उखु बिक्री गरेको वर्ष दिन बित्दा पनि रकम पाएनन् कृषकले

यो समाचार 323 पटक पढिएको

सिरहा,  उखु बिक्री गरेको रकम एक वर्ष बित्न लाग्दा पनि सिरहा डुमरी गाविसका सयौँ कृषकले रकम पाएका छैनन् । नगदे बालीका रुपमा उखुखेती गर्दै आएका छन् । तर उखु बिक्री गरेको वर्ष दिन बित्न लागेपनि एक रुपैँया पनि नपाएपछि किसानलाई चिन्ताले सताएको छ । डुमरी गाविस– ६ का रामप्रताप यादवले रु ४५६ का दरले १३० क्विन्टल उखु गत वर्ष माघमै बिक्री गर्नुभएकोमा अहिलेसम्म एक रुपैयाँ पनि पाउनु भएको छैन । सिरहाको मिर्चैयामा शाखा कार्यालय खोलेका इस्टर्न सुगर मिल्स लिमिटेड आमही बेल्हा– ३ सुनसरीले यसरी किसानलाई रकम नदिएर चिन्तामा डुबाएका हुन् ।

उखु कृषक यादवले मिर्चैयास्थित मिल्सको शाखा कार्यालयमा दिनहुँ धाएपनि कर्मचारी नै नभेट्निे र अधिकांश दिन कार्यालय नै बन्द रहने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “उखु किन्ने क्रममा मिल्सका कर्मचारीले एक महिनाभित्रै रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । तर एक वर्ष बित्न लाग्दा पनि एक रुपैँया पाएका छैनन् ।” कृषक यादव जस्तै उखु बिक्री गरेपनि रकम नपाएर डुमरी गाविसका करिब सयौँ जना उखु कृषक पीडित बनेका छन् । सोही मिल्सको शाखा कार्यालयमार्फत ६२ क्विन्टल उखु बिक्री गरेका स्थानीय अर्का कृषक विष्णुदेव यादवले पनि नगदे बालीका रुपमा उखुखेती गरेपनि रकम नपाएर घरपरिवार चलाउन पनि नसकिने भएको पीडा सुनाउनुभयो ।

कृषक विष्णुदेवले उखु बेचेको रकम लिन दैनिक मिर्चैया जाँदाजाँदै करिब एक हजारभन्दा बढी खर्च भइसकेको बताउनुभयो । “गाउँमा ऋण लिएर उखुखेती सुरु गरेको थिए”, उहाँले भन्नुभयो, “उखु बिक्री गरेको सुपथ मूल्य पनि नपाउँदा ऋण तिर्न पनि समस्या भएको छ ।” नजिकमा सुगर मिल नहुँदा सिरहाका कृषकहरु बर्सेनि यस्तै समस्याको पीडा खेप्न बाध्य हुन्छन् । उखु नगदे बाली हो सोचेर धानखेती पनि छाडेर उखुखेती तर्फ आकर्षण बढेको थियो । तर उखु बिक्री गरेको वर्षौं दिन बितेपनि रकम नपाएपछि डुमरीका किसान पुनः धानखेती नै गर्ने सोच बनाउन बाध्य भएका छन् । स्थानीय सन्दीप यादवले भन्नुभयो, “सुपथ रकम पनि यो पटक डुब्यो भने यहाँका किसान अब उखुखेती गर्नै छाड्छन् ।”

गाउँका सयौँ उखु कृषक यसरी नै पीडित बनेपछि उनीहरु आन्दोलन गर्ने तयारीमा जुटेका छन् । कृषकको पीडा बुझेर कम्तीमा सरकारले पनि चासो देखाउनुपर्ने कृषकको भनाइ छ । स्थानीय सन्दीप यादव भन्नुहुन्छ, “यहाँका किसान सरकारी निकायको ध्यानाकर्षण गराउँछ । तर पनि मिल्सले रकम उपलब्ध नगराए आन्दोलन गर्ने सोच बनाएका छन् ।”उखु बिक्री गर्दा मिल्सका मिर्चैया शाखाले हरेक कृषकलाई एउटा÷एउटा कार्ड उपलब्ध गराएको छ । उक्त कार्डमा खरिद÷बिक्री गरेको उखुको तौल, दर र मिल्सको नाम ठेगाना लेखिएको भए पनि फोन नम्बर छैन् । फोन नम्बर नहुँदा मिल्सका सञ्चालकसँग सम्पर्क हुन सकेन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :