तराई   क्षेत्र       १०६७९५०                                   ८८५९०

मुलुकभर          १५२६३५१                                  १८९३५०

स्रोतः कृषि विकास मन्त्रालय


हिमाली र पहाडी क्षेत्रमा धानको क्षेत्रफल अत्यन्त न्यून भएकाले बढी परिमाणमा रोपाइँ सम्पन्न भएको मन्त्रालयका सह-प्रवक्ता शंकर सापकोटाले जानकारी दिए। सापकोटाकाअनुसार करिब पाँच दिन ढिलो सुरु भएको मनसुन पनि पूर्ण रूपमा र सबै स्थानमा नियमित सक्रिय नभएका कारण तराईका जिल्लामा धान रोपाइँ सुरु हुन नसकेको हो।

धान उत्पादनको लागि तराई क्षेत्रलाई उर्वर भूमी मानिन्छ । पानीको अभावमा धेरै जिल्लामा धानको बीउ ब्याडमै सुकेको छ भने रोपाइँ भएको खेत पनि सिँचाइ अभावमा फाटेको छ। ‘गत वर्षको तुलनामा यो वर्ष राम्रो रोपाइँ भएको देखिएपनि तराईमा भने यसपटक पनि पानीले असर पारेको छ’, उनले भने, ‘तर धान रोपाइँका लागि सिङ्गो साउन महिना बाँकी छ । नियमित पानी पर्‍यो भने तराईमा धान रोपाइँको अवस्थामा सुधार आउनसक्छ।’

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत हेमराज रेग्मीकाअनुसार अहिलेसम्म सबैभन्दा बढी जुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
कुल सिँचाइयोग्य १७ लाख ६५ हजार नौ सय ४० हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ लाख ३१ हजार पाँच सय २१ हेक्टरमा मात्र सिँचाइ पुगेको छ। प्युठानमा ८६, हुम्लामा ८५, मुगुमा ७६, डोल्पा र जाजरकोटमा ७५, कालिकोटमा ६४, रोल्पामा ६२, तेह्रथुममा ५२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

उपत्यकाको ललितपुरमा सबैभन्दा बढी ५० प्रतिशत रोपाइँ भएको छ भने काठमाडौंमा ४२ र भक्तपुरमा ४० प्रतिशत रोपाइँ भएको छ। सिँचाइको अभावमा तराईको रौतहट, सर्लाही, महोत्तरी र बाँकेमा धान रोपाइँ सुरु हुन सकेको छैन । सप्तरीमा एक दसमलव ६ र सिराहामा एक दसमलव आठ प्रतिशतको हाराहारीमा रोपाइँ सम्पन्न भएको छ।

सुनसरीमा आठ दसमलव ६, रूपन्देहीमा आठ, झापामा सात दसमलव पाँच, सुर्खेत र धनुषामा पाँच तथा कपिलवस्तुमा चार प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धानको कुल उत्पादनमा तराई क्षेत्रले करिब ८० प्रतिशत योगदान दिँदै आएको छ। सह-प्रवक्ता सापकोटाकाअनुसार यो वर्ष पनि गत वर्ष झैं उच्चपहाडी र मध्यपहाडीको क्षेत्रको तुलनामा तराईको थोरै क्षेत्रफलमा रोपाइँ भएको छ । ‘पानीको अभावमा धेरै क्षेत्रफल बाँझै छ। कतिपय जिल्लामा धानको ब्याड पनि सुकेको छ’, सापकोटाले भने,‘ठूलो बाढी पहिरो गएन भने र सामान्य रूपमा नियमित पानी आयो भने धानबालीले राम्रै उत्पादन दिनसक्ने हाम्रो प्रक्षेपण छ।’ चालू आर्थिक वर्ष २०७१-०७२ मा धान उत्पादनमा पाँंच प्रतिशतले कमी आएको छ। चालू आर्थिक वर्षमा ४७ लाख ८८ हजार ६ सय १२ मेट्रिक टन धान फलेको थियो।

अघिल्लो वर्ष २०७०-७१ मा ५० लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो। उत्पादित् धानबाट ६२ प्रतिशत मात्रै चामल बनाउन सकिन्छ। कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको करिब ३५ प्रतिशत र धानले मात्रै करिब २० प्रतिशत योगदान रहँदै आएको छ।
नेपालमा १५ लाख २६ हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएपनि पछिल्लो समयमा खेतीयोग्य क्षेत्रफल भौतिक पूर्वाधार, प्लटिंग र अन्य प्रयोजनमा प्रयोग बढेपछि हाल १४ लाख २४ हजार हेक्टरमा धान खेती हुँदै आएको छ।

कुल खाद्यान्नमध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको छ। कुल सिँचाइयोग्य १७ लाख ६५ हजार नौ सय ४० हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ लाख ३१ हजार पाँच सय २१ हेक्टरमा मात्र सिँचाइ पुगेको छ।  तयार पूर्वाधारमध्ये पनि सतह सिँचाइबाट करिब सात लाख ३५ हजार जग्गामा मात्र सिँचाइ उपलब्ध छ। सिँचाइ प्रणाली पनि अकासे पानीकै भरमा चलेका कारण धान रोपाइँको समयमा वर्षेनी किसानले पानीको चर्को अभाव बेहोर्दौ आएका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :