धनुषामा धान उत्पादनमा कमी

This post has already been read 177 times!

जनकपुरधाम, धनुषा जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आउने भएको छ । समयमा पानी नपरेको र धान रोपाइँ पूरा हुन नसकेका कारण जिल्लाका खेतीयोग्य जमिन बाँझो रहेकाले यो वर्ष धान उत्पादनमा कमी आउने भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।Paddy

कार्यालयका योजना अधिकृत सुरेन्द्र गोइतका अनुसार यो वर्ष एक लाख १६ हजार ६४७ मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको छ । जिल्लामा धान कटाइ जारी नै रहेकाले पूर्ण तथ्याङ्क आउन नसके पनि गत वर्षको तुलनामा करिब ३० हजार २४३ मेट्रिक टन धान उत्पादन कम हुने अनुमान जिल्ला कृषि विकास कार्यालयको रहेको छ ।

धान उत्पादनमा कमी आउने कुरालाई दृष्टिगत गर्दै यस वर्ष धानको मूल्य झन् बढ्न सक्ने अपेक्षा गरिएको छ । जिल्लामा अपेक्षा अनुसारको धान उत्पादन हुन नसकेपछि भारतीय चामलमा निर्भर हुनुपर्ने बाध्यता रहेको छ । जिल्लामा ६५ हजार ५४० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ४० हजार ६३४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । खेतीयोग्य जमिनको ६२ प्रतिशत मात्र रोपाइँ भएका कारण र समयमा पानी नपरेकाले ३८ प्रतिशत जमिन बाँझै नै रहेको देखिन्छ ।

गत वर्ष ५६ हजार ३३० हेक्टर क्षेत्रफलमा रोपाइँ भएकामा एक लाख ४६ हजार ८९० मेट्रिक टन धान उत्पादन भएको थियो । धनुषाको सबैला, रघुनाथपुर, खरिहानी, यदुकुवा, गोठकोयलपुर, चोराकोयलपुर, बालाबाखर, बनिनियाँ, लक्ष्मीपुर बगेवा, सोहनी सिनुरजोरा, बहुअर्वा, लगायतका क्षेत्रमा सोना मनसुरी, रामविलास, सुवर्ण स्वबन, बास्मतीलगायतका प्रजातिका धानखेती बढी मात्रामा हुने गरेको छ ।