गुणस्तरहीन राहत सामग्री नष्ट गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

यो समाचार 238 पटक पढिएको

काठमाडौं, १ असार / सरकारले भूकम्पपीडितको राहतका लागि स्वदेशी तथा विदेशी दातृ निकायहरुबाट प्राप्त गुणस्तरहीन खाद्य सामग्री नष्ट गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको छ ।

Food-2राहतको खाद्य सामाग्री उपयोग गर्दा भुकम्पपीडितहरु धमाधम विरामी पर्न थालेको गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार यस्तो निर्देशन दिएको हो । राहतस्वरुप प्राप्त खाद्य तथा पेयपदार्थको उपभोग मिति समाप्त भएको, कुहिएको, उत्पादन तथा उपभोग मितिलगायतका सूचना उल्लेख नगरिएका न्यून गुणस्तरका भएकोले जनस्वास्थ्यमा नकारात्मक असर परेको मन्त्रिपरिषद कार्यालयका सविच शान्तराज सुवेदीले बताएका छन् ।

उनले राहतका रुपमा विवरित सामाग्रीको गुणस्तर तथा उपभोग मितिलगायतका विषयमा खाद्य तथा गुण नियन्त्रण विभागबाट भइरहेको काम कारवाहीबारेमा कृषि विकास मन्त्रालयका सचिव तथा सहसचिव, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकलगातसँगको छलफलपछि राहत सामग्रीको गुणस्तर परीक्षण एवं उपभोग गर्न योग्य भए नभएको परीक्षण गरेरमात्र वितरण गर्न र दोषीलाई प्रचलित कानून बमोजिम कारवाही गर्न निर्देशन दिएका हुन् ।

प्रशोधित पिउने पानी, विस्कुट, चाउचाउ, पाउरोटीलगायतका सुख्खा खानेकुरा एवं खानेतेल, चामल, पिठो, सुजी, दाल, चिनी, पाउडर दुधलगायतका खाद्य पदार्थहरु नेपाल सरकारले तोकेको गुणस्तरअनुरुप भए नभएको अनुगमन एवं परिक्षण मापदण्डअनुरुप नपाइएमा नष्ट गर्न र सम्बन्धित उद्योगलाई प्रचलित कानून बमोजिम कारवाही निर्देशन दिइएको छ ।

त्यस्तै खाद्य ऐन २०२३ अनुसार लिनुपर्ने अनुमति र इजाजतपत्र नलिई उत्पादन गरेको भएमा त्यस्ता उत्पादनमा रोक लगाउन र उत्पादकलाई कारवाही गर्न, उत्पादित खाद्य सामग्रीका बारेमा गुनासो आएका उद्योगहरुको उत्पादन परीक्षण र आकस्मिक निरीक्षण गर्न, तोकिएको गुणस्तर र मापदण्डअनुरुप नभएमा कारवाही गर्न पनि सचिव सुवेदीले निर्देशन दिएका छन् । विदेशबाट राहत सामग्रीका रुपमा वा नियमित प्रक्रियाअनुरुप आयात हुने खाद्य तथा पेय पदार्थको भन्सार नाकामै क्वारेन्टाइन एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परीक्षण गरी तोकिएको मापदण्ड र गुणस्तर भएमामात्र आयात गर्न इजाजत दिन, भुकम्पपीडितलाई राहतका रुपमा वितरण गर्न राष्टिय तथा अन्तराष्ट्रिय संघ संस्थामार्फत प्राप्त खाद्य तथा पेयपदार्थ नियमित परीक्षण गरेरमात्र वितरणको व्यवस्था मिलाउन पनि भनिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :