खाद्य संस्थान कार्यालय राप्तीले १० हजार क्विन्टल धान खरिद गर्ने

This post has already been read 132 times!

 दाङ, ५ पुस । नेपाल खाद्य संस्थान राप्ती अञ्चल कार्यालयले यो वर्ष पनि दाङमा धान खरिद गर्ने भएको छ । गत padddy storeवर्षदेखि संस्थानले सुरु गरेको धान खरिद कार्यक्रमअन्तर्गत यस वर्ष पनि दाङमा धान खरिद गर्ने संस्थानले जनाएको हो । त्यसका लागि खाद्य संस्थान कार्यालय राप्तीले दाङ तुलसीपुरस्थित अञ्चल डिपो तथा घोराहीको शाखा कार्यालयमा खरिद केन्द्रको व्यवस्था मिलाएको खाद्य संस्थान राप्तीका प्रमुख रामजी ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय कार्यालयले धान खरिद गर्ने निर्देशन दिएपछि हालै प्रमुख जिल्ला अधिकारी संयोजक रहनुभएको जिल्ला दर रेट निर्धारण समितिको बैठकले विभिन्न गुणस्तरका धानको भिन्नाभिन्नै मूल्य निर्धारण गरेको छ । जसमा मोटो धानको प्रतिक्विन्टल खरिद मूल्य रु एक हजार ९०० र मध्यम धानको रु दुई हजार कायम गरेको छ । धान बिक्री गर्न चाहने किसानलाई कार्यालयमा सिधै सम्पर्क गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

कार्यालय प्रमुख ज्ञवालीका अनुसार यस वर्ष खाद्य संस्थानको केन्द्रीय कार्यालयले दाङ जिल्लाबाट १० हजार क्विन्टल धान खरिद गर्न अनुमति दिएको छ भने मुलुकभरिबाट दुई लाख ४६ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । गत वर्ष कार्यालयले १० हजार क्विन्टल धान खरिद गर्ने अनुमति पाए पनि ७५ क्विन्टलमात्र धान खरिद गरेको थियो ।