विषादी न्यूनीकरणका लागि के गर्नुपर्ला ?

यो समाचार 208 पटक पढिएको

बालीलाई चरा, मुसा, कीरा र रोगबाट बचाउन विषादीको प्रयोग आफैंमा महत्वपूर्ण छ । तर, नेपालमा हानिकारक विषादीको अव्यवस्थित प्रयोगले मानव स्वास्थ्य जोखिममा पर्दै आएको तथ्यहरूले प्रमाणित गरिसकेका छन् । पछिल्लो आधा दशकयता नेपालमा विषादीको आयातमा भएको उल्लेख्य वृद्धिले दिनानुदिन कृषि उत्पादनमा विषादीको प्रयोग वृद्धि भएको पुष्टि गरेको छ ।
नेपालमा तरकारी, खाद्यान्न, फलफूललगायतका बाली उत्पादनको क्रममा प्रयाग गरिने अधिकांश विषादी भारतबाट आयात गरिन्छ । बाली संरक्षण निर्देशनालयको तथ्यांकअनुसार गतवर्ष मात्र ३ सय ४५ मेट्रिक टन९मेटन० विषादी नेपाल भित्रेको थियो । विषादी प्रयोगको अवस्थालाई हेर्दा देशभर आयातीतमध्ये ८५ प्रतिशतभन्दा बढी विषादी तरकारी बालीमा मात्र प्रयोग गरिने निर्देशनालयले जनाएको छ । कतिपय जिल्लामा भने तरकारी बालीमा उपयोग हुने विषादिको हिस्सा ९० प्रतिशतभन्दा बढी रहेको निर्देशनालयले जनाएको छ ।
विषादीको प्रयोग आफैंमा आवश्यक रहे पनि अव्यवस्थित प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको तर्क सरकारी अधिकारीको छ । विषादी प्रयोगको गाम्भीर्यतालाई हेरेर सरकारले मंगलबारदेखि विषादी प्रयोगमुक्त सप्ताह मनाउन सुरु गरेएको छ । नेपालमा पहिलो पटक यो दिवस मनाउन थालिएको हो । सन् १९८४ को डिसेम्बर ३ मा भारतको भोपालमा विषादी चुहावटको कारण भएको असरले २० हजार मानिसको मृत्यु भएको र ५ लाखभन्दा बढी घाइते भएको घटनालाई स्मरण गर्दै पेस्टिसाइड एक्सन नेटवर्क ९प्यान० ले डिसेम्बर २ लाई विषादी प्रयोग मुक्त दिवसको रूपमा मनाउन सुरु गरेको हो ।
एकातिर विषादीको प्रयोग बढ्दो दरमा छ भने अर्कोतिर यसको प्रयोगसमेत अव्यस्थित हुँदै गइरहेको छ । नेपालमा विषादी प्रयोगलाई नियन्त्रण गर्नु अत्यावश्यक जस्तो भएकामा सबैको एक मत छ । तर, यसलाई न्यूनीकरण गर्न प्रभावकारी कार्यक्रम भने अझै सञ्चालन हुन सकेको छैन । विषादी प्रयोगमुक्त सप्ताहको सन्दर्भमा सरोकारवालासँग कारोबारले गरेको बहसलाई यहाँ प्रस्तुत गरिएको छ ।
Pest
प्राकृतिक विषादीको उत्पादन र उपयोगलाई प्रोत्साहन गर्नुपर्छ
डिल्लीराम शर्मा
कार्यक्रम निर्देशक, बाली संरक्षण निर्देशनालय
नेपालमा खपत हुने कुल विषादीको ८५ प्रतिशतभन्दा बढी हिस्सा तरकारीमा खपत हुने गरेको तथ्य छ । गतवर्षको आयातको तथ्यांकअनुसार ३८ करोड मूल्यबराबरको ३ सय ४५ मेट्रिक टन विषादी नेपाल भित्रिएको पाइएको छ । कुल आयातीत विषादीमध्ये ३३।२५ प्रतिशत कीटनाशक विषादी छन् । त्यसैगरी रोगनाशक ४८।३४, झारनासक १५।५ र अन्य २।८ प्रतिशत विषादी आयात भएको देखिन्छ ।
पछिल्लो ५ वर्षयता नेपालमा व्यावसायिक तरकारी खेती गर्नेको संख्या वृद्धि भएका कारण विषादीको प्रयोग उल्लेख्य बढेको हो । कीरा, रोग, झारपात, मुसा, चरा आदिबाट बालीको संरक्षण गर्न विषादी प्रयोग गर्नु आवश्यक कुरा हो, तर नेपाली कृषकहरूमा चेतनाको अभावले ममस्या देखिएको छ ।
जापान, कोरियाजस्ता मुलुकमा प्रतिहेक्टर १२ देखि १५ किलो विषादी प्रयोगको तुलनामा नेपालमा १ सय ४२ ग्राम मात्र छ । यसरी हेर्दा नेपालमा अन्य मुलुकको तुलनामा कम मात्रामा विषादी प्रयोग गरिए पनि प्रयोग व्यवस्थित रूपमा नगरेका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।
विषादीले मानव स्वास्थ्यमा पारेको असरप्रति हामी सचेत छौं । सरकारले बर्सेनि कार्यक्रमहरूसमेत सञ्चालन गरेको छ । तर पछिल्लो समयमा विषादीको प्रयोग बढ्न थालेपछि यससम्बन्धी कार्यक्रमहरू थप गर्नुपर्ने महसुस गरिएको छ । रासायनिक विषादी प्रयोगको तरिका मात्र मिले पनि यसबाट हुने जोखिम ५० प्रतिशत कम हुने देखिन्छ, तर तरिका सिकाउने कृषि प्रसारको कार्यक्रम प्रत्यक्षरूपमा १५ प्रतिशत कृषककहाँ मात्र पुगेको छ । यसलाई बढाएर न्यूनीकरण गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ ।

कृषक–उपभोक्ता दुवै सजग हुनुपर्छ
विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै यसको प्रयोगको तरिकाबारे चेतना जगाउन नेपालमा विषादी प्रयोगमुक्त दिवस मनाउन सुरु गरिएको छ । मंगलबार प्रभातभेरी कार्यक्रम गरेर सुरु गरेका छौं । अब मानवअधिकार दिवस १० डिसेम्बरसम्म प्रचार–प्रसारलाई विशेष प्राथमिकता दिएर विभिन्न कार्यक्रम सञ्चालनमा गरिने छन् । साथै वार्षिक रूपमा कृषक सचेतनाका कार्यक्रमहरू थप गर्दै लैजाने छौं । कृषकहरूले कृषि प्राविधिकसंगभन्दा पनि करिव ३ हजारको संख्यामा रहेका औषधि बिक्री गर्ने एग्रोभेटहरूको सल्लाहबमोजिम विषादी खरिद गरेको पाइन्छ । आगामी वर्षदेखि एग्रोभेटलाई समेत सचेत बनाउन कार्यक्रम सञ्चालनमा ल्याउनेछौं । जैविक विषादीको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने खालका कार्याक्रमसमेत सञ्चालनमा ल्याएर सचेतना अभियान अगाडि बढाउने हाम्रो लक्ष छ । यसतर्फ कृषक, उपभोक्ता, सञ्चारकर्मी सबैको उत्तिकै ध्यान जाओस् भन्ने अनुरोध गर्न चाहन्छु ।

जीवनप्रभा लामा
महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
विशेषगरी तरकारीजन्य उत्पादनमा विषादीको प्रयोग निकै चुनौतीको रूपमा देखिएको छ । हामीले केही समयअघि तरकारीमा विषादीको प्रयोगको स्थितिका विषयमा अनुसन्धानसमेत गरेका थियौं । अनुसन्धानको क्रममा नेपाल सरकारले प्रयोगमा प्रतिबन्ध लगाएका विषादीको मात्रासमेत भेटिएको थियो । बेमौसमी तरकारी उत्पादनको समयमा विषादीको प्रयोग बढी भएको अध्ययनले देखाएको छ । यो निकै गम्भीर विषय हो । यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ ।
उत्पादकले बारीमा विषादी छर्नेभन्दा पनि बजारमा उत्पादन लैजानु अगाडि विषादीमा डुबाएर बजार लाने गरेको पाइन्छ । यसो गर्दा तरकारी धेरै समय नविग्रले सोंचले विक्रेताले यसो गरेका हुन्छन्, जुन गर्न नहुने काम हो । छिटो बिग्रने भएकाले गोलभेडामा अझ बढी यस्तो विधि अपनाउने गरेको हामीले पाएका छौं । त्यसैगरी, कुन विषादी कुन तरकारीमा कसरी हाल्ने कुन फलफूलमा विषादीको प्रयोग कसरी गर्ने भन्ने विषयमा समेत ख्याल नगरी उत्पादकले जथाभावी विषादी प्रयोग गर्नाले पनि समस्या थपिँदै गएको छ ।
विषादी प्रयोगलाई न्यूनीकरण गर्न पहिलो कुरा त सचेतना नै हो । विषादी विक्रेतादेखि प्रयोगकर्ता र तरकारीजन्य वस्तु उपभोग गर्ने उपभोक्तासमेत यसको असरबारे सचेत रहन आवश्यक छ । आफूले बेचेको विषादी छरेको तरकारी खाँदा आफ्नै सन्तानलाई समेत असर गर्छ भन्ने विषयमा सचेत रहेर एग्रोभेट सञ्चालकले प्रतिवन्धित विषादी बेच्नु हुन्न र कृषकलाई पनि विषादी प्रयोगबारे सिकाउनुपर्छ । यसमा कृषक पनि सचेत हुनुपर्छ, कृषकले विषादी प्रयोगको तरिका राम्ररी बुझेर विषादी प्रयोग गरे यसको जोखिम कम हुन्छ ।
विषादी प्रयोग गरिएको तरकारी चिनेर प्रयोग गर्न उपभोक्ता पनि सचेत रहनुपर्छ । तरकारीलाई राम्ररी पखाल्दा, ताछ्दा र पकाउँदा विषादीको असर केही मात्रामा कम गर्न सकिन्छ । सबैभन्दा ठूलो कुरा यसको प्रयोगलाई सकेसम्म कम गर्नु र तरिका अपनाएर मात्र प्रयोग गर्नु हो ।

विषादी प्रयोगमा कृषकलाई चेतनशिल बनाउनुपर्छ
हरिनारायण वेल्बासे
निर्देशक–वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग
नेपालमा जति पनि कृषकहरू छन् सबैले कुनै न कुनै रूपमा खाद्यान्न तथा तरकारी उत्पादनका क्रममा विषादी प्रयोग गर्छन् । कतिपयले छोटो समयमा धेरै फाइदा लिन उत्पादनका क्रममा विषादी प्रयोग गर्छन् भने कतिले जानकारी नहुँदा–नहँुदै पनि विषादी प्रयोग गर्छन । कृषिमा व्यावसायिकता बढ्दै गएसँगै विषादीको प्रयोग बढेको स्वीकार गर्न सकिन्छ । किटनासक तथा रोगनासका नाममा विभिन्न विषादी प्रयोग गरिए पनि त्यसले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावका सम्बन्धमा सरकारी पक्षबाट तदारुकता बढाउनु आवश्यक छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग अनुगमनको जिम्मेवारी पाएको सरकारी निकाय हुँदाहुँदै पनि कृषकको बारीसम्म भने पुग्न सकेको छैन । किराना पसलदेखि उद्योग, बजार मूल्य तथा गुणस्तरका सम्बन्धमा अनुगमन गर्दै आएको विभागले तयारी तरकारीको मूल्य, भण्डारण, व्यवस्थापन र गुणस्तरमा अनुगमन गर्दै आएको छ । जनशक्ति कम हँुदा कृषकको बारीसम्म पुगेर तरकारीका नमुना परीक्षण गर्न नकिएको हो ।
अघिल्लो वर्ष काभ्रेपलान्चोकको चारखालमा एकैपटक धेरै सर्वसाधारण बिरामी परेपछि कारण खोज्दै जाँदा अत्यधिक विषादी प्रयोग गरेकाले त्यस्तो भएको पाइएको थियो । धेरै कृषकलाई विषादी प्रयोग गर्ने सम्बन्धमा जानकारी नहुँदा यस्ता गल्ती भएका छन् । कृषकलाई कुन विषादी, कति समय, कुन वर्ग, कसरी तथा प्रयोग भएको कतिपछि खान योग्य हुने भन्ने विषयमा सिकाइएको छैन । कृषकलाई विषादी प्रयोग सम्बन्धमा जानकारी गराउनु टड्कारो आवश्यकता हो । अहिलेसम्म कहाँ–कहाँ कस्तो विषादी प्रयोग भयो र त्यसले के–कस्तो नकारात्मक प्रभाव पा¥यो भन्ने विषयमा सरकारी स्तरबाट अध्ययन हुन सकेका छैनन् । विषादी प्रयोग न्यूनीकरणका लागि कृषिमन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग सबैको सक्रियता बढाउनुपर्छ । विषादीले खाद्यान्न तथा तरकारी खाना साथ असर नदेखिए पनि ठूलो जनसमुदायमा दीर्घकालीन रूपमा असर प्रभाव पर्छ । सबै निकायको सक्रियता बढाएमा विषादीको न्यूनीकरण गर्न समस्या छैन । तर लाचार भएर बस्ने हो भने निकट भविष्यमै विषादीले भयावहरूप लिने निश्चित छ ।

विषादी प्रयोग बढ्नुमा गैरसरकारी संस्था जिम्मेवार
प्रेमलाल महर्जन
अध्यक्ष–राष्ट्रिय उपभोक्ता मञ्च
खाद्यान्न तथा तरकारीमा विषादी मिसिनु नेपालको मात्र समस्या नभएर विश्वकै समस्या हो । विकसित मुलुकको तुलनामा विकासोन्मुख मुलुकमा विषादीको प्रयोगले विकरालरूप लिँदै छ । नेपालको कृषि पेसा यतिसम्म भइसकेको छ कि विषादी प्रयोगबिना उत्पादन नै गर्न नसक्ने भइसकेको छ । सरकारले प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै रासायनिक मलको आयात र बिक्रीमा जोड दिएको छ । रासायनिक मलबिना अधिकांश कृषकको खेतबारीमा उब्जनी नहुने अवस्था आइसकेको छ । नेपालमा कृषि क्षेत्रलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने निहुँमा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विषादी प्रयोग गर्न दबाब दिँदै आएका छन् । उनीहरूले डलर कमाउने नाममा नेपाली सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गरेका छन् । यस विषयमा कसैको ध्यान जान सकेको छैन । कृषकलाई चेतना दिन नसकेसम्म यो समस्या अझ बढ्ने देखिन्छ । यसप्रति सरकार तथा उपभोक्ता कर्मी, नियामक निकायको ध्यान जान सकेकोे छैन । धादिङ बनेपा, काभ्रे तथा भक्तपुरजस्ता धेरै तरकारी उत्पादन हुने राजधानी आसपासमा क्षेत्रमा समेत सरकारले विषादी प्रयोग सम्बन्धमा कुनै अनुगमन तथा सर्वेक्षण गर्न सकेको छैन भने बाहिरी जिल्लाबाट के अपेक्षा गर्ने .
सरकारले रासायनिक मललाई नै प्रमोट गरेको छ । थाहा हँुदाहँुदै पनि उपभोक्ताले विषादी मिसिएको तरकारी खान बाध्य छन् । विषादी प्रयोग भएको खाद्यान्न तथा तरकारीको विकल्प उपभोक्तालाई दिन नसक्दा बर्सेनि हजारांै मानिसको ज्यान जाने गरेको छ । एकातिर कृषि पेसाको प्रवद्र्धन र प्रोत्साहन गर्न आएका आईएनजीओहरूले गोष्ठी गर्ने, फोटो खिच्ने र अनुदान ल्याउनेभन्दा अरू गरेकै छैनन् । अर्कातिर सरकारी नियामक निकाय मौन छ । अहिलेको अवस्थामा विषादी न्यूनीकरणका नाममा धेरै खर्च भएको भनिए पनि गोष्ठी, सेमिनार, पेपर वर्क जस्तामा धेरै खर्च भएको छ । वास्तविक कृषकसम्म चेतना र रकम पुग्न सकेको छैन । मञ्च विषादी न्यूनीकरण सम्बन्धमा अध्ययन रिपोर्ट निकाल्ने तयारीमा छ । छिट्टै हामीले यस विषयमा तथ्य बाहिर ल्याउनेछौं ।

कारोबारबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :