तीन गाविसका कृषकलाई लक्षित गरी सङ्कलन केन्द्र स्थापना

यो समाचार 228 पटक पढिएको

तनहुँ,  कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु एकै स्थानबाट बिक्री गर्ने उद्देश्यले तीन गाविसलाई लक्षित गरी तनहुँको छाङ गाविसको मनहरिमा कृषि उपज सङ्कलन केन्द्र स्थापना गरिएको छ । जिल्लाको छाङ, मनपाङ र जामुने गाविसका कृषकलाई लक्षित गरी सो सङ्कलन केन्द्र स्थापना गरिएको हो ।

चार समूह र ६० जना कृषक आबद्ध रहेको सो सङ्कलन केन्द्रमा शुद्ध, विषादीरहित ताजा तरकारी उत्पादन गर्ने लक्ष्यका साथ केन्द्र स्थापना गरिएको मनहरि तरकारी व्यवस्थापन समितिका अध्यक्ष इमकुमार मल्लले जानकारी दिनुभयो । उक्त सङ्कलन केन्द्रको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत टीकाराम खनालले हालै उद्घाटन गर्नुभएको बताइएको छ ।

यसैबीच, सोही क्षेत्रमा पर्ने नमुना कृषि उपज सङ्कलन केन्द्रका कृषकलाई विजय तरकारी पसलका प्रोप्राइटर विजय पौडेलले करिब रु २४ हजारबराबरको एक थान कम्प्युटर काँटा निःशुल्क रूपमा प्रदान गर्नुभएको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत जिल्लामा १४ वटा कृषि उपज सङ्कलन केन्द्र रहे पनि अधिकांश केन्द्र प्रयोगविहीन अवस्थामा रहेको बताइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :