रेमिट्यान्सले पशुपालन

यो समाचार 237 पटक पढिएको

चितवन, २ असार/ खेती किसान गर्ने परिवारका उनी रामचन्द्र र धनमायाका कइँला छोरा हुन् । ०४४ सालमा एसएलसी परीक्षा दिएर चार वर्षसम्म काठमाडौंको महर्षि आश्रम वेद विज्ञान विद्यापीठमा संस्कृत व्याकरण पढ्न गएपछि उनी व्यावसायिक जीवनतर्फ उम्मुख भएका थिए । संस्कृत पढेर मानसम्मान पाइँदैन भन्ने लागेपछि उनी खलासी हुँदै ड्राइभर पेसामा लागे । तर, यसमा झनै अपहेलित भएको उनी बताउँछन् । त्यसपछि गाईपालनमा होमिने विचार गरे ।

रेमिट्यान्सले पशुपालन

‘परिश्रमी मन, जोस, जाँगर, आँट, साहस र धैर्यताले नै मेरो जीवनमा कायापलट गरिदिएको हो,’ चितवनको भरतपुर शरदपुरका शिवलाल कँडेल गौरवसाथ भन्छन्, ‘जुन व्यवसायबाट कंगाल भएँ, फेरि त्यही व्यवसायमा स्थापित भएको छु ।’


०५३ सालमा उनले १० वटा होलइस्टेन र वर्णशंकर जातका गाई पालेर व्यवसाय सुरु गरे । कृषि विकास बैंकबाट दुई लाख र गाउँघर छिमेकीबाट पाँच लाख लगानी गरी यो व्यवसाय सुरु गरेका थिए कँडेलले । ‘दैनिक एक सय २० लिटर दूध उत्पादन गरी सुरुका केही समय राम्रै आम्दानी गर्न सफल भएँ,’ उनी बताउँछन्, ‘१० वर्षे जनयुद्धसँगै मेरो व्यवसाय सुरु भएको थियो । कृष्णभिरमा निरन्तर रूपमा पहिरो जाने क्रम पनि त्यही समयमा सुरु भयो । अनि आयो मेरो विपत्का दिन । कहिले दुधको भाउ नपाउने त कहिले मिल्क होलिडे सुरु हुने भयो ।

गाईले मनग्गे दूध दिए पनि बजार नपाउँदा म समस्यामा परेँ । पैतृक सम्पत्ति बेचेर ऋण तिर्न बाध्य भएँ । अनि प्लास्टिक टिप्नुबाहेक अरू केही विकल्प मसँग थिएन । तर, पनि हरेस खाइनँ र फेरि आँट गरेँ, अर्को योजनाका साथ काम गर्ने । साथीभाइले विदेशमा गएर राम्रै कमाइ गरेको मैले देखेको थिएँ । म विदेश जान उत्प्रेरित भएँ । कारण, मसँग गाडी चलाउने सीप थियो । ७० हजार ऋण काढेर कतार हान्निएँ ।’

कतारस्थित केलिब्रिस कम्पनीमा अप्रेटर पदमा जागिर खाँदा उनको मासिक तलब एक लाख रुपैयाँभन्दा बढी थियो । ‘सुरुका तीन महिना १२ हजारमा काम गरेँ, मैले राम्रोसँग काम गर्न थालेपछि कम्पनीले तलब बढाएर एक लाख पुर्‍याएको थियो । ०५८ सालमा ७० हजार ऋण काढेर ड्राइभर भिसामा कतार गएको थिएँ । आठ वर्षसम्म त्यहीँ काम गरेँ । अनि बिस्तारै मेरा दिन फिर्दै गए । मैले एक करोडजति कमाएँ,’ उनले भने ।

कमाइबाट उनले ऋण तिरे । छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाए । भरतपुरमा जग्गा किनेर घर बनाए । त्यसपछि नेपाल आए र उद्यम सुरु गरे । ०६७ सालमा उनी देश फर्किए । चितवनमा कुदाउने गरी रातो म्याजिक गाडी किने । ड्राइभर राखेर केही समय चलाउन लगाए । तर, सोचेअनुसार उपलब्धि भएन । अनि ट्रयाक्टर किने पाँच लाखमा, सेकेन्ड ह्यान्डमा । यसबाट पनि उनी सन्तुष्ट भएनन् । ‘पल्सर बाइक किनेँ । आफैँ कुदाउन भनेर केही समयका लागि कार पनि किनेँ । मनमा फेरि गाईपालन गर्ने सोच बिस्तारै पलाउन थाल्यो । अन्ततस् यसमै लागँे,’ उनले भने ।

अघिल्लोपटक देशकाल परिस्थिति नमिल्दा गाईपालनबाट उँभो लाग्न नसकेको उनको ठम्याइ थियो । ‘त्यसपछि मैले कँडेल गौशाला डेरी फर्म खोलेँ । लगानी गर्न सक्ने हो भने आम्दानी पनि राम्रै हुने देखेको थिएँ । त्यतिखेरको मेरो सोचाइ सही रहेछ भन्ने अहिले पुष्टि भएको छ,’ उनी भन्छन् ।

गाईपालनबाट राम्रै आम्दानी गरेका छन् उनले । सुरुमा दुईवटा गाई र एउटा भैँसी किनेर व्यवसाय सुरु गरे । राम्रै होलाजस्तो भयो । सरकारले पनि युवा उद्यमीलाई अनुदान दिएर यस्ता काममा लाग्न प्रोत्साहन गर्न थाल्यो । ०६९ सालमा १२ वटा दुहुनु गाई र एउटा भंँसी किने १५ लाखमा । १० कठ्ठा जग्गा भाडामा लिएर व्यवस्थित रूपमा व्यवसाय गर्न थाले । अहिले उनको व्यवसायले प्रगति गरिरहेको छ ।

‘बिदेसिनु मेरो रहर नभई बाध्यता थियो । तर, विदेशमा बसेर पैसा मात्रै कमाउँदा म सन्तुष्ट भइनँ । आफ्नै देशमा फर्केर केही गरौँ भन्ने इच्छा जाग्यो । त्यहाँ रहँदा राम्रै पैसा कमाइयो, तर त्यतिले मात्रै मन भरिएन र स्वदेश फर्किएँ । राम्रो जागिर छाडेर फर्केकोमा मलाई पछुतो छैन । जुन आनन्द विदेशमा थियो, त्योभन्दा बढी सन्तुष्टि अहिले यहाँ मिलेको छ । परिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा मन गद्गद हुन्छ,’ उनी भन्छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :