मकैबारीमा तरकारीखेती

यो समाचार 259 पटक पढिएको

दोलखा, भीमेश्वर नगरपालिका–१२ मकैबारीका कृषक शेरबहादुर तामाङ २५ रोपनी जग्गामा तरकारीखेती गर्छन् । उनको वार्षिक आम्दानी १० लाख रुपैयाँसम्म हुन्छ । तरकारीमा लागेपछि उनले कोदो मकैलगायतका अन्य बाली लगाउन छाडिसके । उनको घर वरपर सबै मौसमी तथा बेमौसमी तरकारी मात्र छन् ।Maize

व्यावसायिक तरकारी खेतीमा लागेपछि अरु सबै खेतीको काम उनले छाडेका छन् । शेरबहादुर जस्तै मकैबारीका २ दर्जन बढी कृषक केही वर्षदेखि व्यवसायिक तरकारीखेतीमा लागेका छन् । छिमेकीले गरेको सफलतापछि त्यो संख्या बढ्दो क्रममा छ । व्यवसायिक रूपमा काम गर्न थालेपछि आर्थिक हैसियतसमेत सुदृढ भएको उनीहरूको अनुभव छ ।

“८ वर्षअघिसम्म चरिकोट पुग्न खल्तिमा ५ रुपैयाँ भाडा हुँदैनथ्यो । अहिले हरेक घरमा मोटरसाइकल छ,” शेरबहादुरले कारोबारसँग भने । गाउँमा २–४ हजार रुपैयाँको समस्या नहुने उनले बताए । यहाँका कृषकले अहिले १ सिजनमा प्रतिरोपनी २५ हजार रुपैयाँसम्म कमाउने गरेका छन् । विगतमा वनबाट दाउरा ल्याएर बेच्ने र ज्याला मजदुरी गर्नेहरू तरकारीखेतीमा लागेपछि उल्टै अरुलाई जागिर दिने भएका छन् ।
मकैबारीमा व्यावसायिक तरकारीखेती सुरु गर्ने शेरबहादुर दाजुभाइले व्यवसायिक रूपमा काम गर्न थालेको ७ वर्ष भइसकेको छ । तालिम गोष्ठी, भ्रमण र पत्रपत्रिका पढेरै धेरै ज्ञान हासिल गरेको उनले बताए । उनले धेरै पुरस्कारसमेत पाइसके । “सापटीसम्म नपत्याउने अवस्था थियो । अहिले ऋण कति चाहिन्छ भनेर बैंकहरू घरमै आउन थाले,” उनले भने ।

मकैबारीमा शेरबहादुरजस्ता व्यावसायिक तरकारीखेती गर्नेको संख्या २ दर्जनभन्दा बढी छ । उनीहरू आफैं दैनिक रूपमा काठमाडौं कालिमाटीसम्म ट्रकमा तरकारी लैजान्छन् । एक्लैको तरकारीले ट्रिप नपुगे २–३ जनासम्म मिलेर बजारमा पु¥याउने गरेका छन् । मकैबारीबाट दैनिक ५ ट्रकसम्म तरकारी काठमाडौं पुग्ने गर्छ । केही तरकारी चरिकोट बजारमा खपत हुन्छ । तरकारी किन्न व्यापारी बारीमै पनि पुग्छन् । वर्षात्को बेला तराइमा गर्मीले तरकारी नहुने हुँदा तराइका बजारमा समेत मकैबारीको तरकारी पुग्ने गरेको जिल्ला कृषि विकास कार्यालयका वागबानी अधिकृत नवराज सापकोटाले बताए ।

बेमौसमी खेतीमा राम्रो आम्दानी हुने भएपछि कृषकले बजारमा कुन समयमा कुन तरकारीको माग बढी हुन्छ भनेर उत्पादन गर्ने गरेका छन् । मौसमी समयमा धेरै फाइदा नभएकाले बारी खाली नराख्न मात्र खेती गर्ने गरेको उनीहरू बताउँछन् । तरकारी उत्पादन र बजारसम्म पु¥याउने भएकाले त्यसका लागि चाहिने मल बीउसमेत काठमाडौंदेखि नै ल्याउने गरेका छन् ।

पछिल्लो समय तरकारीखेतीमा युवासमेत आकर्षित भएका छन् । विदेशबाट फर्केकाहरू व्यावसायिक योजना बनाएर काम गर्न थालेको स्थानीय शिक्षक ध्रुव बस्नेतले बताए । “व्यावसायीकरणले स्थानीयको जीवनस्तर राम्रो भएको छ । तरकारीखेती विस्तार हुँदै गएपछि मकैबारी अब तरकारीबारीमा परिणत भएको छ,” उनले भने ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :