भूकम्पको ‘आहात’ मा जुम्लाबासीको ‘राहत’

यो समाचार 159 पटक पढिएको

बालबालिकाले पनि सिमी दान गरे

काठमाडौं/ भोकमरी र अति विकट जिल्लाको उपनामले चिनिदैं आएको तिनै जुम्लाबासीले गरेको मुठिदानबाट ४० क्वीन्टल अर्गानिक पोषिलो सिमी संकलन भएको छ । सिमीको मुठिदानमा स्थानीय अभिभावक मात्रै होइन्, बिद्यालयमा पढ्ने स साना बालबालिकाले पनि सक्दो सहयोग गरे । हो, यो त्यही जुम्लाबासीले गरेर देखाइदिएका छन् । जसलाई राज्यले सधै उपेक्षितको दृष्टिकोणले हेर्दैआएका छन् । यो कार्यले प्रमाणित गरेको छ, जुम्लाका जनता अब परनिर्भर छैनन् । उनीहरुको मन सानो छैन् । उनीहरु पनि आफ्ना खेतवारीमा फलेको खाद्यान्नबाट अरुको आहतमा मलहम लगाउन सक्षम छन् । चामल नभएपनि पोषिलो सिमीकै माध्यमबाट ।
Been 2 jumla

स्थानीय अभियानकर्ता किशोर न्योपानेका अनुसार जुम्ला जिल्लाको एक नगरपालिका र २२ वटा गाबिसका ३३ सय स्थानीय किसानले मुठिदानमा सिमी दान गरेका थिए । नहुनेले आधा किलोदेखि एक किलोसम्म र हुनेले ठूलो परिमाणमा सिमी उपलब्ध गराएका थिए । त्यतिमात्रै होइन्, जुम्लाको राँके गाबिसस्थित गणेश प्राथमिक बिद्यालयका बालबालिकाले ७० किलो, तातोपानी गाबिसस्थित हिमशिखर उच्च माध्यमिक बिद्यालयका बालबालिकाले ३६ किलोे, स्थानीय सरस्वती उच्च माध्यमिक बिद्यालयका बालबालिकाले एक सय ५० किलो, त्रिवेणीस्थित निम्न माध्यमिक बिद्यालयका बालबालिकाले ५५ किलो र तातोपानी गाबिसका प्रगतिशिल प्राथमिक बिद्यालयका बालबालिकाले ३५ किलो सिमी संकलन गरेर अभियानकर्ताहरुलाई जिम्मा लगाएका थिए । बालबालिकाले आफ्ना अभिभावकसँंग मुठी दान मागेका थिए ।

jumla 4

उनीहरुले भूकम्पीडितहरुलाई सहयोग गर्ने भनेर करिब साढे नौं लाख मूल्य बराबरको सिमी संकलन गरेर विभिन्न स्थानमा बितरणका लागि पठाएका छन् । स्थानीय अभियानकर्ता हरिहर न्योपानेका अनुसार यसरी संकलन भएका सिमी बुधबार राजधानीनजिकैको काभ्रेको कोशीदेशा गाबिस र खरेल थोक गाबिसका दुई सय ४० भूकम्पपीडित स्थानीय बासिन्दालाई बितरण गरिएको हो ।

jumla 2

‘मुलुक नै अहिले प्राकृतिक विपद्मा परेको बेला हामी जुम्लाबासी कसरी खुशी भएर खान सक्छौं,’ न्योपानेले भने, ‘थोरै परिमाणमा भएपनि स्थानीय सिमी नै राहतमा उपलब्ध गरायौं ।’ प्रत्येक घरपरिबारलाई तीन किलोका दरले सिमी बितरण गरिएको थियो । सिमी जुम्लाका किसानहरुको मुख्य आयश्रोत मानिन्छ । स्थानीय बासिन्दाले चार दिन लगाएर उक्त सिमी संकलन गरेका थिए । नभएकाहरुले बीउको लागि भनेर राखेको सिमी पनि उपलब्ध गराएका थिए । जुम्लाबासीले सिमी मात्रै होइन् । रैथाने जातका खाद्यान्नको परिकार बनाएर बिक्रि गरी त्यसवापत प्राप्त भएको ५५ हजार तथा संकलन गरिएको साढे ७१ लाख रुपैयाँं पनि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा बुझाएका छन् ।

jumla 3

जुम्लाबासीको यो समाजिक उत्तरदायित्वले अहिले सारा मुलुकबासीको मन जित्न सफल भएको छ । जुम्लाबासीले अर्को पनि उदाहरणीय काम गरेका छन् । त्यो बिना प्रचार गरेर नै अभियान थालेको । अभियानकर्ताले बिहिबार नुबाकोटको ११ सय परिबार र धादिङमा सात सय परिबारलाई पनि सिमीको प्याकेट बितरण गर्ने तयारी गरेको छ । न्यौपानेले भने,’यो भूकम्पपीडितका लागि राहतभन्दा पनि जुम्लीहरुको सद्भाव हो ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :