चिया बगानै झाडी बन्ने चिन्ता

यो समाचार 223 पटक पढिएको

पशुपतिनगर, ३२ जेठ/  सरकारले पर्याप्त रूपमा मल आपूर्तिको व्यवस्था मिलाउन नसक्दा इलामका बगानमा सिजनमै हरियो चिया उत्पादनमा कमी आएको छ । सरकारले मलको सहज व्यवस्था नमिलाई दिंदा र बजारमा समेत मल नपाइएकाले हरियोपत्ती उत्पादन घट्नुका साथै बगान नै झाडी बन्ने चिन्ता किसानलाई परेको छ ।

Tea Farmवर्षात्को मौसम शुरू हुनासाथ बगानमा मल लगाउनुपर्ने भए पनि बजारमा मल किन्न नपाएको किसानहरूले बताएका छन् । कृषि सामग्री संस्थानमार्फत सरकारले तराईको सीटीसी चियाका लागि मल व्यवस्था गरेको भए पनि पहाडको अर्थोडक्स चियाका लागि आवश्यक युरिया मल पर्याप्त व्यवस्था नगरेकाले धेरैजसो किसानको उत्पादन ओरालो लाग्न थालेको र चिया बगान झाडी बनेर बिग्रने अवस्था आएको बताउँछन् ।

विगतमा इलामका किसानले भारतको दार्जिलिङ मिरिकलगायतका शहरबाट आफैले मल ल्याएर पनि लगाउने गरेका थिए तर अहिले प्रहरी प्रशासनले भारतीय मल ल्याउन कडाइ गर्न थालेपछि किसानहरू समस्यामा परेका छन् । सरकारले २०६९ मा मल आपूर्ति तथा वितरण व्यवस्थापन कार्यविधि जारी गरी चिया किसानलाई मल नदिने भने पनि यो वर्षदेखि फेरि मल दिने भन्दै आएको थियो । यसअघि चियाबाहेकका खेतीका लागि पहाडमा १५ रोपनीमा र तराईमा चार हेक्टर जग्गा तथा किसानलाई मात्र मल उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

कृषि विकास कार्यालयका कृषि विकास अधिकृत प्रकाशकुमार डाँगी यो वर्षबाट सरकारले चियाका लागि पनि मल दिने बताएको जानकारी दिंदै भन्नुहुन्छ तर हामी सोझै किसानको हातमा मल दिंदैनौं हामी कृषि सामग्री संस्थानलाई सिफारिस गरिदिन्छौं, कति दिने हो उसैलाई मात्र थाहा हुन्छ ।

सरकारले जारी गरेको कार्यविधिमा संस्थानले जिल्लाका सहकारी संस्थाहरूलाई मल उपलब्ध गराएपछि सहकारीमार्फत किसानको हातमा मल पु¥याउने व्यवस्था गरेको छ । कृषि सामग्री संस्थानका निमित्त प्रमुख जीतबहादुर राई साना चिया किसानलाई कृषि विकास कार्यालयको सिफारिस जिल्लास्तरीय मल आपूर्ति समितिको निर्णय अनुसार उपलब्ध गराइने गरेको बताउनु हुन्छ तर असार लाग्नै लाग्दा पनि समितिको बैठक बस्न सकेको छैन ।

समितिको बैठक अब चाँडै राखिने बताउँदै राईले तर अहिले संस्थानमा पनि किसानलाई उपलब्ध गराउने मल नभएको बताउनुभयो । संस्थानले एक सय मेट्रिक टन मल मगाएको भए पनि अझै नआएको संस्थानका निमित्त प्रमुख राईले जानकारी दिनुभयो । चीन, भारत हुँदै कारखानामा प्याकिङ भएर आउने भएकाले ढिलो भएको र अब केही दिनमै मल आइपुग्ने बताउँदै राईले भन्नुभयो, अहिले हाम्रो भण्डारमा ७१ टन डीएपी, ११ टन पोटास, चार टन भर्मिकम्पोस्ट मल मात्र छ ।

इलाममा अग्र्यानिक चिया उत्पादनका लागि अभियान चलिरहेको भए पनि विगतमा रासायनिक मल प्रयोग भएको ठाउँमा एकैचोटि मल लगाउन बन्द गर्दा बगान बिग्रने केन्द्रीय चिया सहकारी संघले जनाएको छ । संघका अध्यक्ष गोविन्द दाहालले भन्नुभयो, इलामका चिया किसान अग्र्यानिक उत्पादनतिर गइरहेका छन् तर विगतमा रासायनिक मल प्रयोग गरेका किसानले एकैचोटि अग्र्यानिक गर्न सम्भव हुँदैन पनि । झापामा भने सीटीसी चियाका लागि चिया तथा कफी विकास बोर्डको विर्तामोडस्थित क्षेत्रीय कार्यालयले मल वितरण गर्दै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :