शहरियाको भान्साको परिकार बन्यो सिस्नु

यो समाचार 294 पटक पढिएको

गोपाल पोखरेल
उदयपुर, १९ असार / गाउँघरमा संगुरको चारो र गाईभैसीको खोलेको रुपमा प्रयोग हुने सिस्नु हिजोआज शहरीयाको भान्साको परिकार बन्न थालेको छ । उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाईसिस, पथरी, ग्यास्टिकलगायतका रोगीका लागिसमेत उपयोगी हुने थाहा पाएपछि सिस्नुको व्यापार शहरका डिपार्टमेन्टल स्टोरबाटै हुन थालेको हो ।

Sisnuउदयपुर सदरमुकाम गाईघाटस्थित सगरमाथा र ग्लोवल डिपार्टमेन्टल स्टोरमा बिक्रीका लागि राखिएको प्रसोधित सिस्नुले व्यापक बजार पाएपछि जिल्लाको पहाडी भेगमा पाइने बहुउपयोगी सिस्नुको संरक्षण र प्रवद्र्धन गर्न थालिएको छ । सिस्नुले मानव स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुर्याउने भएकाले यसको संरक्षणका साथै बजार प्रवद्र्धन सुरु गरिएको हो ।

जिल्लाको साउने, खाबुँ, रौता, पोखरी, बाँस्बोटे, चिलाउने, मयंखुलगायतका पहाडि गाविसमा सिस्नुलाई खेतबारीमै उत्पादन गर्न थालिएको छ । जिल्लाकै पहिचानको रुपमा अगाडि बढाउने र ग्रामीण महिलाको रोजगारीको माध्यम बनाउने उद्धेश्यले संरक्षण, उत्पादन र बिक्रीको काम थालिएको संलग्न महिला उद्यमीहरुले बताएका छन् ।

“सिस्नुको व्यवसायीक खेती गर्दा गरिवी निवारण, आत्मनिर्भरता र जिविकोपार्जनमा टेवा पुग्ने देखेर काम सुरु गरेका हौं” लेकाली महिला समूह रौताकी व्यावस्थापक मैया विकले भनिन्,“ सुकाइएको सिस्नु औषधि र तरकारीको लागि बिक्री भइरहेको छ ।” सिस्नु गाउँका महिलाको आय आर्जनको गतिलो माध्यम बनेको उनले बताइन् ।

सिस्नुलाई बजारिकरण गर्दै महिलाको आम्दानीको स्रोत बनाउने उद्धेश्यले एक्सनएड नेपाल र चेलीबेटी क्लव उदयपुरले लेकाली महिला समूह गठन गरिदिएका थिए । सो समुहले संकलन गरेको सिस्नु त्रियुगा नगरपालिका १ स्थित एकता महिला समूहले प्रसोधन गरेर बजारमा बिक्री गर्दै आएको संस्थाका कार्यक्रम संयोजक गेसबहादुर आले मगरले जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :