थारु भन्छन्,’ किनेर होइन, बेचेर खान सक्छौं’

यो समाचार 335 पटक पढिएको

बुटवल/ फुलु सुनार 
आफूले रोपेको बिउ जब धर्ती फोडेर टुसाउँछ, तब एउटा किसानको मुहारमा खुसी उम्रन सुरु हुन्छ । उसको मुहारमा उम्रेको खुसीको आयु र आधार फेरि उही धर्ती फोडेर निस्केका ती हरिया पात नै हुन् । ती हरिया पात जतिजति मौलाउँछन्, किसानका मनमा बेग्लै जाँगरले घर गर्न थाल्छ ।

krishna tharu in butwal (1)त्यसैले त कृष्णबहादुर थारु घाम नउदाउँदै आफ्नो खेतमा पुग्छन् । र, आफ्नो पौरखलाई आँखाभरिको प्रेम खन्याउँछन्, जसरी घामका पहिला किरणहरुले धर्तीलाई प्राकृतिक प्रेम दर्शाउँदै चुमेका हुन्छन् ।

रुपन्देही मोतिपुर–१९ का कृष्णलाई १० वर्ष अघिसम्म कसैले वास्ता गर्दैनथ्यो । कसैले सोध्दैन, पुछ्दैनथ्यो । अहिले उनलाई गाउँलेले ‘कृष्ण सर’ भनेर सम्बोधन गर्छन् । ‘काम र दाम राम्रो भएपछि के चाहियो रु’ कृष्णका छिमेकी उमानन्द घिमिरे भन्छन्, ‘हेर्दाहेर्दै कृष्णप्रति सम्मान बढेर आएको छ । उसको तरकारीखेती देखेर रहर नगर्ने को होला र रु अहिले गाउँलेहरु ऊसँग तरकारी खेतीबारे सोधपुछ गर्न पुग्छन् । अहिले ऊ तरकारीखेतीबारे गाउँमै जान्नेबुझ्ने भएको छ ।’

कृष्ण ३३ वर्षीय युवा हुन् । उनको परिवारले एक बिघाभन्दा बढी जमिनमा निर्वाहमुखी खेती गथ्र्यो । कृष्णले पनि परिवारलाई सघाउनुपथ्र्यो । जसकारण उनले आफ्नो पढाइ पूरा गर्न सकेनन् । उनले जसोतसो ६ कक्षासम्म पढे । पढाइ छोडेलगत्तै बिहे गरे, नजिकैकी जयन्तीसँग । ०५५ सालमा बिहे गर्दा कृष्ण जम्मा १७ वर्षका थिए । बिहे गरेका १० वर्ष त्यत्तिकै बिते । घरमा निर्वाहमुखी कृषि त छँदै थियो ।

छिमेकी तोपनारायण घिमिरे पनि कृषि गर्थे । एक दिन घिमिरेले कृष्णलाई आधुनिक खेतीबारे बताए । ‘०६५ सालदेखि मैले तरकारीखेती गर्न थालेको हुँ । छिमेकी तोपनारायण घिमिरेले भन्नुभयो, कति निर्वाहमुखी खेती गर्ने रु तरकारीखेती गरेर हेरौँ न त केटा,’ कृष्ण भन्छन्, ‘त्यतिबेला जिल्ला कृषि कार्यालयले गाविसमा प्याजखेती तालिम ल्याएको थियो । त्यो तालिम लिएँ ।’

त्यसपछि कृष्णको जानकारी बढ्दै गयो । उनले जग्गा धितो राखेर कृषि विकास बैंकबाट ५० हजार ऋण लिए । ‘प्याजखेतीको तालिम लिएपछि आत्मविश्वास बढ्यो । घरमा त्यही १० हजारजति थियो । बैंकबाट ५० हजार ऋण लिएँ । ६० हजारको लगानीमा १० कट्ठामा प्याजखेती गरें । झन्डै ८० क्विन्टल प्याज फलेको थियो । बेच्दा त्यस्तै एक लाखजति पर्यो,’ कृष्ण भन्छन्, ‘बैंकको ऋण तिरेर पनि केही बचत भयो ।’

योसँगै कृष्णले घरको छतमा कुखुरा पाल्न थाले । सुरुमा तीन सय चल्ला थियो । भन्छन्, ‘श्रीमती, केटाकेटीले पनि सघाउने भएपछि कुखुरापालनतिर लागेँ । श्रीमती जयन्तीले सघाउँछिन् । केटाकेटी दिनमा स्कुल जान्छन् । अरुबेला हामीलाई सघाउँछन् ।’

कृष्णकी आमा, दुई छोरा, एक छोरी र श्रीमती गरी ६ जनाको परिवार छ । छोराछोरीले सामुदायिक विद्यालयमा पढ्छन् । जेठो छोरो अनिल १४ वर्षका भए, अहिले १० कक्षामा पढ्छन् । त्यस्तै, छोरी अंकिता सात कक्षामा पढ्छिन् भने आशिष तीन कक्षामा ।

अहिले कृष्णले दुई बिघा जमिनमा आधुनिक खेती गर्छन् । भन्छन्, ‘एक बिघा तीन कट्ठा आफ्नै जग्गा हो । १७ कट्ठा भाडामा लिएर धानखेती गरेको छु । एकपटक एक कट्ठाको एक मुरी धान भाडा तिर्नुपर्छ । आधुनिक एचआरआई प्रविधिबाट धानखेती गर्दा एक कट्ठामा साढे तीनदेखि चार मुरीसम्म धान फल्छ ।’

कृष्णले अहिले कुखुरापालनलाई विस्तार गरेका छन् । ‘अहिले झन्डै २५ सय चल्ला अट्ने दुईतले पोल्टी फार्म सञ्चालन गरेको छु,’ कृष्णले भने, ‘१६ लाख रुपैयाँ खर्च भएको छ । यसमा त्यही पाँच लाख जति ऋण लागेको छ । अरु पैसा आफैँ कमाएको हुँ ।’ कृष्णले सिजन अनुसारका तरकारी लगाउँछन्– करेला, परबल, लौका, प्याज आदि । बजारको कुनै समस्या छैन । मोतिपुर बुटवलबाट नजिकै पर्छ । कृष्णले आफ्नो उब्जाउ बुटवलमा होलसेल बेच्छन् ।

अहिले उनलाई दिनहुँ कामको चाप छ । उनलाई श्रमिक चाहिएको छ । तर, पाएका छैनन् । भन्छन्, ‘राम्रै पैसा दिन्छु भन्दा पनि मान्छे पाएको छैन ।’ काम गर्दागर्दै कृष्णले देशको आर्थिक विकास कसरी हुन्छ भन्नेबारे पनि धेरथोर बुझेका छन् । भन्छन्, ‘कृÈिमा युवाको जा“गरै छैन । यो पेसालाई सम्मानित गराउन सके कृÈि उत्पादनमार्फत देशकै आर्थिक उन्नति गर्न सकिन्छ ।’

अहिले कृष्ण मासिक ३० हजार जति कमाउँछन् । आमकृषकलाई जस्तै कृष्णलाई पनि उही समस्या छ, मलबिउको । समयमा मल–बिउ पाइँदैन । फेरि बजार भाउमा उतारचढाव भइरहन्छ । कृषिलाई अगाडि बढाउने उनीसँग योजना पनि छ । ‘बेरोजगार युवालाई सरकारले जमिन भाडा उपलब्ध गराएर कृषिमा लगाउनुपर्छ,’ उनी भन्छन्, ‘आधुनिक खेतीसम्बन्धी युवालाई तालिम दिनुपर्छ । सरकारको सहयोग भयो भने विदेश गएर दुःख गर्ने युवाले देशमै गर्छन् । अनि, हामी किनेर खाने होइन, बेचेर खाने हुन्छौँ ।’ हरेकको जीवनमा एउटा न एउटा सपना हुन्छ नै । कृष्णको सपना सुन्दै सुन्दर लाग्छ । भन्छन्, ‘छोरीलाई पढाएर कृषि विज्ञ बनाउने चाहना छ ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :