रुम्जाटारे राडीको अवस्था र आवश्यकता

यो समाचार 171 पटक पढिएको

Ujir Bahadur Karki
उजिर बहादुर कार्की

सगरमाथा अंञ्चल ओखलढुंगा जिल्ला स्थित रुम्जटार राष्ट्र मै एक चर्चित ठाँउ मानिन्छ । घुमिफिरि रुम्जटार भन्ने नेपाली उखान जनमानसको जिव्रोमा प्राय फटकारिने टुक्कामा आउछ । तसर्थ यस ठाँउलाई परिचयको रुपमा व्याख्या गर्न आवश्यक छैन भने त्यहाको वस्तु उत्पादन परापूर्वकाल देखिको कुरा कोट्याउन र ओकल्न भने आवश्यक छ । त्यो के हो र कस्तो वस्तु हो भन्ने कुरामा चाहि दुविधा छैन त्यो रुम्जटारे राडी नै हो । राडीका पारखी त्यहाका गुरुङ्गगुरुङ्गसेनीहरु नै हुन । आफ्नै भेषभुषामा सजिएका मेहनती यी जातिहरु आफ्नो परम्परागत सीपमा आधारित हाते प्रविधिद्वारा उत्पादित राडी, पाखी, लुकुनी( भोटाहरु) देशका विभिन्न कुनामा पुगी मौसम अनुसार विक्रि वितरण गर्दै आएका छन् । विक्रि गर्न जाने प्रायः पुरुषहरु सक्रिय भई आफैले बोकी गाउँघरमा पु¥याउने गर्दछन् भने पूर्वी नेपालका सवै भागमा परिचित छन् । महिला जातिहरु भने मागअनुसार राडी बुन्ने काम गर्दछन् । हाल आएर जिल्लामा हुने पर्यटकीय महोत्सव, राष्ट्रिय प्रदर्शनी, जिल्लामा हुने प्रदर्शनीहरु समेतमा आफ्नो अग्रसरता प्रदर्शन गरेको पाईन्छ । यसै सन्दर्भमा भन्नु पर्दा गत बर्ष घरेलु समिति प्रधान कार्यलयमा भएको राष्ट्रिय औधोगिक प्रदर्शनीमा आफ्ना उत्पादीत राडि प्रदर्शन गराई उत्कृष्ठता हासिल गरी भारतको नयाँ दिल्ली समेतको औधोगिक भ्रमणको अवसर प्राप्त गरेका छन, ति हुन रुम्जटार निवासी उद्यमि चन्द्र कुमारी गुरुङ्ग, उनिलाई घरेलु समिति ओखलढुंगाको सकृयतामा प्रदर्शनीमा पठाईएको थियो ।

अवस्था :– घरेलु उधोग अन्तरगत परापूर्वक काल देखि उत्पादीत यहाँका राडीको अबस्था राम्रो छ भन्न सकिदैन तथापि यथार्थमा भन्नु पर्दा प्रचलित उत्पादीत बस्तुहरुको आफ्नै लोगो ब्राण्ड पहिचान छ । यसको पैत्रिक ब्राण्ड “रुम्जटारको राडी” नै हो । यसको कुनै लिखित ब्राण्ड लोगो छ्रैन । यसमा आधुनिक तर्फ सुधारका कुराहरुमा उद्यमिहरुको पहल आज सम्म पाइएको छैन, भने अर्को तर्फ यहाँका पुराना धनाढ्य ब्यक्तिहरु बसाइ सराइ गरी काठमाण्डांै तथा बिदेश तर्फ पलायन छन । जसको फलस्वरुप भेडा पालन उन उत्पादन र राडी उत्पादनमा लगानि खच्किदो छ । जुन आज भन्दा ३०÷४० बर्ष अगाडि हजारौ हजारको संख्यामा बिभिन्न जातीका भेडाहरु पालिन्थ्यो । उन उत्पादन सारै राम्रो हुन्थ्यो भने लेकका पटाङ्गिनी चउरमा राता , सेता, काला रंगका भेडा चर्दा गुरुङ्ग जातिहरुको परम्परागत पेशा र सास्कृति नै झल्कन्थ्यो ।

हिमाली र मध्ये पहाडी भागले रमाइलो मौसमको परिचय दिन्थ्यो । ति चरन चरेका भेडा जंगली जनावरको सुरक्षामा रहेका पालतु कुकुरहरुको भुकाई भेडा चराउनेहरु को शुसेली आदिले ति लेकहरु ब्यस्त र झरिझुट्ट गहना लगाएको जस्तो भान हुन्थ्यो । चरन पश्च्यात वेसितर्फ फर्कदा ऊनका रंंग विरंगका भारिहरु आ–आफ्नो उद्योगमा आउने ल्याउने गर्दथे । एक आर्कामा प्रतिस्पर्धामा हुने गर्दथ्यो । बुनाइमा राम्रो र गुणस्तर उत्पादन तर्फ ध्यान दिइन्थ्यो । यो स्थानिय उद्यमिहरुको भनाइ हो । आज आएर त्यो परिस्थिति नभइ परम्परागत सीपलाई अपहेलना गर्नु र वैदेशिक रोजगार प्रति आकर्षित भई त्यतै तिर लाग्नु नै उद्योगहरु रुग्ण तिर धकेलिनु हो । नयाँ पनलाई अवलम्बन गर्ने क्रमलाई मात्र ध्यान दिदा हाम्रा परम्परागत राम्रा उत्पादित सामानहरु न्यून हुदै जानु र बुढा पाकाहरु मात्र यो व्यवसायमा तल्लिन हुनुले पनि व्यवसायको खस्किदो अवस्था प्रष्ट पार्दछ भने उधोगहरु रुग्ण हुदै गएका पाइन्छन । कच्चा पर्दाथको उपलब्धता : – भेडा पाल्ने कार्य एकदमै कम हुनु । चरनको राम्रो व्यवस्था नहुनु । चरनहरु निजी प्रयोगमा आउदै जानु । विदेशवाट आयातित कम्मल, गलैचा, (कार्पेट) आदि कम गुणस्तरका र सस्तो मूल्यका सामानहरु ले हाम्रा स्थानिय राडि, पाखिलाई बिस्थापित गर्दै जानु । उल्लेखित कारणहरुले गर्दा स्थानिय कच्चा पर्दाथको उपलब्धतामा कमि आएको पाइन्छ ।

सरकारी निति :– समय सापेक्ष नहुनु । घरेलु उधोगका लागि ऋण प्रवाह सरल तरिका बाट हुन नसक्नु । दक्ष प्राविधिको कमि हुनु । आधुनिक मेसिन औजार तर्फ ध्यान नदिनु । स्वदेशी उत्पादनलाई महत्व नदिनु । व्यवसाय सञ्चालनको लागि झन्झटिलो कानुनी प्रावधान हाल सम्म हट्न नसक्नु ।

सुधारका पक्षहरु :– संगठित भएर कार्य गर्नु । सरकारी गैह्रसरकारी संस्थाहरु संग समन्वय गर्दै जानु । जिल्लामा आफ्नो उत्पादन वारे सूचना प्रवाह गर्नु । भेडा र चरनको विकास गर्दै जानु । नयाँ नयाँ प्रविधिको खोजगरी छिटो तरिकावाट उत्पादन गर्ने कुरामा ध्यान दिनु । उधमि व्यवसायीहरुलाई एकद्वार प्रणालीवाट सम्पूर्ण सुबिधा उपलब्ध गराउनु पर्ने प्रावधान हुनु पर्ने ।

आवश्यकता र राडीको उपयोगिता :– रुम्जटारको राडीले यस जिल्लाको आर्थिक स्थितिमा राम्रै सुधार ल्याएको पाइन्छ । उधमिको भनाइ अनुसार प्रतिबर्ष जाडो याममा १० लाख सम्मको राडी पाखि उत्पादन विक्रिहुने वताउछन । पशुजन्य वस्तुवाट निर्मित सामानहरु ज्यादै उपयोगि भएका कुराहरु व्यवहारिक पक्षवाट पनि स्पष्ट हुन्छ । जस्तोे भेडाका रौं वाट उत्पादित सामान राडी, पाखी, लुकुनी आदि अति नै उपयोगि भएको हाम्रो सामु स्पष्ट छन । ऊनवाट निर्मित राडी २० सौं वर्ष सम्म टिकाउ हुन्छ । यसमा नरम र खस्रो पन दुवै पाइन्छ । जाडो मौसममा अति न्यानो र भरपर्दो हुन्छ । नेपालको हावा पानी अनुसार सुहाउदो स्वस्थकर हाम्रा राडी पाखी प्रत्येक जनलाई प्रत्येक पल आवश्यक छ ।

ओड्ने ओछ्याउने चकटी देखि लिएर कोठा न्यानो पार्न, सजाउन र इज्जतीलो बनाउ पनि राडी उत्तम हुन्छ भने हाम्रो जीउलाई न्यानो पार्न विदेशी ज्याकेटको सट्टामा स्वदेसी उनी सुइटर र लुकनी नै उत्तम हुन्छन । यो महत्वलाई सबैले मनन गरेर यसको विकास विस्तार र आधुनिकता तर्फ लाग्न सके स्वावलम्वन भै आफ्नो पन र पहिचानलाई कायम राख्न सकिन्छ । त्यसैले उधोग प्रवर्धन र विकास, उद्यमिहरुको हक, हित र संरक्षणका साथै राष्ट्रको विकास र पहिचानका लागि व्यावसाय तर्फ लाग्न सबैमा अनुरोध गर्दछु । ज्यूँदै म¥याको भनि नाम कसको । उद्यम विना वित्दछ काल जसको ।। (आदि कवि भानुभक्त आर्चाय) कार्की घरेलु समिति ओखलढुङ्गाका उद्योग अधिकृत हुन् । प्रस्तुती : जीवन शर्मा

रचनात्मक प्रतिक्रिया दिनुहोस् :