कुखुरा व्यवसाय संकटमा

यो समाचार 222 पटक पढिएको

वीरगञ्ज,  भारतीय कुखुरा तथा चल्लाको बढ्दो चोरी तस्करीका कारण नेपालको सीमावर्ती क्षेत्रमा कुखुरा व्यवसाय संकटमा पर्न थालेको छ । बर्डफ्लुको सङ्क्रमण रोक्न सरकारले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाएको भनिएपनि कुखुराको अवैध कारोबारमा यहाँ कमी आएको छैन, जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको आज यहाँ बसेको बैठकमा सहभागी कुखुरा व्यवसायीले भन्नुभयो, ‘अवैध कारोबारमा आएको वृद्धिसँगै नेपालको सीमावर्ती क्षेत्रमा कुखुरा व्यवसाय सङ्कटमा पर्न थालेको छ ।’

Poulty

बर्डफ्लुको सङ्क्रमण रोक्नका लागि तेस्रो मुलुकका पक्षी, पक्षीजन्य पदार्थ र पक्षी उत्पादन सामग्रीको आयातमा रोक लगाउने र त्यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउने निर्णय सरकारले गरेको छ तर सरकारी निर्णयविपरीत भारतबाट तयारी कुखुरा, चल्ला र हाँस सहजरूपमा नेपाल भित्रिरहेको स्थानीयवासीले जनाएको छ ।

वीरगन्जको सिर्सिया, अलौँ, भिस्वा, पोखरीया र जानकी टोललगायतका विभिन्न छोटी भन्सार नाकाबाट भारतीय तयारी कुखुरा, चल्ला र कुखुराजन्य वस्तुको ओसारपसार सहजरूपमा भइरहेको छ, स्थानीयवासीले भने, यसरी अवैधरूपमा भित्रिएका भारतीय कुखुरा र चल्ला वीरगन्जलगायत आसपासका बजारमा खुल्लेआम बिक्री भइरहेका छन् ।

नेपाल भित्रिने यस्ता अवैध भारतीय कुखुरा र चल्ला कारण जिल्लाका अधिकांश पोल्ट्री फार्म बन्द भइसकेको दाबी जिल्ला कुखुरा व्यवसायी संघले गरेको छ । संघका अनुसार जिल्लामा १५० भन्दा बढी पोल्ट्री फार्म सञ्चालनमा छन् तर भारतीय कुखुरा, चल्ला र सेतो अन्डाको अवैध आयातका कारण करिब १०० वटा पोल्ट्री फार्म बन्द भएका छन् ।

मूल्यमा देखिएको ठूलोअन्तरका कारण भारतीय कुखुरा तथा चल्लाको चोरी तस्करीमा वृद्धि भइरहेको छ, कुखुरा व्यवसायी मनेजर साहले भन्नुभयो, ‘भारतभन्दा यहाँ कुखुरा उत्पादन लागत बढ्दो छ, जसले गर्दा सस्तोमा उत्पादन भएको भारतीय कुखुरा तथा चल्लासँग नेपाली किसानले मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन ।’

सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न स्थानीय व्यापारीले लाखौँ रुपैयाँ मूल्य बराबरको कुखुरा तथा चल्ला अवैधरूपमा नेपाल भित्र्याउने गरेका छन् । सीमावर्ती भारतीय बजारबाट दैनिकरूपमा दर्जनौँपटक साइकल र मोटरसाइकलमा कुखुरा तथा चल्ला अवैधरूपमा नेपाल भित्रिने गरेका छन्, अर्का कुखुरा व्यवसायी श्यामबाबु प्रसादले भन्नुभयो, बजारमा कुखुराको माग अत्यधिक भएकाले यस्तो अवैध कारोबारले अझ व्यापकता पाएको हो ।

भारतीय सीमावर्ती बजारको तुलनामा यहाँ २० देखि २५ प्रतिशत मूल्य बढी पर्न जान्छ । यसले गर्दा सीमावर्ती क्षेत्रका ग्राहकले नेपाली बजारमाभन्दा भारतीय बजारमा सामान खरिद गर्छन् । हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध आयात गर्नैपर्छ, एक कुखुरा मासु व्यवसायीले भन्नुभयो, “खुला सिमाना भएका कारण अवैध आयात गर्न त्यति अप्ठ्यारो परेको छैन् ।”

कुखुरा र चल्लालाई १० प्रतिशत ढुवानी खर्च दिँदा भारतीय बजारबाट भनेको ठाउँमा पुयाइदिने गर्छन् । त्यसो गर्दा पक्राउ परेको खण्डमा आयातकर्ताले नै व्यहोर्नुपर्ने हुन्छ । कुखुरा तथा चल्ला आयात गर्ने कानुनी प्रक्रिया अत्यन्त जटिल भएकाले पनि चोरी तस्करीमा वृद्धि भएको हो, कुखुरा व्यवसायी भन्छन्, भारतीय कुखुरा आयात गर्नका लागि भारतको मुम्बइ, कोलकत्ता, हैदराबाद र दिल्ली गरी चार ठाउँबाट मात्र अन्तर्राष्ट्रिय स्वास्थ्य प्रमाणपत्र ल्याउनुपर्ने प्रावधान छ तर चल्ला हकमा हवाइमार्गबाट मात्र आयात गर्नुपर्ने कानुनी प्रावधानका कारण पनि यसको चोरी तस्करीमा वृद्धि भएको हो ।

यस्तो कानुनी प्रक्रियागत जटिलतालाई नहटाएसम्म यसको चोरी तस्करी नियन्त्रण गर्न कठिन हुने दाबी सम्बन्धित निकायको छ । कुखुरा फर्ममा हामीले उच्च निगरानी सुरु गरेका छौँ, जिल्ला पशु सेवा कार्यालय पर्साका प्रमुख एवम् वरिष्ठ पशु चिकित्सक डा उदयप्रताप सिंहले भन्नुभयो, बाहिरको कुखुरा र चल्ला भित्रिएको शङ्का लाग्ने बित्तिकै त्यसलाई नियन्त्रणमा लिई नष्ट गर्ने गरेका छौँ ।

यो एक्लो प्रयासबाट नियन्त्रण हुने कुरा होइन, उहाँले भन्नुभयो, “यसका लागि सम्बन्धित सबै पक्षको सहयोग, समन्वय र सक्रियता चाहिन्छ ।”

समितिका अध्यक्ष एव्म पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार वजिमयले यससम्बन्धी भएका विद्यमान ऐन, कानुन र प्रक्रियालाई पूर्ण प्रतिबद्धताका साथ लागू गर्नुपर्ने बताउँदै स्वदेशी कुखुरा व्यवसाय प्रवद्र्धन र उपभोक्ताको हितलाई ध्यानमा राखेर विद्यमान ऐन, कानुन र प्रक्रियामा समयसापेक्ष केही सुधार गर्नुपर्ने भए सम्बन्धित निकायमार्फत पहल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :