सहकारीमार्फत तरकारी खेती लाभदायक

यो समाचार 237 पटक पढिएको

पर्वत,  पर्वतमा सहकारी मार्फत सामुहिक तरकारी खेती सफल देखिएको छ । तरकारी खेतीलाई व्यावसायिक बनाउन सहकारी र समूह मार्फत गरिएको खेती सफल देखिएको हो ।Parbat
जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन जिल्ला कृषि विकास कार्यालयले सहकारी मार्फत सामुहिक तरकारी खेती गर्ने अभियान चलाएको हो । सहकारी तथा समूहमार्फत काम गर्दा किसानले आर्थिक तथा प्राविधिक सहयोग पाउने र उत्पादित तरकारीको बजारीकरण गर्न पनि सहज भएको छ । जिल्ला सदरमुकाम लगायत अरु बजार क्षेत्रमा तरकारीको अत्याधिक माग हुने तर स्थानीय उत्पादनले आधा पनि नपुग्ने भएकाले तरकारीको व्यवसायिकरणमा जोड दिइएको कृषि कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीले बताउनुभयो । ‘तरकारीको व्यवसायिक उत्पादनका लागि किसानलाई तालिम दिने र आर्थिक सहयोग गर्दै आएका छौ’ उहाँले भन्नुभयो ।
तरकारीको व्यवसायिक खेतीका लागि यस वर्ष मात्रै समूह मार्फत ११ लाख रुपैयाँ दिइएको छ । गत आर्थिक वर्षमा चुवा, भुकताङ्ले र पाङ गाविसमा आर्थिक तथा प्राविधिक सहयोग गरिएको र यस वर्ष अन्य गाविसमा पनि अनुदान थप्ने कृषि कार्यालयले जनाएको छ । ‘हामीले युवाहरुलाई लक्षित गरेर योजना अगाडि बढाएका छौं’ कृषि कार्यालयका प्रमुख रेग्मीले भन्नुभयो ‘काम गर्छौँ भन्नेलाई रकम र प्रविधि दुबै दिएर सहयोग गर्छौं ।’ कार्यालयले तरकारी व्यावसायिकीकरणका लागि गत आर्थिक वर्षमा ९ लाख रुपैयाँ खर्च गरेर किसान तयार गरिसकेको र यसवर्ष तिनै किसानलाई ११ लाख रुपैयाँ सहयोग गर्ने योजना रहेको रेग्मीले बताउनुभयो ।
गएको वर्ष सहयोग लिएर काम गरेका किसानले यस वर्ष नै लगानी उठाएर नाफा कमाई सकेका छन् । जिल्लामा करिब ४ सय जना किसानले तरकारी खेती गरिरहेको भएपनि मौसमी खेतीले व्यावसायिकता दिन नसकेकाले व्यावसायिकता प्रवद्र्धनका लागि सहयोग गरेको कार्यालयको भनाई छ ।
अहिले जिल्लाका साना तथा ठूला बजारहरुमा स्थानीय उत्पादनले नपुग्ने कारणले पोखरा, चितवन, बुटवल लगायतका ठाउँबाट तरकारी आयात गरिन्छ । २ वर्ष भित्रमा जिल्लालाई तरकारीमा आत्मनिर्भरका साथै निर्यात गर्न सक्ने बनाउने योजनाका साथ काम गरिएको कृषि कार्यालय प्रमुख रेग्मीको भनाई छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :