भूकम्पले १० करोडको सिताके च्याउमा क्षति

यो समाचार 179 पटक पढिएको

सिन्धुपाल्चोक, ५ असार/ विनाशकारी भूकम्पले जिल्लाको कृषि क्षेत्र नराम्ररी प्रभावित भएको छ । कृषि कार्यालय, कृषि सेवा केन्द्र, कृषि संकलन केन्द्र, कृषि औजार, बिउबिजन र खडा बालीमा ठूलो क्षति पुगेको हो ।

भूकम्पले १० करोडको सिताके च्याउमा क्षति

भूकम्पका कारण जिल्लाभर करोडौँको क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । १२, १३ र २९ वैशाखको भूकम्पले भत्किएका घरले पुरिएर ठूलो परिमाणमा खाद्यान्न नष्ट भएको बाली विकास अधिकृत हेम शर्मा तिवारीले जानकारी दिए । तिवारीका अनुसार चार हजार दुई सय ६९ मेट्रिकटन धान, गहुँ आठ हजार नौ सय, मकै ७०७.४९, कोदो २,६५६.५ र आलु २,४६८.६८ मेट्रिकटन पुरिएर नष्ट भयो ।

त्यसैगरी दलहन ६७.२ र तेलहनमा १३२.६६ मेट्रिकटन क्षति भएको छ । तरकारी खेतीका लागि तयार गरिएको ३ करोडबराबरका ६ हजार प्लास्टिकका टनेलमा क्षति पुगेको छ । ३ लाख ५० हजारमा निर्माण भएको कन्य च्याउ उत्पादन गर्ने ९० टनेल, ३ लाख लागतमा बनेको सिताके च्याउको टहरा ३० र १० करोड मूल्यबराबरको सिताके च्याउ बेडलक ५० गोटामा क्षति पुगेको तिवारीले जानकारी दिए ।

चार हजार मौरीको गोलाघारमा क्षति पुगेको छ । कार्यालयका अनुसार उक्त परिमाणको मौरीघारको मूल्य ३२ करोड रुपैयाँ हुन आउँछ । जिल्लाका हिमाली क्षेत्रमा कृषकले व्यावसायिक रूपमा गरेको रेन्बो ट्राउट र अन्य माछाको पोखरीमा क्षति पुगेको छ । भूकम्पले थर्काउँदा पोखरीको पानी छचल्किएर बाहिर जाँदा ट्राउटका भुरा मरेको र कतिपय पोखरी क्षतविक्षत हुँदा दुई करोड ५५ लाख क्षति भएको कृषि कार्यालयको अभिलेखमा उल्लेख छ ।

कृषि विकास कार्यालयको सहयोग र कृषकले व्यावसायिक रूपमा स्थापना गरेका जेठल–५ सिलढुंगामा रहेको कृषि उपज संकलन केन्द्र, कदमबासको लप्सेमा रहेको तरकारी संकलन केन्द्र, फुल्पिङडाँडाको बिन्जेलमा रहेको मकै संकलन केन्द्र र सिन्धु सामुदायिक बिउ बंैकमा भूकम्पले ठूलो क्षति पुर्‍याएको छ । ती केन्द्र ५६ लाख रुपैयाँको लागतमा स्थापना भएका थिए ।

भूकम्पपछि बिउ अभाव हुन गई धान र कोदोको बिउसमेत राख्न नपाएको किसानले जनाएका छन् । कार्यालयका अनुसार जिल्लाभर ६ सय मेट्रिकटन धान र एक सय ३५ मेट्रिकटन कोदोको बिउ नष्ट भएको थियो । खडा बाली चैतेधान, गहँु, मकै, आलु र तरकारीसमेत गरी ८ करोडबराबरको खाद्यान्न तथा तरकारी क्षति हुने अनुमान गरिएको वरिष्ठ कृषि विकास अधिकृत वेदप्रसाद चौलागाईंले जानकारी दिए ।

भूकम्पले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएकाले आउँदो वर्ष जिल्लामा खाद्यान्न अपुग हुने चौलागाईंले बताए । ‘कृषि विभागबाट क्षतिको विवरण माग भएको छ,’ उनले भने, ‘हामी विवरण बुझाउने अन्तिम तयारीमा छौँ र क्षति हेरी कृषि क्षेत्रलाई राहत दिनेछाँै ।’ भूकम्पले सहकारी भवन भत्किँदा भण्डारमा रहेका ७० लाख रुपैयाँबराबरको युरिया, डिएपी र पोटासलगायत मलखाद नष्ट भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :