माछापालनमा आधुनिकीकरण अभियान

यो समाचार 204 पटक पढिएको

विराटनगर,  भारतीय माछा प्रतिस्थापन गर्न र स्वदेशी उत्पादन बढाउन मोरङमा सुरु गरिएको माछापालनमा आधुनिकीकरण अभियान प्रभावकारी बनेको छ। परम्परागत तरिकाबाट गरिने माछापालनलाई आधुनिकीकरण गर्ने अभियानमा किसानसमेत आकर्षित बनेका छन्। यो अभियानबाट माछा उत्पादनसमेत वृद्धि भएको छ।Fish

जिल्ला कृषि विकास कार्यालय मोरङले माछापालन अभियानलाई प्रभावकारी रूपमा अघि बढाएपछि किसान आधुनिक तरिकाले माछापालन गर्न आकर्षित भएका हुन्। कार्यालयकी मत्स्य विकास अधिकृत नेलसन पोख्र्रेलले राष्ट्रिय अभियानअन्तर्गत जिल्लामा अहिले तेस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएकी छन्।

दुई वर्षअघि सुरु भएको कार्यक्रमअन्तर्गत सार्वजनिक पोखरी निर्माण, इँटाभट्टा सुदृढीकरण र खाल्डाखुल्डी मर्मतजस्ता कार्यक्रम भएका छन्। अधिकृत पोख्र्रेलले भनिन्, ‘चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा पाँचपाँच हेक्टर क्षेत्रमा नयाँ पोखरी खनाउने र पुराना मर्मत गर्ने काम सम्पन्न भइसेको छ।’

कार्यक्रमअन्तर्गत पहिलो चरणमा पोखरीको क्षेत्र विस्तार गर्ने, दोस्रो चरणमा यान्त्रीकरण गर्ने र तेस्रो चरणमा कार्यान्वयन पक्षलाई हेर्ने जस्ता कार्यक्रम समेटिएको अधिकृत पोख्र्रेलले जानकारी दिइन्। पूर्वी नेपालको सम्पूर्ण बजार भारतबाट आयात हुने माछामा निर्भर छन्।

स्थानीय उत्पादनले मात्र यहाँको माग थेग्न सक्ने अवस्था छैन। पूर्वमा भारतको कोलकाता र आन्द्र प्रदेशबाट बरफमा राखेर माछा ल्याइन्छ।

क्वारेन्टाइन कार्यालयका अनुसार अघिल्लो वर्ष विराटनगरमा मात्रै भारतबाट २५ मेट्रिकटन माछा आयात भएको थियो। विराटनगरमा सिराहा, रानी र भन्टाबारी नाकाबाट माछा ल्याइन्छ।

सरकारले व्यावसायिक माछापालन गर्ने किसानलाई एक लाख रुपैयाँसम्म अनुदान दिने कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। यो कार्यक्रममा सहभागी हुन आह्नान गर्दै मोरङमा पनि सूचना गरिएको छ।

दैनिक ठूलो संख्यामा किसान सुविधा लिन कृषि कार्यालयमा निवेदन दर्ता गराइरहेका छन्। सूचनाको म्याद मंसिर अन्तिम सातासम्मका लागि तोकिएको कृषि कार्यालयका मत्स्य विकास अधिकृत हुकुमलाल सिंहले जानकारी दिएका छन्। उनले भने, ‘माछापालक किसानहरूको घुइँचो लागिरहेको छ।’

मझारेका माछापालक किसान सुगारत मण्डलले ६ महिनाअघि पोखरीमा अक्सिजन दिने मेसिन जाडन गरे। डेढ बिघा जमिनमा पोखरी खनाएर माछापालन गरिरहेका उनी मेसिनबाटै माछालाई अक्सिजन दिन्छन्।

‘पहिले त ठूलो लगानी गर्न द्विविधा भयो कृषि कार्यालयसँग सरसल्लाह गरेर मात्र काम अगाडि बढाएँ’, उनले भने, ‘तर, मैले लगानी गरेको ६ महिनामै प्रतिफल भने राम्रै पाएँ।’

मोरङमा पोखरीको कुल जलासय क्षेत्र चार सय ९० हेक्टर छ। पोखरीको संख्या दुई हजार पाँच सय ३४ छ।

जिल्लामा बर्सेनि एक हजार सात सय १५ मेट्रिकटन माछा उत्पादन हुन्छ। सरदर प्रतिहेक्टर तीन दशमलब पाँच मेट्रिकटन उत्पादन हुने गरेको छ। मत्स्य विकास अधिकृत पोख्र्रेल भन्छिन्, ‘स्थानीय उत्पादनले सबै माग पूरा नगरे पनि मोरङमा माछा उत्पादन बढ्न सुरु भइसक्यो।’

उनका अनुसार मोरङमा राहु, नैनी, भाकुर, कम, बिगहेड, सिलभर र ग्रासकाप प्रजातिका माछापालन भइरहेको छ। केही किसानले नयाँ प्रजातिको पंगास माछापालन पनि सुरु गरेका छन्। यो प्रजातिको माछाको व्यावसायिक पालन भियतनामबाट सुरु भएको हो।

अभियानमुखी मत्स्य उत्पादन कार्यक्रमलाई देशका २५ भन्दा धेरै जिल्लामा लागू गरेर विविध कार्यक्रम सञ्चालन गरिरहेको छ। स्थानीय उत्पादन बढे मात्र भारतबाट आउने माछा प्रतिस्थापन गर्ने पोख्र्रेलको भनाइ छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :