कृषिमा भन्दा व्यावसायिक क्षेत्रमा लगानी भएकामा चिन्ता व्यक्त

यो समाचार 346 पटक पढिएको

ललितपुर, ३० मङ्सिर । कृषि विकास गर्ने उद्देश्यले स्थापित लामाटार कृषि बहुउद्देश्यीय सहकारी संस्थाबाट कृषिमा भन्दा व्यावसायिक क्षेत्रमा लगानी भएकामा चिन्ता व्यक्त गरिएको छ । उक्त संस्थाको आठाँै वार्षिक साधारणसभाको अवसरमा शनिबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले सो चिन्ता व्यक्त गर्दै कृषि क्षेत्रमा आकर्षक कार्यक्रम सञ्चालन गर्न, ब्याजदर सुलभ गर्न र उत्पादित सामानको बजार व्यवस्थापनका लागि सहजीकरण गर्न जोड दिएका हुन् ।

गत आर्थिक वर्षको अन्तसम्ममा सो संस्थाले कृषिमा रु १४ लाख ४५ हजार लगानी गरेको थियो भने व्यापार व्यवसायमा रु एक करोड ३८ लाख ४३ हजार लगानी गरेको थियो । विसं २०६२ मा ३० जना सदस्यको सानो पुँजीबाट सुरु भएको सो संस्थाले हाल ६०६ सदस्यबाट विभिन्न कोषमा रु १७ लाख २४ हजार र आन्तरिक कोषमा रु १० लाख ३३ हजार गरी रु २७ लाख ५७ हजारको कोष निर्माण गर्नुका साथै रु तीन करोडभन्दा बढीको कारोबार गर्न सक्षम भएको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा ज्येष्ठ सदस्य, २०० कित्तासम्मको सेयर लिने सदस्य र गत वर्ष प्रवेशिका परीक्षामा उच्चतम् अङ्क ल्याउने दुई छात्र–छात्रालाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष देवेन्द्र पौडेलले संस्थाको प्रगति विवरण, सचिव भाष्कर गौतमले गत वर्षको वार्षिक प्रतिवेदन तथा आगामी वर्षको योजना र कोषाध्यक्ष लक्ष्मणप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सो सभामा ललितपुर जिल्लाका पूर्वजिविस सभापति माधव पौडेल, पूर्व गाविस अध्यक्ष चिरञ्जीवी आचार्य र जिल्ला डिभिजन कार्यालयका प्रतिनिधि सूर्यकुमार श्रेष्ठलगायतले सहकारीका गतिविधिमा महिला सहभागिता बढाउन, कृषि क्षेत्रमा आकर्षक योजनासहितको लगानी बढाउन र सेयर सदस्य वृद्धि हुने अन्य आकर्षक योजना ल्याउन सुझाव दिनुभएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :