विदेशबाट फर्किएका युवा गाईपालनमा

यो समाचार 274 पटक पढिएको

अर्घाखाँची,  चिदीका–४ बस्ने २६ वर्षिय धर्मेन्द अर्याल आइएसम्म पास गरेर बाँकी पढाइ बीचमै छाडेर विदेश जानुभयो । दुई वर्षसम्म विदेशमा बसेर फर्कनु भएका अर्यालले विदेशको कमाई राम्रो भए पनि स्वदेशको मायाले घर फर्कि व्यावसायिकरूपमा गाईपालन गर्न सुरु गर्नुभयो । विसं २०६९ असारदेखि सात वटा गाईपालनबाट सुरु गरेका अर्यालको गोठमा अहिले ११ वटा गाई रहेका छन् । भविश्यमा ५० वटा गाई पुर्याउने लक्ष्य रहेको अर्यालले बताउनुहुन्छ ।

cow_2282398b1-300x187

सुरुमा रु चार लाख ५० हजार जति खर्च लागे पनि अहिले आएर मासिक ४८ हजार आम्दानी हुन थालेको छ अर्यालले बताउनुभयो । धेरै पैसा कमाउने सपना बोकेर विदेश गएका युवा हिजो आज स्वदेशमा फर्केर पशुपालन व्यावसायतिर लाग्न थालेका छन् । विदेशमा दुःख गरेर कमाउने पैसा त्यतिकै दुःख गर्ने हो भने स्वदेशमै पैसा कमाउन सकिन्छ भन्ने सोच राखेर स्वदेश फर्केर पशुपालन तथा कृषि क्रान्तिमा लाग्ने युवाको दिनप्रतिदिन लहर बढ्न थालेको छ ।

छोराले गरेको मिहिनेत र घर परिवारसँगै बसेर यो व्यवसायबाट आम्दानी भएको देखेपछि अहिले घरपरिवार एवम् बुबा, आमा दङ्ग छन् । विदेश गएर पैसा कमाइरहेको छोरा एक्कासी घरमा आई गाई पाल्छुभन्दा के गर्छ होला भनेर विश्वास नमानेका अर्यालका परिवारलाई गर्यो भने के हुँदैन भने कुराको पुष्टि अर्यालले गर्नुभएको छ ।

प्रत्येक दिन ५० लिटर दूध उत्पादन हुने गर्छ । त्यो दूध सन्धिखर्क र तम्घासमा रहेका दूधडेरीमा प्रतिदिन ४५ लिटर जति दूध पठाउने गरिएको छ । यसरी घरमै बसेर राम्म्रो आम्दानी हुन थालेपछि बुबा, आमा श्रीमतीलेसमेत विश्वास गर्दै सहयोग गर्न थालेको अर्यालले बताउनुभयो ।
जिल्ला पशु सेवा कार्यालयले केही प्राविधिक सहयोग र उन्नत घाँसको बीउ दिएर सहयोग गरेको छ भने अन्य गोठ सुधार, गाई ढुवानी खर्चका लागि केही रकम दिएर सहयोग गरेको छ । विदेशमा मात्र होइन स्वदेशमै पनि थुप्रै आम्दानी हुनसक्छ भन्ने गतिलो उदाहरण दिएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :