सिजनको सुरुमै महंगियो सुन्तला

यो समाचार 314 पटक पढिएको

उदयपुर,  सुन्तला उत्पादन हुने सुरु सिजनमा नै उदयपुर जिल्ला लगायतका क्षेत्रमा सुन्तलाको भाउ महँगो हुँदै जान थालेको छ । मङ्सिरमा नै सुन्तलाको भाउ आकासिँदै जान थालेको सुन्तला व्यापारीसमेत बताउँछन् । मंसिर, पुस तथा माघ महिना सुन्तलाको सिजनको महिना हुनाले पनि यस समयमा सुन्तलाको भाउमा कमी आउनुपर्ने हो । तर उदयपुरको सदरमुकाम गाईघाट लगायतका क्षेत्रमा भने सुन्तलाको भाउ अहिले प्रतिकिलो ६५ देखि ७० रुपैयाँसम्म पुगेको छ ।Suntala

 

सुरु सिजनमा नै सुन्तला महँगो हुन थालेपछि यस क्षेत्रमा सर्वसाधरण सुन्तला किनेर खान नसकिने अवस्था आउन थालेको बताउँछन् । सुन्तलाको भाउ महँगो भएको विषयमा गाईघाटका स्थानीय माया ठकुरी भन्छिन्–“अहिले सुन्तलाको सिजनमा नै ७० रुपैयाँ प्रतिकिलो मूल्य पर्न थाल्यो, यो त भारतको काश्मिरी स्याउभन्दा पनि महँगो भयो, अब सर्वसाधरणले सुन्तला किनेर खान नसकिने भयो ।” यस पटक पनि उदयपुर जिल्लामा सुरुको सिजनबाट नै सुन्तलाको भाउमा वृद्धि भएको स्थानीय कुमार घिमिरेसमेत बताउँछन् । घिमिरेले भने–“मङ्सिरमा नै सुन्तलाको भाउ प्रतिकिलो ७० रुपैयाँ पुगेको छ, अब यस्तै भाउ रहे माघसम्ममा ९० रुपैयाँ प्रतिकिलो पुग्छ ।”
उदयपुरको पहाडी गाविसहरू आँपटार, लाफागाउँ, जाँते, रौता, बलाम्ता तथा ठाना गाउँ क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ । यस पटक समयमा नै वर्षा भए पनि सुन्तलाको फूल फुल्ने र फल लाग्ने सिजनमा नै हावाहुरी आएको कारण सुन्तलाको फूल झरेको कारण पनि सुन्तला सोचेजस्तो उत्पादन नभएको सुन्तला उत्पादक कृषक बताउँछन् ।

उदयपुरको सदरमुकाम गाईघाटमा उदयपुर जिल्लाबाहेक छिमेकी जिल्ला खोटाङबाट समेत सुन्तला आयात हुँदै आएको छ । खोटाङ क्षेत्रमा यातायात पुग्न थालेपछि खोटाङमा उत्पादन गरेको सुन्तला सिधै धरान तथा अन्यत्र पैठारी हुने गरेको कारण पनि गाईघाट क्षेत्रमा सुन्तलाको भाउ निकै बढेको व्यापारीहरू बताउँछन् । रासस

रचनात्मक प्रतिक्रिया दिनुहोस् :