चितवनमा अभियानमुखी माछापालन

यो समाचार 99 पटक पढिएको

रत्ननगर (चितवन), १६ असार । चितवनमा थप ४० हेक्टर क्षेत्रफलमा अभियानमुखी माछापालन सुरु भएको छ ।

जिल्लाका युवा किसानलाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानले युवा किसान माछापालनमा आकर्षित भएका छन् । हालको खैरहनी नगरपालिकामा पर्ने कुमरोजमा रोयल चितवन एग्रिकल्चर प्रालि खोलेर कन्हैया कर्माचार्य र जीवन विकले माछापालन सुरु गर्नुभएको हो ।

चार बिगाहामा सुरु गरिएको अभियानमुखी माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयले रु दुई लाख २८ हजार ९०० अनुदान समेत दिएको व्यवस्थापन हेर्दै आउनुभएका अजय विकले बताउनुभयो । ‘एक्लै माछा पाल्न गाह्रो हुन्छ” उहाँले भन्नुभयो,” “सरकारी अनुदानले आड भरोसा मिलेको छ ।” बिगेट, ग्रासकार्प, नैनी, रहु, सिल्भर कार्पसहित विभिन्न जातका माछा पोखरीमा पालिएको छ ।

यस्तै कुरमरोजकै किसान प्रल्हाद पन्तले यसैपालादेखि दुई बिगाहामा माछापालन सुरु गर्नुभएको छ । खेतमा धान रोप्दा वर्षको दुईबाली भित्र्यााउन हम्मे हम्मे पर्ने गरेकामा अहिले दुई महिनामै माछा बेच्ने तयारी उहाँले गरिरहनु भएको छ । कृषि कार्यालयले प्रति हेक्टर रु एक लाखका दरले अनुदान दिएको हो ।

गएको दुई वर्षमा २०० हेक्टरभन्दा बढी क्षेत्रमा माछापालन विस्तार भएको छ । अभियानमुखी माछापालनका तर्फबाट रु ८९ हजार चारसय अनुदान पाएपछि पन्त माछापालन गर्न हौसिनु भएको हो । पच्चीस कट्ठामा फैलिएको पोखरीमा माछा पालन गर्नुभएका काजीमान गुरुङले तीन महिनामै पहिलो खेप माछा बेचिसक्नु भएको छ ।

“साढे तीन क्विन्टल माछा बेचेँं, अब दुईपटक बेच्दा मेरो लगानी उठ्छ” उहाँले भन्नुभयो । उहाँ जस्तै चितवनका युवा किसान माछापालनमा आकर्षित भएपछि कृषि कार्यालयले अनुदानसहित थप ४० हेक्टरका लागि अभियानमुखी कार्यक्रम ल्याएको मत्य विकास अधिकृत परशुराम यादवले जानकारी दिनुभयो ।

चितवनसहित विभिन्न जिल्लामा जिउँदो माछाको राम्रो माग बढेपछि युवा किसानले धमाधम माछापालन थालेको उहाँको अनुभव छ । भारतीयभन्दा नेपाली माछाको स्वाद मिठो भएकाले ग्राहकले स्थानीय माछा रुचाउन थालेका छन् । जिल्लामा अहिले ४०० हेक्टरमा माछापालन हुँदै आएको छ । एक हजार किसान माछापालनमा सक्रिय छन् । यहाँ एक हजार ८५० पोखरी छन्, भने ५७ वटा सहकारी एवम् समूह माछापालनमा सक्रिय छन् ।

जिल्लामा अहिले एक हजार ३०० मेट्रिक टन माछा उत्पादन भएको कृषि कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :