बाँकेको बंगुरले बजार पाएन

यो समाचार 199 पटक पढिएको

नेपालगन्ज, ३ असार /राम्रो आम्दानी हुने आशामा बंगुरपालन सुरु गरेका बाँकेका कृषक बंगुर बिक्री घटेपछि समस्यामा परेका छन् । केही समयअघिसम्म बजारको समस्या नभएको र नाफा पनि धेरै हुने देखेर एकैपटक धेरैले बंगुरपालन सुरु गरेका थिए । तर अहिले बिक्री नभएर उनीहरु चिन्तित छन् ।

Bangoor Porkवैदेशिक रोजगारीबाट फर्किएका नेपालगन्ज–२६ कारकाँदोका लोकेन्द्र चन्दले ०७० मंसिरमा मनिकापुरस्थित आफ्नै १० कठ्ठा जमिनमा २५ लाख रुपैयाँ लगानी गरेर बंगुरपालन सुरु गरे ।

अहिले उनको खोरमा उन्नत जातका साना–ठुला ५९ वटा बंगुर छन् । बंगुर उत्पादनको मात्राभन्दा बिक्री दर निकै कम हुने गरेकाले हात जोडेर बंगुरका पाठा र मासु बिक्री गर्नुपरेको उनले गुनासो गरे । साउदी, दुबई र जोर्डनलगायत मुलुकमा ८ वर्ष लामो बसाइपछि ०७० सालमा घर फर्केपछि उनले स्वदेशमै श्रम गरेर आम्दानी बढाउने सोचका साथ यो व्यवसाय सुरु गरेका थिए ।

वार्षिक १८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका चन्द उत्पादित बंगुर बिक्री नहुने समस्याले चिन्तित छन् । सरकारी र गैरसरकारी निकायले बंगुर पाल्न मात्रै सिकाएको तर बिक्रीका लागि बजार व्यवस्थापनतर्फ ध्यानै नदिएको उनको गुनासो छ ।

अर्का युवा अनिल केसी पनि चन्दझैं ठूलो सपना बोकेर बंगुरपालनमा लागे । नेपालगन्जको लग्दहवामा जमिन भाडामा लिई २ युवाले करिब २० लाख रुपैयाँ लागतमा ०७० देखि बंगुर फार्म सञ्चालन गरेका थिए । व्यवसाय सञ्चालन गर्दा बंगुरका पाठा नपाएर हैरानी खेपेका उनीहरु अहिले आफ्नो उत्पादन बिक्री नहुँदा र राम्रो मूल्य नपाउँदा तनावमा छन् ।

सामान्यतया ४५ दिन पुगेपछि बंगुरका पाठा बिक्री गर्न उपयुक्त मानिन्छ । पाठा बिक्री नभएर २र३ महिनासम्म पाल्नुपर्ने बाध्यता रहेको केसीले बताए । बंगुर फार्मको संख्या बढी हुनु, अवैध नाकाबाट भारतीय बंगुर भित्रिनु, चरुवा बंगुरको बिगबिगी बढ्नु, बजार व्यवस्थापनमा सरकारी र गैरसरकारी निकायले ध्यान नदिनु नै समस्याको कारण भएको केसीको बुझाइ छ ।

पशु सेवा कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म १८६ वटा फार्म दर्ता प्रक्रियामा आएर सञ्चालित छन् । फार्म दर्ता गर्न कार्यालयले विभिन्न मापदण्ड निर्धारण गरेको छ । एउटा फार्ममा कम्तीमा ५ वटा उन्नत जातका माउ बंगुर हुनुपर्ने, व्यवस्थित खोर, दानापानीलगायतको व्यवस्थापन हुनुपर्ने मापदण्ड छ ।

कार्यालयका पशु विकास अधिकृत राजेन्द्र रायले जिल्लामा बंगुरपालन व्यवसाय ह्वात्तै बढेपछि बिक्रीको समस्या रहेको बताए । उता, बंगुरपालन व्यवसायी संघ जिल्ला तदर्थ समितिका अध्यक्ष दिपेन्द्र जोशीले बंगुर पाल्ने तरिका नजान्ने व्यवसायीले मात्र बजार समस्या खेप्नुपरेको बताएका छन् । एउटा फार्मले मासु र बच्चा उत्पादन सँगै गर्न खोज्न नहुने भन्दै उनले मासु र बच्चा उत्पादनमध्ये एउटा विकल्प रोज्नुपर्नेमा जोड दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :