उखु क्रसिङ थप सङ्कटमा

यो समाचार 208 पटक पढिएको

उद्योगी र कृषकबीच तीब्र विवाद
काठमाडौं, यसवर्ष पनि उखुको मूल्यका विषयमा किसान र उद्योगीबीच तीव्र विवाद देखिएको छ । किसानले उखुको मूल्यमा गत वर्षभन्दा १५ प्रतिशत वृद्धि हुनुपर्ने माग राखेका छन् । तर, चिनी मिलले गत वर्षको तुलनामा प्रति मेट्रिक टन ५० रुपैयाँ घटाएर उखु खरीद गर्ने बताएका छन् । यही विवादका कारण मंसिर आरम्भदेखि शुरु हुनुपर्ने उखु क्रसिङ कहिलेदेखि हुनेमा अन्योल विद्यमान छ ।Sugarcane

गतवर्ष प्रतिक्वीण्टल उखुको मूल्य ४ सय ८१ रुपैयाँ तोकिएको थियो । नेपाल उखु उत्पादक सङ्घका अध्यक्ष कपिलमुनी मैनालीले गतवर्षको तुलनामा १५ प्रतिशत मूल्य वृद्धि नभए सबै उखु बारीमै आगो लगाइदिने बताए । ‘गोली खान तयार छौं तर गतवर्षको मूल्यमा उखु विक्री गर्दैनौ,’ अध्यक्ष मैनालीले भने । चिनी उद्योगीकै अनुरोधमा किसानले यसवर्ष उखु खेतीको थप विस्तार गरेको उनको भनाइ छ । हाल उद्योगले नयाँ मूल्य निर्धारण नगरेकाले कृषकले उखु विक्री नगरेको उनको भनाइ छ ।
यता, चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले गतवर्षभन्दा ५० रुपैयाँ कममा किन्ने तयारी गरेको बताए । भारतको बिहारमा अधिक मात्रामा उखु उत्पादन भएपछि मूल्य सस्तो भएकाले नेपालमा पनि मूल्य घटाउन बाध्य भएको उनको भनाइ छ । ‘हामीले भारतमा भएको उखुको मूल्यलाई आधार मानेर नेपालमा उखु खरीद गर्दै आएका छौं,’ उनले भने । मूल्य घटाउन नेपाली किसान तयार भएनन् भने बिहारबाट उखु ल्याएर भए पनि चिनी उत्पादन गर्ने अग्रवालले बताए । यदि अहिल्यैको मूल्यमा उद्योगीले उखु खरीद गरे बजारमा चिनी विक्री गर्न नसकिने गरी महँगो हुने उनको भनाइ छ ।
गतवर्ष तोकिएको मूल्यमा पनि घटाउँछु भन्नु दुर्भाग्यपूर्ण भएको मैनालीको तर्क छ । ‘गत वर्ष बार्षिक रुपमा उखुको मूल्य वृद्धि गर्ने भन्ने सम्झौता भएको थियो, उनीहरुले सोहीअनुसार किसानलाई उखु खेती गर्न लगाएका छन्,’ उनले भने, ‘क्रसिङको बेलामा उद्योगीले निहुँ खोजे किसानले बोटमै आगो लगाइदिनेछन्, ।’  गतवर्ष करीब १ करोड ५० लाख क्वीण्टल उखु उत्पादन भएको सङ्घले बताएको छ । यस वर्ष करीब ५ देखि १० प्रतिशत उखु उत्पादन वृद्धि हुने मैनालीले बताए । गतवर्ष १ लाख ५३ हजार मेट्रिकटन चिनी उत्पादन भएको चिनी उद्योग सङ्घले बताएको छ । चिनी उद्योग सङ्घका सदस्य मनिशकुमार अग्रवालले एक क्वीण्टल उखुमा ९ प्रतिशत चिनी उत्पादन हुने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :