ओमानको कमाइले “चिया बगान”

यो समाचार 334 पटक पढिएको

मोरंग, २ असार / विदेश गएर धेरथोर कमाउने अनि त्यो पैसाले सहरको रमझमपूर्ण जीवनमा रमाउनेको ताँती नै छ आजकल । तर, मोरङ सिंहदेवी–५ का नारायण राई भिन्न छन् । उनले विदेशमा कमाएको पैसाले विकट पहाडी गाउँमा चिया बगान सुरु गरेर आफूलाई उदाहरणीय बनाएका छन् ।

Tea Farmमोरङको विकट पहाडी गाउँमा जन्मेका ४८ वर्षीय नारायण ३२ वर्षको उमेरमा पैसा कमाउन ओमान पुगेका थिए । उनले त्यहाँको ‘अब्दुल्लाह अलि एटिम एन्ड पार्टनर’ कम्पनीमा १० वर्ष काम गरे । सुरुमा दुई हजार मासिक तलब पाउने नारायणले आफ्नो इमान र परिश्रमकै कारण ३ लाख मासिकसम्म तलब खाए । छिमेकी दाइ गजेन्द्र लिम्बूको सहयोगमा ५० हजार रुपैयाँ खर्चेर ओमान पुगेका नारायणले १० वर्ष बसेर दुई करोड रुपैयाँ आर्जन गरे ।

मिहिनेती र कमाइको पैसो उत्पादनमा मात्र खर्च गर्नुपर्छ भन्ने मान्यता राख्ने नारायणले पत्नी खुजुमविनाको सहयोगमा जन्मे–हुर्केकै विकट गाउँ सिंहदेवीको जेफालेमा वनमारा झाडी फाँडेर चिया बगान लगाए । विदेशमा कमाएको पैसा सबै लगानी गरी ०५६ मा सुरु गरेको चिया बगान ०६३ मा ‘मातृभूमि टी स्टेट’ का नाममा दर्ता भएको छ । सुरुमा १८ बिघाबाट सुरु भएको उनको चिया बगान अहिले अढाइ सय बिघामा विस्तार भइसकेको छ । विषादी प्रयोग नगरी अग्र्यानिक चिया उत्पादन गर्दै आएका नारायणको चिया खेतीबाट प्रभावित भएर उत्तरी मोरङको सिंहदेवीका मात्र होइन, भोगटेनी, बारंगी, पाटीगाउँ र रमितेखोला गाविसका साना किसानले पनि अम्लिसो र अलैंची खेतीसँगै आफ्ना पाखोबारीमा चियाखेती थालेका छन् ।

विदेशमा वर्षांै मिहिनेत गरी कमाएको पैसा अनकन्टार ठाउँमा लगानी गर्दा धेरैले नारायणलाई लहडी भने । उनलाई मधेस झरेर घडेरी किन्न र राम्रो घर बनाएर बस्न सल्लाह दिने धेरै थिए । तर, नारायणले कसैको कुरा सुनेनन् । वनमारा झाडी फाँडेर चियाका बिरुवा रोपे । कसैले सोच्दै नसोचेको ठाउँमा चियाखेती गरेर सफल कृषि उद्यमी बनेका नारायणले जिल्लास्तरको राष्ट्रपति कृषक पुरस्कार पाइसकेका छन् ।

मोटरबाटोसमेत नभएको जंगलमा चियाखेती गरेर स्थानीयलाई रोजगार दिनसमेत सफल भएका नारायणले सिंहदेवी गाविसलाई पर्यटन केन्द्रका रूपमा पनि विकास गराएका छन् । उनी र उनीजस्तै सहयोगीको पहलमा अहिले सिंहदेवी गाविसको जेफाले घुम्न बर्सेनि हजाराँै पर्यटक पुग्न थालेका छन् । जेफाले डाँडाको भ्युटावर चढेर सूर्योदय हेर्न पुगेकाहरू त्यहाँको चिसो मौसममा रमाउँदै नारायणको मनमोहक चिया बगान नघुमी फर्कंदैनन् ।

विदेशमा गरेको कमाइ सदुपयोग भएकोमा खुसी भएका नारायण भन्छन्, ‘सोचविचार गरेर विदेश जानुपर्छ र फर्केर आएपछि कमाएको पैसा उत्पादनमूलक काममा लगाउनुपर्छ । यसो गर्दा राम्रो प्रतिफल पाइँदो रहेछ ।’ दश वर्ष बहराइनमा पसिना बगाएर कमाएको पैसाले सुखभोग गर्न नारायण र उनकी पत्नी खुजुमविना सहर पसेनन् । गाउँमै उद्यम सुरु गरे । लगानी फस्टाएपछि हौसिएका नारायण अब वर्षैपिच्छे बगान विस्तार गर्दै जाने योजनामा छन् । कमाएको पैसामा थप एक करोडजति ऋण लिएर लगानी गरिसकेको उनी बताउँछन् ।

नारायण अहिले सबैतिर पौरखी कृषक मात्र होइन, विकासप्रेमी अगुवाका रूपमा पनि चिनिइसकेका छन् । हाल नारायणको उद्यम हेर्न र उनलाई भेट्न जिल्लाका ठूलाबडा मात्र नभएर देश–विदेशबाट समेत मानिस सिंहदेवी पुग्ने गरेका छन् । सिंहदेवीमा विराट् क्षेत्रीय पर्यटन विकास समितिले सूचना केन्द्र निर्माण गरिदिएको छ । जिविस मोरङको सहयोगमा स्थानीयले घरघरमा होमस्टे सञ्चालन गरेका छन् ।

पहिले बाघभालु लाग्ने र फाट्टफुट्ट मात्र मानिस हिँड्ने गोरेटो बाटो सोझै कालोपत्रे भएर सदरमुकाम विराटनगरसँग जोडिँदै छ । दक्षिण लेटाङ र केराबारीबाट सिंहदेवीसम्मको २५ किमि बाटो कालोपत्रे भएपछि नारायण मात्र होइन, सिंगो सिँहदेवी नै पर्यटन हब बन्छ भन्ने नारायणको विश्वास छ । सिंहदेवीका पूर्वगाविस सचिव डिल्लीप्रसाद आचार्य भन्छन्, ‘नारायण राईको पौरख सिंहदेवीको मात्र नभएर सिंगो देशको नै गौरव हो ।

नारायण आफैँ माटो, गोबर र मूत्र सोहर्ने, छर्ने र मल बनाउने, चिया गोड्ने, टिप्ने र कारखानामा काम गर्ने गर्छन् । उनले बगानमा चिया मात्र होइन, दाल, साग र मौसमी तरकारीसमेत लगाएका छन् । साथै, पशुपालन पनि गरेका छन् ।’ चियाखेतीमा सफल हुँदै गएपछि हौसिएका नारायण दम्पतीले अहिले चिया नर्सरीसमेत सुरु गरेका छन् । उनको नर्सरीबाट स्थानीयले मात्र नभएर अन्य जिल्लाका किसानले पनि उनले उत्पादन गरेको चियाको बिरुवा खरिद गर्ने गरेका छन् । नारायणको टी स्टेटमा उत्पादित ‘ब्ल्याक टी’ र ‘रोस्टेड’ प्रविधिबाट तयार गरिएको ‘ग्रिन टी’ले राम्रो बजार बनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :