उत्पादन घट्दा अन्डाको भाउ आकासिँदै

This post has already been read 136 times!

चितवन, ३ पुस । अन्डा पार्ने कुखुरा उत्पादनमा आएको कमीले चिवतनमा अन्डाको भाउ आकासिँदै गएको छ । बर्डफ्लुले यो वर्षको सुरुवातदेखि नै व्यवसायीले अन्डा उत्पादन गर्ने कुखुरामा लगानी नगरेपछि अहिले अन्डाको भाउ आकासिन पुगेको हो । अहिले उपभोक्ता प्रतिगोटा १२ सम्ममा अन्डा खरिद गर्न बाध्य भएका छन् । ३० वटा अन्डा रहने एक क्रेट खरिद गर्दा उपभोक्तालाई व्यवसायीले ३ सय ३० सम्म लिँदै आएका छन् । रत्ननगरका एक व्यापारी सन्दीप श्रेष्ठले महिनै पिच्छे अन्डाको भाउ बढ्दै गएको बताउनुभयो ।

अहिले करिब ३० प्रतिशतले अन्डाको भाउ वृद्धि भइसकेको उपभोक्ताले बताएका छन् । वैशाख, जेठ ताका रु सातदेखि आठ प्रतिगोटा रहेको अन्डा अहिले १२

egg

पुगेकाले आफूहरू मारमा परेको उनीहरूको गुनासो छ । गएको चैतबाट यहाँका कुखुरामा बर्डफ्लु देखिएकामा त्यसको केही महिनाको अन्तरालमा १५ वटा फर्ममा फैलिएको थियो । जसमा लाखौँ कुखुरा मार्नु परेको थियो तर अहिले सङ्क्रमण नभएकाले उत्पादनमा वृद्धि भइरहेको उवासङ्घ चितवनका अध्यक्षसमेत रहनुभएका डा भट्टराईले बताउनुभयो ।

अहिले जिल्लामा कुल ३० प्रतिशत उत्पादन ह्रास रहेको र माग बढी भएकाले भाउमासमेत वृद्धि भएको डा भट्टराईले बताउनुभयो । चितवनलाई नेपालमै कुखुराको राजधानीका रूपमा लिइन्छ ।

साविकको उत्पादन नभएसम्म अन्डा र चल्लाको भाउ घट्न नसक्ने व्यवसायीले बताएका छन् । व्यवसायीले नष्ट हुने डरले माउ कुखुरासमेत मासुकैरूपमा बिक्री गरेका थिए । जसका कारण अहिले अन्डा पार्ने माउ कुखुराको अभाव भएको हो । रासस