एक वर्षमा ९ लाख कमाई, बिदेशको पीडापछि गाउँमा बाख्रा फार्म

यो समाचार 321 पटक पढिएको

पर्वत, ९ असार / क्याङ–९ हलहलेका गंगा पुन धेरै कमाउने सपना लिएर २०७० फागुनमा कतार गए । कतार पुगेदेखि नै उनले नराम्रो दुःख पाए । पैसा होइन, यहाँ (कतार) बाट नेपाल फर्कन पाएमात्रै हुन्थ्यो भन्नेमा उनी पुगे । एक लाख ५० हजार खर्चेर बिदेशिका उनी चार महिना नपुग्दै पुनः एक लाख खर्चेर घर फर्के ।

Goatक्याङ–९ हलहलेकै प्रसाद पुन पनि बैदेशिक रोजगारमा सजिलै पैसा कमाउन सकिने सम्झेर दुवई हानिए । मालिकको यातना नै ब्यहोर्नुपर्यो । नौ महिना त जेनतेन बिताए । अब दुवईमा बसेर काम गर्न नसकिने निर्णयमा पुगे । दुवई जादा लागेको एक लाख ३० हजार ऋण तिर्न त सकेका थिएनन्, थप ८० हजार खर्चेर नेपाल फर्किए ।

गंगा र प्रसाद जस्तै क्याङ–९ कै जंगबहादुर पुनले पनि बैदेशिक रोजगारीलाई सजिलै स्वीकारेर साउदी हानिए । ‘नेपालमा छँदा बैदेशिक रोजगारीलाई जुन दृष्टिकोणले हेरिएको थियो, बिल्कुल फरक पो रहेछ’ साउदी पुगेको चार महिनामै घरबाट पैसा झिकाएर नेपाल फर्किएका जंगबहादुरले भने ।

छोटो समयमा धेरै कमाउने सपनाका साथ बैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका यी तीन युवा अहिले जिल्लामै नमुना व्यवसायमा कहलिएका छन् । बैदेशिक रोजगारीको नाममा एकैजनाले दुई लाख बढी डुबाएका तीन युवाले सञ्चालनमा ल्याएको बाख्रा फार्मबाट एक वर्षमै नौ लाख कमाई भएको छ । तीन जनाले पाँच÷पाँच लाख रुपैयाँ लगानी गरेर गत साउनबाट सञ्चालनमा ल्याएको बाख्रा फार्ममा बोका बिक्रीबाट नौ लाख २० हजार रुपैयाँ कमाई भएको गंगा पुनले बताए ।

‘बैदेशिक रोजगारीमा जादा ऋण लाग्यो भनेर डराएनौं, बरु बिदेशमा गर्ने पसिना आफ्नै गाउँमा गर्नुपर्दोरहेछ भनेर पाँच÷पाँच लाख रुपैयाँ बाख्रा फार्ममा लगानी गर्यौं’ गंगाले भने । उनका अनुसार साउनमा खरिजातका ६० वटा माउ बाख्रा संकलन गरी सुरु गरेको फार्ममा अहिले एक सय ६ वटा बाख्रा पुगिसेका छन् । ‘६६ वटा बोका बिक्री गरिसक्यौ, अब २३ वटा बिक्री गर्ने तयारीमा छन्’ उनले भने–‘अहिलेसम्म नौ लाख २० हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छौं।’

उनका अनुसार अहिलेसम्म बिक्री भएका बोका मध्ये न्यूनतम १० हजारदेखि १८ हजार रुपैयाँसम्ममा बिक्री भएका छन् । उनले खरिजातका बोका भएकाले सदरमुकाम कुश्मा र पोखराबाट निकै ठूलो माग आइरहेको पनि बताए । ‘स्थानीय खरिजातको बोकाको मासु पोखरामा खोसाखोस हुनेरहेछ, त्यसैले फार्ममै लिन आउने गरेका छन्’ गंगाले भने–‘माग अनुसारको बिक्री गर्न सकेका छैनौ ।’

हलहलेमा स्थानीय बोकाको मासुको मूल्य प्रति केजी पाँच सय रुपैयाँ रहेपनि पोखरामा भने एक हजार रहेको गंगाले बताए । अर्काको हुकुममा चल्नुपर्ने बिदेश छोडेर स्वदेश फर्कनु आफुले सही निर्णय गरेको उनी स्मरण गर्छन ।

नजिकै सार्वजनिक जङ्गल रहेका कारण बाख्रा चराउन पनि उनीहरुलाई अफ्ठ्यारो छैन । ‘तीन जना मिलेर पालैपालो बाख्रा चराउने गर्छौ’ प्रसादले भने । पहिले बिदेश जाँदा दुःख पाएर निकै चिन्तामा रहेका तीनै जनाका परिवार पनि अहिले बाख्रा पालन व्यवसायबाट सन्तुष्ट छन् । ‘परिवारका सबै जना घरमा सँगै बस्न पाइएको छ, कमाई पनि भएको छ’ प्रसादकी श्रीमति उषाले श्रीमानको व्यवसायको तारिफ गर्दै भनिन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :