सुन्तलाका बगान सुक्न थालेपछि कृषक चिन्तित

यो समाचार 283 पटक पढिएको

  • जीवन शर्मा

ओखलढुंगा,  लटरम्म पाकेर प्रशस्तै आम्दानी गर्ने बेलामा सुन्तलाका बगानै सुक्न थालेपछि ओखलढुङ्गाका कृषक चिन्तित बनेका छन् । व्यवसायिक रुपमा सुन्तलाको खेती गर्दै आएका ओखलढुङ्गाका धेरै कृषक यतिबेला सुन्तलाको बगानै सुक्न थालेपछि चिन्तित बनेका हुन् । सुरुमा फल झर्ने, बोट पहेँलो हुने र अन्ततः बोटै मर्ने समस्याले ओखलढुंगाका कृषकहरुलाई सताएको छ । सुन्तला खेतीका लागि अब्बल मानिने ओखलढुंगाको सदरमुकाम, तलुवा, रुम्जाटार, ठूलाछाप, कुन्तादेवी, रामपुर, माम्खा, दियाले, पोखरे, हर्कपुरलगायतका क्षेत्रका सुन्तलाका बगानहरु रोगाएर सखाप बनेका छन् ।suntala bagan

सुन्तलाको बोट सुक्ने समस्या र फलेको फल झर्ने समस्याले सुन्तला जातको व्यवसायिकतामै असर पारेको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताए । अघिल्ला वर्षहरुमा सुन्तला खेतीबाट राम्रो आम्दानी गरेका कृषकहरुले यसवर्ष बगान नै सखाप हुँदा पनि कसैले चासो नदिएको गुनासो गरेका छन् । यसवर्ष सुन्तलामा दाना लाग्दै नलागेको र रोगको उपचार समेत हुन नसकेको रुम्जाटारका कृषक राहित गुरुङले बताए । उनले भने, ‘मैले ५ वर्षअगाडि व्यवसायिक खेती गर्ने उद्देश्यले ५० वटा भन्दा बढी सुन्तलाका विरुवा रोपेको थिएँ, तर सबै मरे, केही उपाय गर्दापनि बचाउन सकिएन ।
यस्तै कुन्तादेवी ६ का यज्ञबहादुर कार्कीले पनि अघिल्ला वर्षहरुमा सुन्तला खेतीबाट २ लाखभन्दा बढी आम्दानी गरेपनि यसवर्ष बगानै सखाप भएपछि आम्दानी नै नभएको बताए । उनले भने, ‘कृषि विकास कार्यालयमा कैयौपटक हारगुहार गरेँ, मेरो बगान हेरिदिन अनुरोध गरेँ तर कसैले पनि मरेको बगानमा आएर नजरपनि लगाएको छैन । तर, जिल्ला कृषि विकास कार्यालयका कर्मचारी भने कृषकहरुले सुन्तलाको समस्याका विषयमा सम्पर्क नै नगरेको बताउँदै आएको छ । सुन्तलाका बोट रोगाएर मर्न थालेका भएपनि कृषि प्राविधिकहरु बोटबोटमा पुग्न नसक्ने प्रमुख श्रेष्ठको भनाइ छ ।
ओखलढुंगामा २७८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ भने यसवर्ष सुन्तलाको उत्पादन समेत घटेको छ । यसवर्ष ओखलढुङ्गामा १० प्रतिशत् भन्दा बढी सुन्तलाको उत्पादन घटेको कार्यालयले जनाएको छ । सुन्तला खेतीमा आएको समस्याका विषयमा सरोकारवाला निकायले ध्यान नदिने हो सुन्तला खेतीमा लागेका किसान विस्थापित हुने देखिन्छ ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :