यी हुन् हलो जोत्‍ने सभासद्

यो समाचार 232 पटक पढिएको

तनहुँ, ८ पुस /सभासद् रामचन्द्र पोखरेल प्रजातान्त्रिक योद्धा गोवदर्द्धन शर्मा पोखरेलका जेठा छोरा हुन्। जिल्लाको सामाजिक परिवर्तनमा सक्रिय गोवद्र्धनपुत्रसँग जग्गाजमिन प्रसस्तै भए पनि आफैं खेतीकिसानीमा लागेको अनुभव कमै छ।

तस्विर: अन्नपूर्ण पोष्ट

त्यसमाथि जमिनदार पिताका घरमा खेत जोत्ने हलीगोठाला प्रशस्तै भएकाले उनलाई खेत जोत्ने अवस्था कहिल्यै आइपरेन। युवावस्थादेखि नै राजनीतिमा सक्रिय भई युवा उमेर कट्ने अवस्थामा पुगेका यिनले वृद्धावस्थामा प्रवेश गर्नै लाग्दा भने हलो जोत्नुपर्‍यो।

 

त्यो पनि बाध्यताले हैन, राजीखुसी नै। जीवनमै पहिलोपटक हलो जोत्ने अवसर सभासद् पोखरेलका लागि आइतबार जुरेको थियो।

 

२००६ सालमा ब्राह्मण समुदायले थालेको हलो क्रान्ति दिवसको सम्झनामा हलो क्रान्ति आन्दोलनका अभियन्ताहरूको जन्मथलो तनहुँको चुँदी बिर्तामा आयोजित दिवस मनाउने कार्यक्रमका प्रमुख अतिथिका रूपमा निम्त्याइएका पोखरेल हलो जोतेरै कार्यक्रमको उद्घाटन गर्नुपर्ने भएपछि गोरु नार्न तम्सिएका हुन्।

सभासद्ले हल अघि बढाउन थालेपछि उपस्थित सबैले तालीको गड्गडाहटले स्वागत गरे। वर्गीय विभेदको अन्त्यका लागि खटिएका व्यक्तिको सम्झनामा हलो जोत्न पाउँदा खुसी लागेको पोखरेलले बताए।

कार्यक्रममा उपस्थित अधिकांश सहभागीले पोखरेलको कामको प्रशंसा गर्दै हलो क्रान्तिका सुरुआतकर्ताहरूको स्मरण गरे। कार्यक्रममा सहभागी बाबुराम खनालले पितृको योगदानलाई स्मरण गर्न कार्यक्रम आयोजना गरिएको बताए।

 
काठमाडौं(सिम्पानी खनाल सेवा समिति तनहुँका अध्यक्ष कृष्ण खनालले पुर्खाको योगदान स्मरण गराउन कार्यक्रम गरेको बताए। तत्कालीन समयमा रामप्रसाद खनाल, विष्णुहरि खनाल, भुवनेश्वर ढकाल र उमाभद्र खनालले लमजुङ दुराडाँडामा हलो जोतेर बाहुनले हलो जोत्नु हुन्न भन्ने परम्परा तोडेका थिए।

 

उनीहरू सबै तनहुँ सुर सिम्पानीका बासिन्दा थिए। आधुनिकतातर्फको पाइला चालेका उमाभद्रबाहेक सबैको निधन भैसकेको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :