दूध बेचेर गाउँमा करोड भित्रिँदै

This post has already been read 147 times!

बागलुङ, २९ मंसिर । यहाँका किसानले सहकारीमा आबद्ध भएर दूधको उत्पादन र बजारीकरण गरिरहेका छन् । दुईभन्दा बढी दुग्ध सहकारीले सामूहिक रुपमा दूध सङ्कलन र बिक्री गर्दै आएपछि किसान व्यावसायिक रुपमा सफल देखिएका छन् ।Milk su

दक्षिण बागलुङका तीन गाविसमा रहेका चार चार सहकारीमा आबद्ध किसानले दूध बेचेर वार्षिक करोडभन्दा बढी रकम गाउँ भित्र्याएका हुन् । पछिल्ला केही वर्षदेखि सहकारीमार्फत दूध उत्पादन र बिक्री वितरण गर्दै आएका किसान व्यवसायबाट सफलता हात पारेपछि उत्साहित बनेका छन् । गत आव २०६९र०७० को असार मसान्तसम्ममा किसानले एक लाख ६२ हजार ९१४ लिटर दूध उत्पादन गरी बिक्री गरेको बलेवा नारायणस्थान सहकारी संस्थाका सदस्य प्रताप पौडेलले बताउनुभयो । उक्त दूधको बिक्रीबाट एक करोड ५१ हजार २९६ गाउँ भित्रिएको सहकारीले जनाएका छन् ।

कुश्मीशेरामा रहेको पल्लोपाखा दुग्ध उत्पादक सहकारी संस्था लि, अमलाचौरमा रहेका कालीगण्डकी र नवनमुना दुग्ध उत्पादक सहकारी संस्था र नारायणस्थानमा रहेको बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाले संयुक्त रुपमा दूध सङ्कलन गरी बिक्री गर्दै आएका छन् । अहिले पल्लोपाखा दुग्ध उत्पादन सहकारीमा आबद्ध ६० , कालीगण्डकी दुग्ध उत्पादन सहकारीमा आबद्ध ११२, नवनमुना सहकारीमा आबद्ध ४५ र बलेवा नारायणस्थान सहकारीमा आबद्ध ४८ किसानले दूध उत्पादन गर्दै आएका छन् ।

थोरै मात्राको दूध सङ्कलन गरी बिक्री गर्दा किसानलाई निक्कै फाइदा भएको बलेवा नारायणस्थान सहकारीका सदस्य प्रताप पौडेलले बताउनुभयो । विभिन्न गाविसमा रहेका दुग्ध उत्पादक सहकारीले उत्पादन गरेको दूधलाई एकीकृत गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यले छ वर्षअघि ती सहकारीले संयुक्त बिक्री केन्द्रको स्थापना गरी कुश्मा बजारबाट दूध बिक्री वितरण गर्दै आएका छन् । अहिले ती सहकारीमध्ये कालीगण्डकीले ३ सय ५०, पल्लोपाखाले १ सय, बलेवा नारायणस्थानले १ सय २० र नवनमुनाले ६० लिटर दूध दैनिक उत्पादन गर्दै आएका छन् । दूधको उत्पादनमा सुख्खा मानिने याम चैत वैशाखमा समेत सहकारीले ६ सयदेखि ८ सय लिटर दूध उत्पादन गर्ने गरेको संयुक्त बिक्री केन्द्रका अध्यक्ष मुक्तिप्रसाद शर्माले बताउनुभयो ।