सुपारी प्रशोधनमा मजदुर व्यस्त

यो समाचार 241 पटक पढिएको

काँकडभिट्टा (झापा),  सुपारीखेतीका लागि उर्वरभूमि मानिएको झापामा यतिबेला सुपारी प्रशोधन केन्द्र मजदुरहरुले खचाखच् भरिएका छन् । सुपारी प्रशोधन केन्द्रमा १३ वर्षे किशोर/किशोरीदेखि ७० वर्षसम्मका वृद्धाले काम गरिरहेका छन् । कतै सहकारीद्वारा केन्द्रहरु सञ्चालित छन् भने कतै जग्गा लिजमा लिएर व्यक्तिले नै निजी रुपमा प्रशोधन केन्द्र सञ्चालन गर्दै आइरहेका छन् ।Nut

झापाको बाहुनडाँगी, शान्तिनगर, मेचीनगर, भद्रपुर, शनिश्चरे, बुधबारे जयपुर, अनारमनीलगायत दर्जन भन्द बढी ठाउँमा प्रशोधन केन्द्रहरु सञ्चालित छन् । झापाको इँटाभट्टामा दुई कट्ठा जग्गा लिजमा लिएर काँकडभिट्टाका सुजन श्रेष्ठले सञ्चालन गर्दै आएको प्रशोधन केन्द्रमा दैनिक ३० देखि ३५ जना महिलाले रोजगारी पाइरहेका छन् ।  श्रेष्ठ मेचीनगर वरिपरिकै किसानको सुपारी बोटमै गएर किन्ने र प्रशोधन गरी बेच्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बोटमै गएर १५/२० रुपैयाँ किलो किनेर ल्याउँछु र प्रशोधन गरी रु १०० केजीमा बेच्छु ।”

प्रशोधन केन्द्रमा काम गर्ने मजदुरले दैनिक रु ३०० देखि ५०० सम्म पाउने गरेका छन् । यसरी प्रशोधित सुपारी भारतीय बजारसम्म पुग्ने गरेको छ । यसैबीच झापाका विभिन्न स्थानमा रहेका कृषि सेवा केन्द्रका भवनको मर्मत सम्भार हुने भएको छ । तीन दशकअघि करोडाँैको लगानीमा निर्माण गरिएका भवन मर्मतका लागि कृषि तथा सहकारी मन्त्रालयले बजेट छुट्याएपछि मर्मत सम्भार हुने भएको हो । आव ०७०/७१ को बजेटमा विभागले सेवा केन्द्रका भवन मर्मतका लागि रु छ लाख रकम छुट््याइएको छ । कृषि कार्यालय झापाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद गौतमले भन्नुभयो–“सबै भवन जीर्ण अवस्थामा पुगेका छन्, सकेसम्म यो रकमबाट मर्मत गर्ने कार्यालयको योजना छ ।”

यसपटक पहिलो चरणमा चारआली सेवा केन्द्रको भवन मर्मत गरिने उहाँले बताउनुभयो । विसं ०६० सम्म झापामा छ वटा सेवाकेन्द्र र ११ वटा उपकेन्द्र सञ्चालनमा थिए । विसं ०६१ मा सरकारले जिल्लामा चार वटा मात्र सेवा केन्द्र रहने व्यवस्था गरेपछि झापाको गौरादह, चकचकी, पृथ्वीनगर र चारआलीमा मात्र सेवा केन्द्र रहेका छन् । गौरीगञ्ज, दमक, सुरुङ्गा र बुधबारे कृषि सेवा सम्पर्क केन्द्रका रुपमा छन् ।बाँकी सेवा केन्द्रका भवन कृषि प्राविधिकका आवासगृहका रुपमा सञ्चालनमा रहेको जिल्ला कृषि कार्यालयले जनाएको छ । जिल्लामा रहेका चार वटा र भद्रपुरमा रहेका छ वटा कर्मचारी आवास भवन पनि तत्काल मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेको गौतमको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :