तरकारी खेतीले सफल बनायो धनकुमारीलाई

यो समाचार 264 पटक पढिएको

रत्ननगर (चितवन), ३१ जेठ । चितवनमा व्यावसायिक तरकारी खेती फस्टाउँदै गएको छ । केही समय अघिसम्म आफूले खाएर बचेको तरकारी मात्र बजार पु¥याउने स्थानीयहरु अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

Vegetablenewsagrocomपश्चिम चितवनकी धनकुमारी नेपाली पहिले आफ्नो घरको करेसामा मात्र तरकारी लगाउनुहुन्थ्यो । अहिले उहाँ १० कट्ठामा तरकारी खेती गर्नुहुन्छ । “घर यसैले चल्ने आम्दानी हुन थालेको छ” उहाँले भन्नुभयो । बारीमा भिन्डी, करेला, बोडी, लौकासहितका मौसमी तथा बेमौसमी तरकारी फलिरहेका छन् । श्रीमानसहित घरका अरु सदस्य पनि जागिर खोज्न छाडी तरकारी खेतीमै मेहनत गर्न थालेका छन् । “दुई महिनामै तरकारीबाट रु तीन लाख आम्दानी भयो” नेपालीले भन्नुभयो ।

रामपुरका किसान नरबहादुर गुरुङले सामूहिक तरकारी खेती थाल्नुभएको छ । उहाँले अन्य किसानसँग मिलेर दुई बिगाहामा खेती गर्नुभएको छ । भन्टा, लौका, खुर्सानी, गोलभँेडा, काँक्रा, करेलालगायतका तरकारीले उहाँले बारीमा लगाउनुभएको छ । यस्तै फूलबारीका किसान चन्द्रप्रसाद अधिकारीले सहकारीमार्फत स्थानीयस्तरमै मल, बीउ उत्पादन गरिरहनुभएको छ ।

पश्चिम चितवनको गीतानगर, पार्वतीपुर, गुन्जनगर, रामपुर, फूलबारीसहितका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने किसान बढ्दै गएका छन् । यसका लागि अनुदानसँगै सिँचाइ, मल, बीउ तथा अन्य प्राविधिक सहयोग बढाएकाले स्थानीय व्यावसायिक तरकारी खेतीमा आकर्षित भएको वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले बताउनुभयो । “धान रोपेपछि खाली भएका खेतबारीमा मात्र तरकारी रोपिन्थ्यो, तर अहिले धान रोप्न छाडेर किसानले तरकारी खेती गर्न थालेका छन्” घिमिरेको भनाइ छ । जिल्लामा यो वर्ष ६० जना किसानलाई छनोट गरी कृषि विकास कार्यालयले तरकारी खेतीका लागि रु ३६ लाख अनुदान रकम दिएको छ । जिल्लामा छ हजार २०० हेक्टर क्षेत्रमा तरकारी खेती हुँदै आएकोमा पछिल्लो समयमा तरकारी खेतीको क्षेत्रफल बढ्दै गएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :