पकेट गाउँबाट करोडको सुन्तला निर्यात

यो समाचार 386 पटक पढिएको

बागलुङ, ४ पुस । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको जिल्लाको बिहुँ गाविसबाट करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । कुल ४७ हेक्टर क्षेत्रफलमा उत्पादन भएको करिब ९ सय मेट्रिकटन सुन्तलाबाट कृषकले करोडौँ रुपैयाँ गाउँ भित्र्याएका छन् । व्यापारीको कृषकबाट प्रतिकेजी ३० रुपैयाँमा सुन्ताला खरिद गर्ने गरेका छन् ।

जिल्लाको अन्य क्षेत्रमा भन्दा बिहु गाविसमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि कारोबार पनि बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

Orange In Iree

बिहु गाविसमा रहेका १४ हजार ३ सय सुन्तलताका बोटमध्ये पाँच हजार ३५४ बोटमा यो वर्ष सुुन्तला फलेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताउनुभयो । एउटै बोटमा कम्तीमा ५० केजीदेखि पाँच क्विन्टलसम्म सुन्तला फल्ने गरेको बिहुका अगुवा कृषक बालानान्द कँडेलले बताउनुभयो ।

बोटमा अझै सुन्तला बाँकी रहेकोले बिक्री अझै बढ्ने कुषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गाविसभरिमा आठ हजार ९५८ नयाँ बिरुवा हुर्कंदै गरेका छन् । सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवन जस्ता ठूला सहरबाट पनि व्यापारी कृषकको घरमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय कृषकले सुन्तलाको बगैँचा नै एकमुष्ठरूपमा ठेक्कामा दिने गरेको अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

व्यापारीले कृषकबाट प्रतिकेजी ३० रुपैयाँमा सुन्तला खरिद गर्ने गरेका छन् । बिहुको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिम लगायतका ठाउँका कृषकले व्यावसायिक रुपमै सुन्तला खेती गर्दै आएका छन् ।

 

“एउटै घरबाट सय क्विन्टलभन्दा बढी सुन्तला बिक्री हुने गरेको छ”–अधिकृत अधिकारीले भन्नुभयो–“न्यूनतम ५० हजारदेखि पाँच लाखसम्मको सुन्तला एउटै घरबाट बिक्री हुने गरेको छ ।” बिहु–२ किम्बोटका कृषक लोकनाथ कँडेलले आफ्नो सुन्तला बगैँचा रु। तीन लाखको ठेक्कामा बिक्री गरेको बताउनुभयो । कँडेलले बागलुङ बजारका व्यापारी लीला कँडेललाई बोटसँगै सुन्तला ठेक्का दिनुभएको हो ।

त्यस्तै किम्बोटकै अर्का अगुवा कृषक बालानन्द कँडेलले सय क्विन्टल जवित सुन्तला काठमाडौँका व्यापारीले खरिद गरेको बताउनुभयो । बिहुँ हुँदै काठमाडौँ जाने सिधा बस सेवा सञ्चालन भएपछि सुन्तलाको बजारीकरणमा सहयोग पुगेको कृषक कँडेलको भनाइ छ ।

“घरमै आएर व्यापारीले सुन्तला किन्ने गरेका छन्, यो वर्ष मात्रै करिब सवा तीन लाखको सुन्तला बेचियो”– कँडेलले भन्नुभयो । यो वर्ष बिहुँमा सुन्तलाको उत्पादन बढेपछि कृषक हौसिएका छन् । बेमौसममा पनि सुन्तला बेच्नका लागि कृषकहरूकै अगुवाइमा गाउँमै भण्डारण केन्द्र सञ्चालनमा ल्याइएको छ । अहिले प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको सुन्तला चैत वैशाखमा ८० रुपैयाँसम्ममा बेच्ने गरेको कृषकले बताएका छन् ।

सुन्तलाका लागि बागलुङको भकुण्डे, बिहु, जैदी, छिस्ती, हरिचौर, दमेक नरेठाँटी लगायतका २० वटा गाविसहरू पकेट क्षेत्र मानिन्छ । यो वर्ष जिल्लामा एक हजार ८ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि कार्यालयले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :