झापामा उनन्चालिस करोडको अदुवा उत्पादन

यो समाचार 216 पटक पढिएको

सुरुङ्गा (झापा) , ३२ जेठ / अदुवा बिक्रीबाट झापामा यस आर्थिक वर्षमा रु ३९ करोड ५६ लाख ७५ हजार भित्रिएको छ ।

कृषि विकास कार्यालयका अनुसार चार हजार ६५५ मेट्रिक टन GingerNews Agroनिर्यात भएसँगै उक्त रकम भित्रिएको हो । जिल्लाको ३५० हेक्टर क्षेत्रफलमा उत्पादन भएको अदुवा पूर्वी नाका काँकडभिट्टा हुँदै भारत निर्यात भएको हो । कृषि विकास कार्यालयका सूचना अधिकारी सालिकराम भट्टराईका अनुसार गत वर्ष जिल्लामा चार हजार ४८८ मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

“यो वर्ष मौसम राम्रो भएका कारण अदुवा उत्पादनमा वृद्धि भएको हो” उहाँले भन्नुभयो । सात ठाउँमा असल कृषि उत्पादन कृषक पाठशाला सञ्चालन गरेर कृषकलाई बीउबिजनसमेत निःशुल्क उपलब्ध गराएको भट्टराईले बताउनुभयो । खुदुनाबारी, डाँगीबारी, शान्तिनगर, बुधबारे, बाहुनडाँगी, मेचीनगर र पृथ्वीनगरमा सञ्चालित पाठशालाबाट तीन सय जना प्रशिक्षकसमेत तयार पारिएको छ ।

यहाँ उत्पादित अदुवामध्ये २० प्रतिशत बीउ र मसलाका रुपमा नेपालमा नै खपत हुने गरेको छ । बाँकी ८० प्रतिशत अदुवा भारत निर्यात हुने गरेको छ । राजमार्ग उत्तरका गाविसका कृषकले कपुरकोटे, वोसे, जिरे, मकवानपुरे र स्थानीय जातको अदुवाखेती गर्ने गरेका छन् ।

पूर्वमा ८० हजार मेट्रिक टन अदुवा उत्पादन हुने गरे पनि इलामपछि झापामा अदुवाको उत्पादन राम्रो हुने गरेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका प्रमुख तेजबहादुर सुवेदीले बताउनुभयो ।

झापाको धुलाबारीमा अदुवा प्रशोधन केन्द्र बन्दै

अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले झापाको धुलाबारीमा अदुवा प्रशोधन केन्द्रको निर्माण कार्य सुरु भएको छ । सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार सञ्चालनमा आउन लागेको उक्त अदुवा प्रशोधन केन्द्र (परियोजना)  का लागि विश्व व्यापार सङ्घठनले ११ लाख ७३ हजार ६९४ डलर खर्च गर्ने बताइएको छ । तीन वर्षभित्रमा परियोजनाको काम सम्पन्न गरी यहाँका कृषकलाई अदुवा उत्पादनमा सहभागी गराई स्वावलम्बी बनाउने अवधारणाअनुसार अहिले काम भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । परियोजना सञ्चालनमा आएपछि यहाँका दुई हजार मानिसले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ ।

परियोजनाअन्तर्गत किसानले उन्नत जातको बीउबिजन प्रयोग गरी अत्याधुनिक प्रविधिबाट अदुवा उत्पादन गर्ने छन् । परियोजनाले पछि परेका जातजाति र महिलालाई प्राथमिकता दिने बताइएको छ । परियोजनाको अर्को उद्देश्य अदुवाको अन्तर्राष्ट्रिय व्यापारलाई समेत प्रवद्र्धन गर्ने रहेको बताइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :