भूकम्पपीडितलाई विश्व खाद्य कार्यक्रमको सडेको चामल

यो समाचार 203 पटक पढिएको

गोरखा, ५ असार / गोरखाको लाप्राकका भुकम्पपीडितलाई विश्व खाद्य कार्यक्रमले बाँड्न लागेको चामल कुहिएको भेटिएको छ । गाउँमा पुर्‍याएको ४ सय ७७ बोरामध्ये एकसय बोरा चामल कुहिएको भेटिएको लाप्राकका पूर्वगाविस अध्यक्ष बिसबहादुर गुरुङले जानकारी दिए ।

Wfp riceकुहिएको भेटिएपछि सो चामल विश्व खाद्य कार्यक्रमको गोदाममा थन्क्याइएको उनले बताए । ‘बाँड्न थालिएको थियो । कुनै सद्दे भेटियो, कुनै कुहिएको भेटियो’ उनले भने ‘अनि हामीले उनीहरुको कर्मचारीलाई भन्यौं । कुहेको चामलको सट्टा राम्रो चामल पठाइदिने आश्वासन दिए । कुहिएको जति थन्क्यायौं ।’

डब्लुएफपी लेखेको भन्दा ओम लेखेको बोराको चामल धेरै कुहिएको भेटिएको उनले बताए । विश्व खाद्य कार्यक्रमले त्यहाँका प्रत्येक घरलाई ४० किलोका दरले एक बोरा चामल, दुई लिटरका दरले तेल, एक किलो दाल, एक किलोका दरले नून वितरण गर्न सुरु गरेको थियो ।

तर कुहिएको भेटिएपछि छानेर सद्दे चामल मात्र बाँडिएको छ । अरु खाद्य सामान पनि बाँडिएको स्थानीय कलेज गुरुङले जानकारी दिए । उनका अनुसार गाउँको गोदाममा अनलोड गर्दा नै चामलको नराम्रो गन्ध आएकाले तलबाटै बिग्रिएको चामल आएको अनुमान गरिएको थियो । लाप्राकका लागि एकहप्ता अघिदेखि चामल ओसार्न सुरु गरिएको थियो । केही दिनदेखि लगातार पानी परेकाले ट्याक्टरमा भिजेर चामल बिग्रिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । बिग्रिएको चामलको सट्टामा अरु सद्दे चामल पठाइदिने निर्णय भएपछि सद्दे चामल बाँड्ने काम भइरहेको कलेजले बताए ।

विश्व खाद्य कार्यक्रमले जिल्ला रेडक्रस सोसाइटी र सेभ द चिल्ड्रेनसँग साझेदारी गरी जिल्लाका उत्तरी क्षेत्रमा चामल वितरण गरेको छ । मझुवा देउरालीको गोदामबाट बारपाकमा शाखा गोदाम बनाएर बारपाक र लाप्राकलाई खाद्यान्न वितरण गर्ने तयारी गरेको छ । बारपाकमा भने शुक्रबारदेखि मात्र खाद्यान्न वितरण गर्ने भएकाले सद्दे छ वा छैन भन्ने बारे जानकारी नभएको स्थानीय जीत घलेले बताए । लाप्राकमा पु¥याइएको चामलको अबस्था बारे अध्ययन गर्न तीन सदस्य टोलीलाई लाप्राक पठाइएको जिल्ला रेडक्रस सोसाइटीका सभापति यदु विलास भट्टराईले बताए ।

कुहिएको चामलको सरकारले छानविन गर्ने
सरकारले विश्व खाद्य कार्यक्रमले भूकम्प पीडितका लागि उपलव्ध गराएको चामल खानै नहुने र कुहिएको भेटिएको सन्दर्भमा छानविन गर्ने भएको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले कुहिएको चामल बाँडिएको सन्दर्भमा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताएका थिए । कोइरालाले कृषि र आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई कुहिएको चामल बारे छानविन गरी यस्तो हुन नदिन कडाइका साथ जाँचको व्यवस्था गर्न निर्देशन समेत दिएका छन् । मन्त्रिपरिषद बैठकमा संयुक्त राष्ट्रसंघीय निकायबाट समेत मान्छेको जीवनसँग खेलवाड भएको विषयमा गम्भिर छलफल भएको एक मन्त्रीले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :