सरकारी जागिर छाडेर तरकारी खेती

यो समाचार 276 पटक पढिएको

भोजपुर, ३ असार/  भोजपुर नगरपालिका ९ टक्सारका श्रीप्रसाद श्रेष्ठ १० महिना अघिसम्म सामुदायिक वन उपभोक्ता महासंघमा प्रविधिकको जागिर खान्थे । जागिरकै दौरानमा श्रेष्ठले जब कृषि विकास कार्यालयले दिएको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको तरकारी खेतीसम्बन्धी तालिम लिने अवसर पाए तब उनको दैनिकी फेरियो ।

Vegetable सरकारी जागिर छाडेर तरकारी खेतीबिहान ९ बज्दा नबज्दै कार्यालय जानका लागि हतारिँदै टक्सारदेखि सदरमुकामसम्म असिन पसिन हुँदै उकालो चढ्ने श्रेष्ठ अचेल आफ्नै बारीमा भेटिन्छन् । कृषि विकास कार्यालयले दिएको तरकारी खेतीसम्बन्धी तालिमले उनको दैनिकी मात्र फेरिएन, जीवनस्तरसमेत फेरिदियो । जागिरे जीवनमा मासिक १६–१७ हजारभन्दा बढी कमाउन नसकेका श्रेष्ठले हाल मासिक ३०–४० हजार कमाउन थालेका छन् ।

कार्यालयले दिएको तालिमपछि उनलाई जागिरमै अल्झिरहन मन लागेन । जागिर छोडेर उनी व्यावसायीक कृषिमा होमिए । कार्यालयले दिएको ४० हजार अनुदान र आफ्नै ४ लाख ६० हजार लागनी गरी उनले व्यावसायीक खेती सुरु गरे । व्यावसायीक कृषिले उनलाई जागिरे जीवनमा भन्दा आत्मसन्तुष्टिसमेत मिल्यो । “मैले अहिले जे गरिरहेको छु यो सबै कृषि विकास कार्यालयको देन हो,” श्रेष्ठले भने “यदि कार्यालयले दिएको तीनदिने तालिम लिने अवसर नपाएको भए अहिले यो सब हुने थिएन ।”

श्रेष्ठले अहिले आफ्नो बारीमा बन्दाकोपी, फूलकोपी, टमाटर, भेडेखोर्सानीका खेती गरिहेका छन् भने ६ सय बोइलर कुखुरा र १२ सय माछासमेत पालेका छन् । श्रेष्ठले व्यावसायिक खेती गरेको छोटो समयमा नै राम्रो आम्दानी गर्न सफल भएकोमा दंग छन् । “६–७ महिनाको अवधिमै ३ लाखको हाराहारमी कमाएछु,” श्रेष्ठले मख्ख पर्दै भने । श्रेष्ठले बारीमै प्रतिकिलो बन्दा १० रुपैयाँ, टमाटर ५० रुपैयाँ, कोपी र भेडेखोर्सानी सय रुपैयाँका दरले बेचिरहेका छन् ।

“जागिरमा अर्काको अन्डरमा बस्नुपथ्र्यो, स्वतन्त्र हुन पाइन्नथ्यो । अहिले आफ्नै बारिमा खेती गरेको छु, स्वतन्त्र भएको छु, राम्रै कमाएको छु, यति भए मलाई अरु के चाहियो र ?” उनले भने “अबका दिन कृषिमा बिताउँछु, अरुलाई समेत व्यावसायीक खेती गर्न सल्लाह दिन चाहन्छु ।” श्रेष्ठले दुई टनेलमा बेमौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :