यस्तो छ, नेपालको कृषि उत्पादन

यो समाचार 293 पटक पढिएको

काठमाडौं, २ असार / सन् २०११ को तथ्यांकअनुसार मुलुकमा २५ लाख हेक्टर कृषियोग्य जमिन छ । खेतीयोग्य जमिन पूर्वाधार निर्माण, प्लटिङ गरी आधुनिक बस्ती बनाउने जस्ता कार्यले नासिने क्रम बढ्दै गएका कारण उत्पादनमा असर परिरहेको छ । अर्कातिर बाढी, पहिरोले पनि कटानी गर्दा उब्जाउयोग्य जमिनको क्षेत्रफल घटिरहेको छ ।

ccकृषि विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७१/०७२ खाद्यान्न (धान, गहुँ, मकै, कोदो, फापर, जौ) ९५ लाख २६ हजार टन उत्पादन हुने अनुमान छ । यो गत वर्षको भन्दा ३ प्रतिशत कम हो । सबैभन्दा बढी उपभोग हुने धान उत्पादनमा ५ प्रतिशतले कमी आई ४७ लाख ८८ टन उत्पादन भएको अनुमान छ । अघिल्लो वर्ष ५० लाख ४७ हजार टन धान उत्पादन भएको थियो । उत्पादित धानबाट ६२ प्रतिशत मात्रै चामल बनाउन सकिन्छ । ठूलो परिमाण ‘पोस्ट हार्भेस्ट’का क्रममा (भुस, खेतमा नासिने) खेर जाँदा उत्पादित शतप्रतिशत धान उपयोग हुन सकेको छैन ।

नगदेबाली (आलु, जुट, सुर्ती, तेलहन, उखुलगायत) ६१ लाख १८ हजार टन उत्पादन हुने अनुमान छ । सामान्यतया किसानले बिक्री गर्ने उद्देश्यले उत्पादन गरेका उपजलाई नगदेबालीका रूपमा लिइन्छ । यो वर्ष ४ लाख ८७ हजार हेक्टरमा नगदेबाली उब्जाउ हुने कृषि मन्त्रालयको तथ्यांक छ ।

मुसुरो, मास, रहर, चना, भटमास, गहत, खेसरीलगायतका दालको उत्पादन ३ लाख ५३ हजार टन रहेको छ । ३ लाख २६ हजार हेक्टरमा दलहन खेती हुने गरेको छ । यो वर्ष ११ लाख ८६ हजार टन फलफूल र ३६ लाख २९ हजार टन तरकारी उत्पादन भएको छ । व्यावसायिक केराखेती बढ्दै गएको, सुन्तलाको क्षेत्रफलमा कमी आएको भए तापनि उत्पादन नघटेको, स्याउ उत्पादन बढेको र आँपको फल्ने वर्ष भएका कारण पनि कूल फलफूल उत्पादन बढेको हो ।

त्यस्तै, अन्य बालीको साटो प्रमुख नगदेबालीका रूपमा बेमौसमी तरकारी खेती गर्ने प्रचलन बढेको छ । यसको क्षेत्रफल तथा उत्पादनमा निरन्तर वृद्धि हुँदै गएको पाइएको छ । संलग्न कृषकको जीवनस्तरमा समेत सुधार आएकाले व्यावसायिक तरकारी खेती गर्ने प्रचलन बढ्दै गएको छ ।

मुलुकभित्र दूध, मासु उत्पादनमा पनि सुधार भइरहेको छ । मन्त्रालयका अनुसार गाई, भैँसी, याक, नाक र चौँरीबाट यो वर्ष १७ लाख २४ हजार टन दूध उत्पादन भएको छ । यो गत वर्षको भन्दा १५ प्रतिशत बढी हो । हालका दिनमा भैँसीको संख्या घट्दै गए पनि उन्नत गाईपालन व्यवसाय फस्टाउँदै गएका कारण गाईको दूध उत्पादन बढ्न गएको छ ।

चालू आव ०७१/७२ को अन्त्यसम्ममा मासु उत्पादनमा पनि १.७३ प्रतिशतले बढेर ३ लाख ३ हजार मेट्रिकटन हुने अनुमान रहेको छ । कूल मासु उत्पादनमध्ये राँगाभैँसीबाट करिब १ लाख ७४ हजार मेट्रिकटन (५८.० प्रशित), भेडाबाट २ हजार ६ सय ५८ मेट्रिकटन, खसी/बोकाबाट ६० हजार ९ सय मेट्रिकटन, बंगुरबाट २० हजार १ सय ३५ मेट्रिकटन, कुखुराबाट ४५ हजार ४ सय ५८ मेट्रिकटन र हाँसबाट २ सय ३२ मेट्रिकटन उत्पादन हुने अनुमान छ ।

यो आवमा ८९ करोड ९५ लाख गोटा अन्डा उत्पादन हुने अनुमान छ । त्यस्तै, माछा उत्पादन करिब ७ प्रतिशतले बढेर ६९ हजार ४ सय टन पुग्ने अनुमान छ । देशका विभिन्न जिल्लामा माछा अभियान सञ्चालन गरिएका कारण उत्पादन बढिरहेको मन्त्रालयको दाबी छ ।

विदेशबाट खर्बको आयात
मुलुकको उब्जनीले माग धान्न नसकेर विदेशबाट कृषिजन्य उत्पादन खर्बभन्दा बढी आयात हुन थालेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७०/७१ मा मात्रै १ खर्ब २७ अर्बको कृषि उपज आयात भएको थियो । त्यसमध्ये कच्चा पाम आयल ४ अर्ब १७ करोड रुपैयाँबराबरको आयात भएको छ । रासायनिक मल १४ अर्ब ७३ करोड रुपैयाँको आयात भएको छ । कच्चा भटमासको तेल १४ अर्ब ८२ करोडको आयात भएको छ । अन्न २८ अर्ब ८२ करोड रुपैयाँको आयात भएको तथ्यांक छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :