कृषि विभागद्वारा क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू

यो समाचार 344 पटक पढिएको

काठमाडौं, १ पुस । कृषि विभागले विभाग मातहतका कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र सोमबारदेखि कार्यान्वयनमा ल्याएको छ । यस आर्थिक वर्षको पुस मसान्तसम्ममा विभागअन्तर्गतका सबै कार्यालयमा बडापत्र लागू गरिसक्ने विभागले जनाएको छ । कार्यालयहरुद्वारा सेवाग्राहीलाई प्रदान भइराखेका सेवालाई अझ चुस्त बनाउने ध्येयले विभागले आफू मातहतका १ सय ५ वटा कार्यालयमा २६ बुँदे बडापत्र कार्यान्वयनमा ल्याएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा र कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले सो बडापत्रको आज यहाँ संयुक्तरुपमा सुरुवात गर्नुभयो । विभागअन्तर्गतको मत्स्य विकास निर्देशनालय बालाजुमा आयोजित सो कार्यक्रममा उहाँहरुले यसबाट कृषकको जीवनस्तर माथि उठ्ने र सेवाग्राहीका गुनासाहरु सम्बोधन हुने बताउनुभयो ।

मत्स्य विकास निर्देशनालयका प्रमुख राजेन्द्रप्रसाद केसीले क्षतिपूर्तिसहितको नागरिक वडापत्रले सेवामा पारदर्शिता, सुलभता र प्रविधिमा विस्तार हुने धारणा राख्नुभयो । राष्ट्रिय मत्स्य विकास कार्यक्रमका प्रमुख रमानन्द मिश्रले निर्देशनालयअन्तर्गत मुख्य काम मत्स्य रोग पहिचान र मत्स्यपालनका लागि पानीको गुणस्तर जाँच रहेको बताउनुभयो । ती सेवाका लागि सेवाग्राहीले निवेदन दिएको तीनदिनभित्र सेवा पाइसक्नुपर्नेछ । यदि दिन नसकेमा रु एक हजार क्षतिपूर्ति दिनुपर्ने व्यवस्था रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :