महिनामै अर्बौंको धान आयातः कृषि मन्त्री

यो समाचार 215 पटक पढिएको

सन्दर्भ राष्ट्रिय धान दिवस

सुमन पन्त
काठमाण्डौ, १४ असार । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले नेपालका राइस मिलहरुको चर्को शुल्कको कारण चामल आयात बढेको विश्लेषण गरेका छन् । तराइका मिलहरुले धान कुटेको शुल्क निकै बढि लिने गरेको कारण सीमा क्षेत्रका किसानहरु भारतकै मिलमा पुग्ने हुँदा आयात बढी देखिएको उनको भनाइ छ ।

5‘खासमा हामीलाई १४ अर्ब रुपैंयाँको धान मात्र अपुग भएको हो,’ उनले भने । हाल नेपालमा वार्षिक २५ अर्बभन्दा बढी रुपैंयाँको धान आयात भइरहेको सरकारी तथ्यांक छ । नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) ले राष्ट्रिय धान दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको धानमा आत्मनिर्भर कहिले ? बिषयक कृषि सम्बादमा बोल्दै कृषिमन्त्री पराजुलीले सोमबार यस्तो बताएका हुन् ।

सात वर्षअघि निर्यात हुने धान अहिले तीव्र रुपमा आयात बढिरहेको छ । धान विज्ञ डा. भोलामानसिंह बस्ने धानलाई सरकारी प्राथमिकता नपुगेको हुँदा यसको उत्पादन कम भएको बताउँछन् । विज्ञहरुले निकालेको प्रविधि आम किसानमाझ प्रसार नपुगेको उनको भनाइ छ । ‘हामीले जानेको, सिकेको प्रविधि दराजमै छ,’ उनले दुखेसो गरे । उनी लामो समय कृषि अनुसन्धान परिषदमा धान विज्ञको रुपमा कार्यरत थिए ।

नार्कका कार्यकारी निर्देशक युवराज पाण्डेले आफूहरुले सिफारिस गरेको प्रविधि किसानमाझ पुग्न नसक्नुमा नीतिगत चासोको कमी भएको बताए । ‘हाम्रो सिस्टमले किसानलाई बीऊ दिन पनि सक्दैनौं,’ कृषि मन्त्री पराजुलीतर्फ हेर्दै उनले भने । मौसम परिवर्तनको कारण धान उत्पादनमा उतारचढाव आइरहेको उनले बताए । खडेरी, अति वर्षा सहनसक्ने, हाइब्रिड धानजस्ता विषयमा अनुसन्धान गरिरहेको उनको भनाइ थियो । ‘तर, मेहनत ग¥यो, किसानलाई व्यवसायिक रुपमा उत्पादन गराउन बीऊ दिन सक्दैनौं,’ उनले थपे ।

कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसीले नेपालमा भोकमरी नभई भातमरी लागेको तर्क पेश गरे । ‘हाम्रो वार्षिक खाद्यान्न उत्पादन ६६ लाख मेट्रिक टन छ, तर आवश्यकता ५२ लाख मेट्रिक टन मात्रै हो,’ उनले विश्लेषण सुनाए । नेपालीको खानेबानीमा परिवर्तन आएको, खस्रो, मोटो चामलको साटो मसिनो र बास्नादार चामलको माग बढेको उनले बताए ।

1 (2)

हाल नेपालमा प्रति हेक्टर ३.२ टन धान उत्पादन भइरहेको बताउँदै उनले भने,’यसलाई बढाएर ३.५ प्रति हेक्टर मात्र गरेपनि धान आयात प्रतिस्थापन गर्न सकिन्छ । हामीले परिवर्तित आहार पद्धतिमुखी उत्पादन गर्नुपर्छ ।’

जमीन खण्डीकरणको कारण पनि धान उत्पादन कम भएको उनले बताए । भू उपयोग नीतिको व्यवहारिक कार्यान्वयनको खाँचो उनले औंल्याए । त्यसो त, नेपालमा मल प्रयोग दर कमी, सिंचाइ अभावले पनि धान उत्पादन कम भएको उनले बताए । ‘३७६ कृषि सेवा केन्द्र र २० प्रतिशत सिंचाइ सुविधायुक्त जमीनबाट कसरी उच्च उत्पादन लिन सक्छौं ?,’ उनले चिन्ता व्यक्त गरे ।

तर, कृषि मन्त्रालयका उपसचिव शंकर सापकोटाले भने बढिरहेको धान आयात प्रतिस्थापन गर्ने रणनीति तयार भएको बताए । धानमा आत्मनिर्भर कहिले ? विषयक अन्तरक्रियामा उनले जवाफ दिँदै भने आगामी तिन वर्षभित्र । राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि पत्रकार प्रतिष्ठानद्धारा सोमवार कृषि उपभोक्ता डबलीमा आयोजित कार्यक्रममा उनले सुनाए ।

उनले सुनाएको आगामी रणनीतिमा कृषि मन्त्री पराजुलीले अझ व्याख्या गरे । हामी आगामी तीन वर्षमा दूधमा, ५ वर्षमा मासुजन्य र फलफूलमा आत्मनिर्भर हुने रणनीति कार्यान्वयन भइरहेको उनले बताए । ‘आगामी १० वर्षमा हामी पूर्ण रुपमा कृषिमा आत्मनिर्भर हुनेछौं,’ उनले थपे । सोही अवसरमा नेपाली चलचित्रकी नायिका तथा नेपाल कृषि पत्रकार प्रतिष्ठानको कृषि सद्भावना दूत बिनिता बरालको धान दिवसको अवसरमा धान रोपाईसम्बन्धि तयार पारिएको तस्विर कृषिमन्त्री पराजुलीले सार्वजनिकीकरण गरेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :