भैंसीको संख्या बढाउन पाडा हुर्काउने कार्यक्रम

यो समाचार 170 पटक पढिएको

चितवन,  जिल्ला पशु सेवा कार्यालय चितवनले जिल्लामा भैंसीको संख्या बढाउन पकेट क्षेत्र निर्धारण गरेर पाडा हुर्काउने कार्यक्रम गर्ने भएको छ ।
भैंसीको संख्या घट्दै गएकाले यस्तो कार्यक्रम ल्याइएको कार्यालयले जनाएको छ । मासुका लागि भैंसीको बध गर्ने क्रम बढेको र मूल्य आकाशिएकाले भैंसीको कमी हुन नदिन नयाँ कार्यक्रम ल्याइएको कार्यालयले जनाएको छ ।Buffalo


कार्यालयका वरिष्ठ पशु चिकित्सक डा। रामकुमार कार्कीले भैंसीको संख्या घट्दै गएको पाइएकाले पाडा हुर्काउने कार्यक्रम ल्याइएको बताउनुभयो । पाडा हुर्काउने कार्यक्रम अन्तर्गत माडी, शारदानगर, चैनपुर लगायतका क्षेत्रलाई पकेट क्षेत्र तोकेर व्यवसायिक पाडा हुर्काउन अनुदान दिइने कार्कीले जानकारी दिनुभयो । कार्यलयले समूह वा सहकारीलाई ढुवानी, आहारा र गोठ सुधारका लागि सहयोग गर्ने उहाँले बताउनुभयो । पशुपालनमा लागत बढी भएको गुनासो आएपछि कार्यालयले घाँसमा आधारित पशुपालनका लागि अभियानमुखी कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।
व्यावसायिक रुपमा पालिएका गाईभैंसीको लागि चोकर दाना लगायतका आहाराले गर्र्दा लागत बढाएको भन्दै कार्यलयले घाँसमा आधारित पशुपालनमा जोड दिएको कार्यालयले जनाएको छ । घाँसमा आधारित पशुपालनमा लागत कम देखिएको वरिष्ठ पशु विकास अधिकृत डा तेजबहादुर रिजालको भनाइ छ । वीउ लगायत घाँस उत्पादनका साधनमा कार्यलयले अनुदान लगायतका सहुलियत उपलब्ध गराउने कार्यक्रम रहेको रिजालले जानकारी दिनुभयो । व्यवसायिक पशुपालनका लागि घाँस उत्पादन गर्न वनपैदावरको प्रयोग सम्बन्धी स्पष्ट नीति नहुँदा घासमा आधारित पशु आहार विकास गर्न चुनौती पनि रहेको कार्यालयले जनाएको छ ।
पाडा हुर्काउने, घाँसमा आधारित पशु आहारा विकास राष्ट्रिय अभियान तथा पशु नस्ल सुधार, पशु स्वास्थ्य नियमन, जुनोसिस नियन्त्रण, स्वाइन फिवर रोग नियन्त्रण, बाख्राको स्रोत केन्द्र सुधार लगायतका नियमित कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कार्यालयले दुई करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :