लाखौँ लगानीका कृषि भवन प्रयोगविहीन बन्दै

यो समाचार 245 पटक पढिएको

तेह्रथुम, २ असार/ जिल्लाको जिरीखिम्ती बजारमा कृषि हाटबजारका लागि लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगविहीन बनेका छन् । जिविस, कमर्सियल एग्रिकल्चर एलायन्स र उपभोक्ताको गरी ७५ लाख रुपैयाँको लागतमा ३ वर्षअघि कृषि हाटका लागि निर्माण सम्पन्न भवन र ट्रस्ट हालसम्म प्रयोगमा नआएका हुन् ।

लाखौँ लगानीका कृषि भवन प्रयोगविहीन बन्दैस्थानीय किसानबाट उत्पादित वस्तुको बजारीकरण गर्ने प्रमुख उद्देश्यले भवन निर्माण गरिए पनि उपभोक्तालाई पायक नपर्दा भवन प्रयोगमा आउन नसकेका हुन् । बजारभन्दा करिब १ किलोमिटर टाढा बनाइएका भवनमा किनबेच गर्न जान नसकिने उपभोक्ता बताउँछन् । जिरीखिम्ती बजारको नजिकमा पर्ने मोराहाङ र हाल म्याङलुङ नगरपालिकामा पर्ने साविकका जिरिखिम्ती, पिप्ले, साब्ला र आम्बुङ गाविसका किसानको प्रमुख कृषि बजार हो । तर, कृषि उपजको बजार, खपत अध्ययन र भौगोलिक स्थानको अध्ययनविनै भवन निर्माणमा खर्चिएको लाखौँ रुपैयाँ प्रतिफलविहीन भएको छ ।

पाँच सटर भएको पक्की भवन, दुईवटा ट्रस्ट, तरकारी धोएर सफा गर्ने पानी ट्यांकी र फोहोर संकलन गर्ने भवन प्रयोग र सरसफाइ अभावमा प्रयोगमै नआई पुराना भएका छन् । स्थानीय कृषि उत्पादन संकलन गरी बिक्री वितरण गर्ने र त्यहाँ खपत हुन नसकेका उत्पादनलाई जिल्लाबाहिर निर्यात गरी किसानको आयमा वृद्धि गराउने उद्देश्यले भवन निर्माण गरिएको निर्माण समिति अध्यक्ष यज्ञबहादुर अधिकारीले जानकारी दिए । तर, भवन निर्माण भएको एक वर्षसम्म पनि किसानले आफ्ना उत्पादन नल्याएपछि हाटबजार स्थलका भवन सञ्चालन गर्न नसकिएको अध्यक्ष अधिकारीले बताए ।

भवन जिरिखिम्ती कृषि थोक तथा खुद्रा बजार व्यवस्थापन समितिले निर्माण गरेको हो । भवन निर्माण भएको हाटबजार स्थलसम्म पुग्न बजार क्षेत्रबाट सीधा बाटो नभएको र अर्को बाटो घुमाउरो भएकाले पनि बजार क्षेत्रका उपभोक्ता जान नमानेका हुन् ।

‘धेरैपटक प्रयास गरिए पनि कृषि उपज हाटबजार लगाउन सकिएन,’ अध्यक्ष अधिकारीले भने । हाटका लागि भवन निर्माण गरिए पनि जिरीखिम्ती बजारको साँघुरा सडकमै किसानले अहिले पनि फलफूल र कृषिजन्य उत्पादन बिक्रीवितरण गर्दै आएका छन् । अर्धसाप्ताहिक रूपमा लाग्ने हटियाका दिन बजार भएर चल्ने सवारी आवतजावतमै समस्या हुने गरी सर्वसाधारणको किनबेचका लागि भीड लाग्ने गर्छ ।

भवन सञ्चालनमा ल्याएर कृषि उत्पादनको हाटबजार लगाउन सके धेरै किसानले फाइदा लिन सक्ने कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मनोजकुमार यादवले बताए । निर्माण सम्पन्न भएका संरचना प्रयोगमा ल्याउन नसक्दा लागतसमेत खेर जाने अवस्था आएको उनको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :