बिहान मौरी व्यवसाय, दिउँसो कार्यालय

यो समाचार 302 पटक पढिएको

इलाम, १८ असार / इलाम नगरपालिका– ६ तिल्केनीका ४२ वर्षीय प्रेम आचार्य बिहान सबेरै उठ्छन् । उठेर नित्य कर्म सकेपछि उनी घरायसी काममा लागिहाल्छन् । यी कार्य भनेको उनको दैनिकी नै हो । बिहान कुन–कुन काम गर्नुपर्छ भनेर उनले डायरी बनाएका छन् ।

Honey beeNewsagroआचार्य जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहायक हुन् । उनी बिहानको समय मौरीपालन व्यवसायमा व्यस्त रहन्छन् । कम परिश्रम धेरै उत्पादन लिने मेसोका साथ उनी आठ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन व्यवसायमा लागेका हुन् । आचार्यले मौरीपालनसम्बन्धी तालिम प्राप्त उनकी श्रीमती विन्दाको सहयोगमा १४ वटा आधुनिक घारमा मौरी पालेका छन् । बिहानभरि मौरीको हेरचाह, दिनभरि कार्यालयमा व्यस्त रहने आचार्य कार्यालयको काम सकेर साँझको समय पुनः मौरीपालनमै व्यस्त रहन्छन् ।

फुर्सदको समयलाई सदुपयोग गर्दै मौरीपालन व्यवसाय थालेका आचार्यले अहिले सरकारी जागिरभन्दा बढी मह र मौरी गोला बेचेर आम्दानी गर्छन् । “मौरीका लागि जति मेहनत ग¥यो त्यति नै फाइदा हुँदोरहेछ” उनले भने । दक्ष प्राविधिकले दिएको सल्लाह र सुझावलाई कार्यान्वयन गर्दैआएको उनले बताए । जागिरबाट अवकाशपाएपछि जीवनमा मौरीपालनलाई थप गरेर जाने उनको लक्ष्य छ । “मह भिटामिन र उच्चतम् गुण भएकाले अहिले मानिसले ताजा र गुणस्तरी शुद्ध मह किन्न खोजिरहेका छन् । मैले मह पनि शुद्ध तरिकाले नै उत्पादन गरिरहेको छु” उनको भनाइ छ ।

यो व्यवसाय बढाउन उनले बेलाबला मौरीका विषयमा लेखिएको पुस्तक पढेर ज्ञान लिने गरेका छन् । आचार्यको मौरीपालनमा लाग्ने सानैदेखि इच्छा थियो तर उपयुक्त सीप नहुँदा व्यवसाय गर्न कठिन बन्यो । सामान्य अध्ययय गरेका उनी १८ वर्षअघि सरकारी जागिरमा प्रवेश गरेका हुन् । कृषि क्षेत्रका कार्यक्रम कार्यालयमा आउँदा उनी पनि मोहित हुँदै गए । कृषिकै प्रमुखको सहयोगबाट उनले मौरीपालन सुरु गरेको अनुभव सुनाए ।

मौरीपालन व्यवसायबाट उनले लगातार चार वर्षदेखि आम्दानी लिन थालेका छन् । यस वर्ष आचार्यले मह बेचेर रु एक लाख आम्दानी लिएका छन् । मौरीको गोला बिक्रीबाट रु एक लाख ५० हजार हात पारेका छन् । महबाट भन्दा पनि मौरीका गोला बिक्रीबाट चाँडो फाइदा हुने उनले बताए । मौरीलाई राम्रो आहाराका लागि मौसमअनुसारको फलफूल चाहिने भएकाले उनले धेरै परिकारका फलफूल खेतीसमेत पनि गरेका छन् । उत्पादन गरेको मह प्रतिकिलो रु एक हजारमा गाउँमै बिक्री हुँदै आएको छ ।

मह बिक्रीका लागि बजार नचाहिने उनको भनाइ छ । आचार्य अहिले सरकारी कर्मचारी, मौरी व्यवसायीमात्र होइन मौरीपालनसम्बन्धी ज्ञान र सीप पनि साथीभाइलाई बेलाबेलामा दिने गरेको बताउँछन् । बिदाको दिन र फुर्सदको समयमा उनीसँग परामर्श लिनेको घुइँचो लाग्ने गरेको छ । “म दक्ष प्रशिक्षक त होइन तर आफूले जानेको सीप सिकाउँदै आएको छु” आचार्यले भने । उनलाई मह काढ्न, मौरी गोला झिक्ने कार्यमा गाउँघरमा बोलाउने गरेको छन् । यस वर्ष ३५ गोला मौरी बिक्री गरेको उनले बताए । आर्थिक अवस्था सामान्य रहेका आचार्यले सरकारी जागिर र मौरी व्यवसायकै आम्दानीले घर खर्च चलाउनेदेखि दुई छोरालाई पढाउने गरिरहेका छन् । उनले आफूले गरेको मेहनत र श्रमको फल रसिलो हुन्छ भन्ने कथनलाई आत्मसात् गर्दै फुर्सदको समयमा मादक पदार्थ सेवन गर्ने, समाजमा होहल्ला गरेर हिँड्नेजस्ता क्रियाकलापमा साथीभाइलाई नलागी श्रम गर्न सके गाउँमै पैसा फल्ने उदारणसमेत दिने गरेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :