चिया बिक्री केन्द्र स्थापना तयारी अन्तिम चरणमा

यो समाचार 227 पटक पढिएको

झापा, ९ असार/ चियाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि झापामा एकीकृत चिया बिक्री केन्द्र (अक्सन सेन्टर) स्थापना गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । विश्व बजारमा नेपाली चियाको छुट्टै पहिचान नभइरहेका वेला सरकार अक्सन सेन्टर स्थापना गर्ने तयारीमा जुटेको हो ।

Tea Farm

अक्सन सेन्टर सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार भएर मन्त्रीस्तरीय निर्णयको पर्खाइमा रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रमणि अधिकारीले बताए । ‘कार्यविधिलाई अन्तिम रूप दिन मात्रै बाँकी छ,’ उनले भने, ‘सम्भवतस् यसै महिनामा कार्यविधि पारित हुन्छ ।’

कार्यविधि पारित भएलगत्तै अक्सन सेन्टर सञ्चालनमा आउनेछ । सेन्टर सञ्चालनका लागि झापाको बिर्तामोडमा घर भाडामा लिइसकिएको अधिकारीले जानकारी दिए ।

कृषि विकास मन्त्रालयले नेपाल चिया उत्पादक संघ झापा, हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन र केन्द्रीय चिया सहकारी संघसँगको समन्वयमा अक्सन सेन्टर सञ्चालनसम्बन्धी कार्यविधिलाई अन्तिम रूप दिइसकेको छ ।

कार्यविधि पारित भएपछि अलग–अलग दुई कमिटीमार्फत कार्यान्वयन प्रक्रिया अघि बढाउने सरकारको तयारी छ । ‘यसका लागि अक्सन र नियामक गरी दुई कमिटी बन्नेछन्,’ क्षेत्रीय प्रमुख अधिकारीले भने । करिब ४ करोड रुपैयाँ लागतमा सञ्चालन हुन लागेको अक्सन सेन्टरका लागि सरकारले चालू आर्थिक वर्षमा ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नेपालमा चियाखेती सुरु भएको १ सय ५० वर्षपछि सरकारले अक्सन सेन्टर स्थापनामा चासो देखाएको चिया उद्यमी चण्डी पराजुली बताउँछन् ।

‘यसबाट नेपाली चियाले उचित मूल्य पाउनुका साथै गुणस्तरसमेत बढ्नेछ,’ उनले भने, ‘अबका दिनमा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार अक्सन सेन्टरमै निर्भर छ ।’ अर्बौँ रुपैयाँ लगानी भए पनि सरकारीस्तरबाट चियाको बजारीकरणका लागि पहल नभएको चिया उद्यमीले गुनासो गर्दै आएकाले त्यसलाई सम्बोधन गर्न केन्द्र सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको थियो ।

निर्णयबाट उत्साही स्थानीय चिया उद्यमी तयारी चियाले उचित मूल्य पाउनेमा आशावादी छन् । अक्सन सेन्टर नहुँदा चिया उद्योगीले आफ्नै व्यक्तिगत सम्पर्क र पहलमा नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा निकासी गर्दै आएका छन् ।

स्वदेशी तथा विदेशी खरिदकर्ताले चियाको गुणस्तर परीक्षण गरेर खरिद गर्न सक्ने भएकाले अक्सन सेन्टरको प्रभावकारिता अझै बढ्ने क्षेत्रीय प्रमुख अधिकारी बताउँछन् । ‘चियाको मूल्य बढ्छ नै,’ उनले भने, ‘किसान र मजदुरलाई पनि उत्तिकै फाइदा पुग्छ ।’

कार्यविधि पारित गर्ने अन्तिम तयारी भइरहेका वेला अक्सन सेन्टरका लागि पूर्वाधार व्यवस्थापनको काम पनि अगाडि बढेको छ । नेपालमा उत्पादित चियामध्ये ८० प्रतिशत भारत निकासी हुने गरेको छ । चियाबाट नेपालले वार्षिक करिब साढे ३ अर्ब रुपैयाँ आम्दानी गर्छ ।

अक्सन सेन्टरमा चिया राख्न न्यूनतम मापदण्ड बनाइनेछ । सोही मापदण्डअनुसारको चिया मात्रै सेन्टरमा राखिनेछ । क्रेता तथा दलालले नमुना परीक्षण गरेपछि डाक बढाबढ गरेर चिया बिक्री हुने अधिकारीले बताए ।
चियाको अक्सन मार्केट नहुँदा नेपाली चिया भारतको सिलगुडी अक्सन मार्केटबाट बिक्री हुँदै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :