बाली विकासका लागि ५० लाख अनुदान

This post has already been read 281 times!

बर्दिया, ४ पौष :  सरकारले बाली विकास कार्यक्रमका लागि बर्दिया जिल्लामा ५० लाख अनुदानको व्यवस्था गरेको छ । कृषकलाई प्रोत्साहन स्वरुप सानो सहयोगका रुपमा अनुदान दिन लागिएको हो । विभिन्न आयोजना अन्तरगत उन्नत विउ वितरण, फार्म मेसीनरी, कृषक पाठशाला लगाएत विविध क्रियाकलापमा अनुदान रकम खर्च भईरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

राष्ट्रिय औधोगिक वाली विकासको केन्द्रिय कार्यक्रम अन्तरगत अभियानमुखि तेलहन वाली उत्पादन आयोजना संचालन गरिएको छ । आयोजनाको पकेट क्षेत्रका रुपमा राजापुर, पदनाहा, सानोश्री, ताराताल, बनीयाभार र बगनाहा गाविसमा ४ सय ५० हेक्टरमा विउ प्रतिस्थापन, ३ सय हेक्टरमा क्षेत्रविस्तार र ४० हेक्टरमा पचास प्रतिशत अनुदानमा विजबृद्धि कार्यक्रम संचालन गरिएको वाली विकास अधिकृत विनोद ज्ञवालीले बताए । उनका अनुसार बर्दियामा गतबर्ष १० हजार ३ सय ६० हेक्टरमा तोरी लगाईएकोमा यसवर्ष क्षेत्र विस्तार गरी १० हजार ५ सय हेक्टरमा लगाइएको छ । तोरी नगदे वाली भएकोले ३ महिनामै नगद आर्जन गर्न सकिने हुँदा कृषकहरुको आर्कषण बढ्दो छ ।
त्यसैगरी अभियानमुखि मसुरो पर्वद्धन कार्यक्रम अन्तरगत पकेट क्षेत्रका रुपमा रहेको सानोश्री र ताराताल गाविसमा १ सय ५० हेक्टरमा र महमदपुर, कालिका, मैनापोखर र जमुनीमा ९० हेक्टरमा उन्नत जातको विउ, स्प्रेयर्स पार्टस, त्रीपाल र मसुरो ग्रेडर यन्त्रमा पचास प्रतिशत अनुदानको व्यवस्था गरिएको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ । बर्दियामा गतबर्ष १७ हजार ७ सय हेक्टरमा मसुरो लगाएकोमा ०।५ मेट्रीकटन प्रतिहेक्टर उत्पादन भएको थियो भने यसबर्ष १८ हजार हेक्टरमा पु¥याउने लक्ष्य कृषि विकास कार्यालयको रहेको छ ।
भर्खरै मात्र जिल्लामा बाली विकास निर्देशनालयको कार्यक्रम अन्तगर्त अभियानमुखि मकै भट्टमास विकास आयोजना संचालन भईरहेको छ । आयोजना अन्तगर्त ३ सय हेक्टरमा हाईव्रिड मकैको विउमा अनुदानको व्यवस्था गरिएको बालि विकास अधिकृत ज्ञवालीले बताए । ‘कृषकलाई प्रोत्साहनको रुपमा अनुदान दिइएको हो ।’ उनले भने ‘सानो सहयोगले पनि परिश्रमी किसानलाई ठुलो राहत मिल्न सक्छ ।’