‘मिल्क होलिडे’ हुने चेतावनी

यो समाचार 310 पटक पढिएको

चितवन, ७ असार/ नेपालमा दूध आयात हुने क्रम पूर्णरुपमा नरोकिए भदौ महिना भित्र पशुपालक कृषकहरु ‘मिल्क होलिडे’को मारमा पर्ने राष्ट्रिय दुग्ध विकास वोर्डका महाप्रवन्धक बाबुकाजी पन्तले चेतावनी दिएका छन् । देशमा महाभूकम्पको प्रभावसँगै दूध आयात बढेकाले त्यसको असर नेपाली किसानहरुमा पर्ने उनको ठोकुवा छ ।

Milknewsagro.comव्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरले आइतबार चितवनमा आयोजना गरेको ‘दूध उत्पादन, बिक्री समस्या र समाधान’ विषयक कार्यक्रममा पन्तले मन्त्रिपरिषद बैठकबाट निर्णय गरी दूध आयात रोक्नुपर्ने बताए ।

उनले भने, ‘नेपालमा दूधको उत्पादन बढीरहेको छ, उचित मूल्य पनि छैन । यसकारण बेलैमा क्याविनेटबाटै दूध आयात हुन रोक्नुपर्छ ।’ उनले ‘मिल्क होलिडे’ हुन नदिन बोर्डले पहल गरिरहेको जानकारी दिए ।

पशुपालन पेशालाई मर्यादित बनाउन र दूध पाउडर कारखाना संचालनमा ल्याउनुपर्नेमा पन्तले जोड दिए । कार्यक्रममा दुग्ध सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटा र पशुपालक कृषकहरुले दूधको मूल्य वृद्धि गर्दा एउटै फ्याटका आधारमा गर्ने निर्देशिका नबनेसम्म सँधै दूध उत्पादक कृषकहरु मारमा पर्ने बताए ।

कार्यक्रममा अधिकांश कृषकहरुले पशुपालनमा कृषकहरुलाई थप आकर्षित गराउन अनुदानमा राज्यले गरेको विभेदीकरण तत्काल हटाउन माग गरेका थिए ।

कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा। रामकुमार कार्की, व्यवसायिक पशुपालक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे, जिल्ला वन कार्यालयका प्रतिनिधि इन्द्रमणी सेढाई, रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया लगायतले बोलेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :