“कमसल बीउ” छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

यो समाचार 170 पटक पढिएको

 काठमाडौं,   चिनियाँ धान ‘डीवाई–६९’ लगाइएको भक्तपुरका अधिकांश धानबाली नष्ट भएको विषयमा छानबिन गर्न गठित समितिले तयार गरेको प्रतिवेदन १ महिनासम्म पनि सार्वजनिक भएको छैन । भक्तपुरको धानबालीमा ‘नेक ब्लास्ट’ लागेका कारण अधिकांश बाली नष्ट भएको र आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निष्कर्षसहित १ महिनाअघि कृषि विकास मन्त्रालयमा बुझाइएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कृषकले माग गरेका छन् ।

सबै धानबाली नष्ट भएका कारण आफूहरू मारमा परेकाले प्रतिवेदनमा उल्लेख गरिएको कुरा आफूहरूलाई जानकारी हुनुपर्ने उनीहरूको माग छ । “कृषक खान

safe_image.php

नपाएर भोकै मर्ने अवस्था आएको छ । सरकार न क्षतिपूर्ति दिन्छ, न प्रतिवेदन नै सार्वजनिक गर्छ,” भक्तपुरका अगुवा कृषक गोविन्द दुवालले भने । प्रतिवेदनको निष्कर्षबारे आफूहरूलाई जानकारी दिनुपर्ने र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको माग छ । सुरुका दिनमा समितिले कृषक प्रतिनिधि र सर्वदलीय समितिमा छलफल गरे पनि अन्तिम मस्यौदा तयार गर्दा गोप्य रूपमा तयार गरी मन्त्रालयमा बुझाएको उनको आरोप छ ।

पूर्वसभासद तथा नेपाल मजदुर किसान पार्टीका महासचिव सुनिल प्रजापति नेतृत्वको कृषक समूहले क्षतिपूर्तिको माग गर्दै आन्दोलनसमेत गरिरहेको छ । बीउबिजन गुण नियन्त्रण केन्द्रका प्रमुख डिलाराम भण्डारीको संयोजकत्वमा गठित समितिले १ महिनाअघि कृषि विकास मन्त्रालयमा बुझाएको प्रतिवेदनमा चिनियाँ धान ‘डी वाई–६९’ लगाइएको धानखेतका ८० देखि सतप्रतिशतसम्म धानबाली नष्ट भएको उल्लेख भएको समितिका एक सदस्यले बताए । ‘डीवाई–६९’ लगाइएको खेतमा यसअघि प्रतिहेक्टर १४ मुरीसम्म धान फलेकाले कम्तिमा १२ मुरीका दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कृषकको माग छ । करिब १५ हजार रोपनी क्षेत्रको धानखेत नष्ट भएको अनुमान गरिए पनि प्रतिवेदनमा कति उल्लेख छ भन्ने बारेमा भने मन्त्रालयले खुलाएको छैन ।

कृषकको भने करिब २६ करोड रुपैयाँबराबरको धानबाली नष्ट भएको दाबी छ । समितिको प्रतिवेदन मन्त्रालयले १ महिनाअघि नै बुझिसकेको र क्षतिपूर्तिको विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले मन्त्रालयका सचिव जयमुकुन्द खनाल उपत्यकाबाहिर रहेकाले थप विषयमा सचिव आएपछि मात्र भन्न सकिने प्रतिक्रिया दिए । क्षतिको अवस्था हेरेर आवश्यक क्षतिपूर्तिका लागि मन्त्रालयले पहल गर्ने उनले बताए । काट्ने तयारी अवस्थामा रहेको धानमा फल नलागेपछि भक्तपुरका कृषकले गत असोज १ गते मन्त्रालय घेराउ गरेर क्षतिपूर्तिको माग गरेपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । चिनियाँ धानको अधिकृत बिक्रेता काष्ठमण्डप ट्रेड प्वाइन्टले बिक्री गरेको सबै बीउ म्याद नाघेको भएकाले फल नलागेको कृषकको दाबी छ । कृषकले दाबी गरेको क्षति भएको धानको विवरण र बिक्रेताले चीनबाट आयात गरेको धानको परिमाणमा फरक आएकाले बिरोध आउने डरले प्रतिवेदन सार्वजनिक नगरिएको हुन सक्ने स्रोतको अनुमान छ । कृषकलाई क्षतिपूर्ति सरकारले दिने कि बीउ बिक्रेता कम्पनीले दिने भन्ने विषयमा स्पष्ट नभएकाले मन्त्रालयले क्षतिपूर्ति कति दिने भनेर निर्णय नगरेको हुनसक्ने स्रोतको दाबी छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :