भूकम्पपीडितलाई चामलबाहेक राहत वितरण बन्द

यो समाचार 259 पटक पढिएको

काठमाडौं, ३२ जेठ / सरकारले भूकम्प तथा त्यसपछिको परकम्पबाट घर भत्केका क्षेत्रमा चामलबाहेक अन्य राहत सामग्री वितरण बन्द गरेको छ । भूकम्प प्रभावित जिल्लामा बस्नका साथै केही समय खानाका लागि सामग्री पुगिसकेकाले चामलबाहेक अन्य राहत सामग्री वितरण बन्द गरिएको हो ।

WFP RIceवाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका नेसनल ट्रेडिङ र नेपाल खाद्य संस्थानले भूकम्पपीडितलाई राहत सामग्री वितरण गर्दै आएका थिए । नेसनल ट्रेडिङको गोदाममा १ लाख त्रिपालमात्र बाँकी छ, त्यो पनि वितरण नगरी सरकारलाई बुझाउने तयारी भइरहेको छ । खाद्य संस्थानले भूकम्पबाट बढी प्रभावित जिल्लामा खाद्यान्नलगायत सामग्री पु¥याइसकेको छ । ४ जिल्लामा मात्र चामल पु¥याउन बाँकी छ । संस्थानले जिल्ला प्रशासन कार्यालयको मागबमोजिम राहत सामग्री पठाउने काम गर्छ ।

नेसनल ट्रेडिङका महाप्रबन्धक पूर्णशंकर बसीले भूकम्प प्रभावित सबै जिल्लामा आवश्यक राहत सामग्री पु¥याइसकेको बताए । “सरकारले माग गरेबमोजिम सम्पूर्ण ठाउँमा राहत सामग्री पु¥याइसकेको छ,” महाप्रबन्धक बसीले भने, “यहाँ १ लाख जति त्रिपाल मौज्दात छ, सबै ठाउँमा त्रिपाल पुगिसकेकाले मौज्दात त्रिपाल पनि बुधबारसम्म सरकारलाई बुझाइनेछ ।”

नेसनल ट्रेडिङका अनुसार ११ हजार ४८८ क्विन्टल चामल, २०९ क्विन्टल नुन, ३१७ क्विन्टल चिनी भूकम्पपीडितलाई वितरण भइसकेको छ । ३८ हजार २४ कार्टुन चाउचाउ, ३ हजार ८४७ क्विन्टल चिउरा, ३३ हजार १०२ कार्टुन बिस्कुट, ३ लाख ८० हजार ४६१ त्रिपाल र २६ हजार ७९७ केस पानी भूकम्प प्रभावित क्षेत्रमा पु¥याइसकेको छ । त्यस्तै गहुँ, प्याज, आलु, ब्ल्याङकेट, औषधि, दालमोठ, दूध र रोटीलगायत पनि वितरण भएको छ ।
खाद्य संस्थानसँग ३०० क्विन्टल चामल मौज्दात छ । संस्थानले चामल ४ जिल्लामा मात्र पु¥याउन बाँकी छ । बाग्लुङ, स्याङ्जा, पर्वत र पाल्पामात्र बाँकी छन् । “४ जिल्लामा चामल पठाइसकेपछि पहिलो चरणको राहत सामग्री वितरण सकिनेछ,” संस्थानका प्रवक्ता नवराज उपाध्यायले भने, “ती जिल्लामा राहत वितरण गर्न पोखरा र भैरहवा डिपोमा चामल पठाइसकिएको छ । त्यहाँबाट पनि वितरण छिट्टै सकिनेछ ।”

भूकम्पबाट बढी प्रभावित गोरखा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुरलगायत जिल्लामा राहत सामग्री पु¥याइसकेको संस्थानले जनाएको छ । “दोस्रो चरणमा सरकारले जुन क्षेत्रमा पठाउनुपर्छ भन्छ, त्यही मात्र पु¥याइनेछ,” उनले भने, “त्यसमा पनि चामलमात्र वितरण हुनेछ ।” संस्थानले २४ हजार ७८२ क्विन्टल चामल, ७३२ क्विन्टल नुन, ३१२ क्विन्टल चीनी, १ लाख ९ हजार कार्टुन चाउचाउ, ४४ हजार ६६० प्याकेट बिस्कुट र १३ हजार ५८४ त्रिपाल वितरण गरेको छ ।

मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेले भूकम्पपीडितलाई धेरै ठाउँमा राहत सामग्री पुगिसकेको बताए । जिल्लाबाट राहत सामग्री माग आउन कम भइसकेको छ । “सरकारले सधैं भूकम्पपीडित भनेर राहत सामग्री वितरण गर्न सक्दैन । तत्काल आवश्यक राहत सामग्री पुगिसकेको छ,” उनले भने । सरकारले अस्थायी रूपमा बस्नका लागि त्रिपाल वितरण गरेको छ । वर्षायामको अस्थायी घर निर्माणका लागि जस्तापाता खरिद गर्न भूकम्पपीडित प्रत्येक परिवारलाई १५ हजार रुपैयाँको दरले रकम वितरण सुरु गरिसकेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :