दालको मूल्य नियन्त्रणबाहिर

यो समाचार 190 पटक पढिएको

काठमाडौं, २ असार /भूकम्पपछि अकासिँदै गएको दालको मूल्य नियन्त्रणबाहिर गएको छ । दालको मूल्य अकासिएर प्रतिकेजी २ सय नाघिसक्दा पनि अनुगमनकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले नियन्त्रणको प्रयास गरेको छैन । भूकम्प जानुअघि दालको मूल्य १ सय ३० रुपैयाँ हाराहारी थियो ।

Dal  Pulse दालको मूल्य नियन्त्रणबाहिरउपभोक्ता दैनिक रूपमा बढेको रकममा दाल किन्नुपरेको गुनासो गर्दै आएका छन् । बानेश्वर थापागाउँकी सुष्मा ढुंगेलले दालको दैनिक मूल्य बढिरहेको बताइन् । ‘दाल किन्न जाँदा दिनैपिच्छे मूल्य बढिरहेको छ,’ उनले भनिन्।

वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले बजार मूल्य विश्लेषण गर्दा प्रत्येक दिन मूल्यवृद्धि भइरहेको पाइएको बताए । ‘दालको मूल्य प्रत्येक दिन किलोमा १–२ रुपैयाँ बढिरहेको पाएका छौँ,’ उनले भने, ‘नेपालमा आयातीत दालको मूल्य बजार ठूलो भएकाले महँगिएको देखिन्छ ।’ खुद्रा व्यापारीले भने थोक बिक्रेतालाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

‘दालको मूल्य बढिरहेको भन्नुभन्दा होलसेल मूल्य चेक गर्नुपर्‍यो,’ खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले भने । उनले होलसेल मूल्य नियन्त्रण गर्न नसक्दा मूल्य अकासिएको दाबी गरे । ‘होलसेलमै मूल्य बढेका कारण खुद्रा पसलबाट उपभोक्तालाई वस्तु तथा सेवा बिक्री गर्दा मूल्य बढ्ने गर्छ,’ उनले भने, ‘होलसेलमा दालको मूल्य नियन्त्रण गरे खुद्रामा पनि घट्छ र उपभोक्ताले सुविधा पाउन सक्छन् ।’

दुई सातायता वाणिज्य विभागले दालको मूल्य शृंखलाबारे अनुगमन र अध्ययन गरिरहेको छ । अध्ययनमा आयात मूल्य नै बढेको देखिएको बेल्वासेले बताए । ‘दालको आयात मूल्य नै बढेको छ, त्यसैले नेपाली बजारमा पनि मूल्य अकासिएको हो,’ उनले भने । नेपालमा भारतबाट ठूलो मात्रामा दाल आयात हुने गरेको छ ।
म्यानमारबाट समेत थप दाल आउने गरेको छ । भारतले अस्ट्ेरलिया, न्युजिल्यान्ड, तान्जानियालगायबाट कच्चा दाल मगाई प्रशोधन गरी निर्यात गर्दै आएको छ ।
भारतमै पनि उत्पादन घटेका कारण मूल्य बढेको छ । भारतमा दालको मूल्य प्रतिकेजी ९०–९५ भारु आसपासमा बिक्री भइरहेको छ । आयात गर्दा थोक बिक्रेताले प्रतिकेजी १ सय ८३ रुपैयाँसम्ममा किनेको विभागले जनाएको छ ।

‘काठमाडौंको कुलेश्वरमा रहेको एक थोक बिक्रेताको खरिद बिल हेर्दा १ सय ८३ रुपैयाँ प्रतिकेजीमा दाल खरिद गरेको देखिएको छ,’ उनले भने, आयातीत मूल्य नै बढेका कारण बजारभाउ अकासिएको हो ।’ प्रतिस्पर्धी बजारले मूल्य निर्धारण गरेको भन्दै विभागले नियन्त्रण गर्न नसकिने जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :