तरकारी खेती हेर्न हाकिम आउँछन्

यो समाचार 261 पटक पढिएको

विराटनगर,  बलबहादुर मगर ६२ वर्षको भए। खेती किसानी गरेरै जीवन बित्न लाग्यो। पहाड घर धनकुटा भीरगाउँमा पनि खेतीपाती गरिन्थ्यो। यता तराई झरेपछि पनि यही पेसालाई निरन्तरता दिइरहेको छु। बसाइ विराटनगरमा छ। यता झरेको १५ वर्ष लाग्यो।

हिजोआज भने मोरङको कटहरीमा गरेको तरकारी खेतीमा मेरो दिनचर्या बितिरहेको छ। बिहान उठेदेखि नै खेतको काममा व्यस्त हुन्छु। जेठो छोरा खेमबहादुरले यहाँ ८ बिघा जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका छन्। खनजोत गर्ने, बिरुवा लगाउने, पानी र मलखाद हाल्ने, गोडमेल गर्ने, मजदुरलाई खटनपटन गर्ने सबै मेरै जिम्मा हो।

kisan

 

तराईको खेती लगाउने तरिका पहाडको भन्दा अलि फरक रहेछ। पहाडको माटोमा रमेका हामीलाई यताको माटो बुझ्न पनि समय लाग्ने रहेछ। उता त निकै फुरफुराउँदो माटो हुन्छ, यहाँको जस्तो कडा हुन्न। भदौ महिनामा जग्गा भाडामा लिएर खेती सुरु गर्दा धानखेत लगाएको माटोका चप्परी उप्काउन निकै गाह्रो भयो। कुखुराको सुलीको मल निकै खन्याउनुपर्‍यो। खरानी हालेर बाँधिएको माटो फुकाउने जुक्ति पनि लगाएँ। अहिले पहिलो बाली भएकाले पनि होला, केही कठिन भएको तर दोस्रो बालीबाट निकै राम्रो होला भन्ने आशा छ।

म बिहानै विराटनगर बरगाछीस्थित घरबाट यता खेततिर आउँछु। कुटोकोदालो यतै हुन्छन्। मजदुरसँगै आफू पनि काममा लाग्छु। खेतमा अहिले बैगुन, टमाटर, भिन्डी, तिते करेला जातका तरकारी लगाएको छु। मैले पहाडबाटै ल्याएको अकबरे खोर्सानीका बेर्ना पनि लगाएको छु। राम्रो फस्टाएको छ। तराईमा पनि राम्रै फल्छ अकबरे। यसको मूल्य पनि धेरै नै पर्छ।

जमिन प्रतिबिघा ३५ हजार प्रतिवर्षका दरले भाडामा लिएको हो। यहाँ घेराबार गर्ने काम पनि गरिरहेको छु। पहिलो उत्पादन भने बजारसम्म लग्ने काम भइसक्यो। आफ्नै भ्यान गाडीमा विराटनगरको गुद्री बजारसम्म बिक्री गर्न छोराले नै लैजान्छ। उसले बजारमा बिक्री गर्ने कामदेखि खेतमा चाहिने सबै सरसमान जुटाइदिन्छ।

बैगुन र रायो साग त यो सिजनमा प्रशस्तै बिक्री गरियो। बैगुन ५५ रुपैयाँ केजीसम्ममा बिक्री भयो। अहिले पनि माग घटेको छैन। हामीले तरकारी उत्पादन गर्दा विषादीको प्रयोग गरेका छैनौं।

सकेसम्म घरायसी औषधि नै छर्ने भन्ने प्रयास गरेका छौं। गोबर मल, खरानी र कुखुराको सुली नै धेरै हालेका छौं। भिन्डी पनि राम्ररी फस्टाएको छ। यसले राम्रो आम्दानी दिन्छ भन्ने आशा छ। मैले लगाएको तरकारी खेती हेर्न धेरै मानिस आउँछन्। कति त अफिसका हाकिम पनि आउँछन्। सरकारी निकायबाट भने सहयोग पाएको छैन। छोराले विदेशमा कमाएको पैसा नै लगानी गरिरहेको छ। पाँच लाख रुपैयाँ लगानी भइसक्यो। यहीं बंगुर र माछा पाल्न पोखरी खनाउने योजना छ। अहिले सागसब्जीको माग पनि राम्रो छ। बजारमा लगिनसक्दै बिक्री हुन्छ।

तरकारी खेतीमा परिवार नै लागिएको छ। एकजना हेरालु राखेको छु। दिनहुँ १२ जनासम्म श्रमिक लगाइन्छ। पानी भने बोरिङ गरेर हालिन्छ। जेठी बुहारीले पनि भ्याएको बेलामा समय दिन्छिन्। छोराले विदेशमा कमाए
को पैसा यहाँ लगानी गरेको छ। अझै राम्रो हुन्छ भन्ने लागेको छ।

खेतीपाती गर्नेहरू घटे पनि मलाई चाहिं यसमै रमाइलो लाग्छ। खेती गरेर पनि परिवार पाल्न र जीवन धान्न सकिन्छ। मेरा दुई छोरा विदेशमै छन्। जेठोले चाहिं उताबाट आएर खेतीकिसानी नै गर्न मन परायो। मेरो इच्छा पनि यही हो। खेतमा मेहनत गरेर पसिना बगाउँदा पैसा पनि मनग्यै कमाइ हुन्छ। सानोतिनो मेहनतले भने पार लगाउन सकिँदैन।

अन्नपूर्ण पोष्टबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :